भित्री शहरमा काठमाडौँ महानगरले छर्कियो कीटनाशक औषधि

Advertisement

काठमाडौं । विश्वभर फैलिएको कोभिड-१९ को नियन्त्रणका लागि काठमाडौँ महानगरपालिकाले मानिसको अत्यधिक भीडभाड हुने स्थानमा भित्री स्थानमा कीटनाशक औषधि छर्कन थालेको छ ।

लकडाउन अवधिमा अत्यावश्यक सेवालाई निरन्तर प्रवाह गरिरहेको कामपाले आजदेखि महानगर क्षेत्रभित्रका विभिन्न स्थानमा कोरोना भाइरसको सङ्क्रमणलाई महानगर क्षेत्रभित्र फैलिन नदिन यस्तो प्रयासको थालनी गरेको हो । कामपाका प्रमुख विद्यासुन्दर शाक्यका अनुसार मानिसको भीड बढी हुने स्थान वीर अस्पताल, असन, इन्द्रचोकसँगै टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल, कालीमाटी तरकारी बजारलगायत स्थानमा आजदेखि कीटनाशक औषधी छर्कने कार्यको शुरुआत भएको हो ।

कामपाले पहिलो चरणमा चार हजार लिटर क्षमताका तीन ट्याङ्करमार्फत कीटनाशक औषधि छर्किन शुरु गरेको र आवश्यकतानुसार थप गर्न सकिने प्रमुख शाक्यले जानकारी दिनुभयो । लकडाउनको अवधिभर महानगरवासीलाई खाद्यान्नको समस्या हुन नदिन स्थानीय प्रशासनसँग सहकार्य गरेर अघि बढ्ने पनि उनले बताए ।

“यो विश्वव्यापी सङ्क्रमणको बेला हो । त्यसैले सबैले आआफ्नो ठाउँबाट सक्दो प्रयास गर्नुपर्छ”, उनले भने, “कोही भोको पर्दैन, कोही भोकले मर्दैन’ भन्ने राज्यले अघि सारेको अभियानलाई समेत आत्मसात् गर्दै हामी निरन्तर लागिरहन्छौँ । यसको लागि सबैले सहयोग गर्नुपर्छ ।” प्रमुख शाक्यले समस्या आए तत्काल जनप्रतिनिधिलाई खबर गर्न आग्रह गर्दै जुनसुकै समय पनि

फोहर व्यवस्थापनमा सहयोग गरिदिन आग्रह
कामपाले दैनिक उत्पादन हुने फोहर व्यवस्थापन गर्नका लागि सहयोग गर्न महानगरवासीसँग आग्रह गरेको छ । कामपाका प्रमुख शाक्यले घरमै व्यवस्थापन गर्न सकिने फोहर घरघरमै राख्न र अन्य फोहर गाडी लिन नआएसम्म बाहिर ननिकाली सहयोग गर्न महानगरवासीसँग अनुरोध गरेका छन् ।

प्रमुख शाक्यले ‘लकडाउन’का समयमा महानगर क्षेत्रभित्र फोहर थुप्रिने र सडक फोहर हुने अवस्था आयो भने कोरोना भाइरसको सङ्क्रमण अझ छिटो फैलिन सक्ने भएकाले त्यसको न्यूनीकरण गर्न सरसफाइको कामलाई बढाइएको बताए । कामपाले लकडाउन अवधिमा अत्यावश्यक सेवालाई निरन्तर प्रवाह गरिरहेको छ ।

यसअन्तर्गत दक्ष जनशक्तिसहित १०२ एम्बुलेन्स तयारी अवस्थामा राखिएको छ भने ११८० हटलाइनमार्फत नागरिकका प्रश्नको उत्तर दिएर समस्या समाधानमा सहयोग गरिरहेको छ । यससँगै कार्यालय तथा कार्यकक्षलाई डिस्इन्फेक्सन गर्ने, सार्वजनिक स्थानमा कीटनाशक औषधि छर्किने, पानीले पखाल्नेलगायत काम भइरहेको छ ।

कामपाका ३२ वटै वडा कार्यालयबाट स्वास्थ्य सहायता कक्ष सञ्चालन गर्दै आएको महानगरपालिकाले आजदेखि सडकमा पानी ट््याङ्की र ब्रुमरको प्रयोग बढाएर सरसफाइ गर्ने कामलाई तीव्रता दिएको प्रमुख शाक्यको भनाइ छ । “लकडाउन अवधिमा कुनै पनि नगरवासीलाई केही समस्या आइपरे सहयोगका लागि जनप्रतिनिधिहरूलाई सीधा सम्पर्क गर्न महानगरका प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत तथा सबै जनप्रतिनिधिहरूका फोन नम्बरहरू सार्वजनिक गरिसकेका छौं ।

कसैलाई केही समस्या परे ती फोनमा सम्पर्क गर्नोस्”, प्रमुख शाक्यले भने, “काठमाडौँ महानगरपालिकाले कोरोना सङ्क्रमणको आशङ्का भएमा तत्काल अस्पतालसम्म लैजाने व्यवस्थाका लागि महानगरपालिकाको सहयोगमा सञ्चालित एम्बुलेन्स सेवा ९१०२० लाई जनशक्ति र सामग्रीसहित तयारी अवस्थामा राखेको छ ।”

महानगरले २४ सै घण्टा परामर्श दिन टोल फ्रि नम्बर ११८० सहित सीधा सम्पर्क हुन सक्ने नम्बर ९८४९८६०५४७, ९८४९८५६६७१ र ९८४९८५६६७२ पनि सञ्चालनमा ल्याएको छ ।

Advertisement

Advertisement

Advertisement