भैरहवा भन्सार आंशिक सञ्चालन, ग्यास बुलेट र पेट्रोल ट्याङ्करसहित ८५ मालवाहक ट्रक नेपाल भित्रिए

Advertisement

भैरहवा । नेपालको दोस्रो ठूलो भैरहवा भन्सार कार्यालय आंशिक रुपमा सञ्चालन भएको छ । बुधबार साँझ ६ बजेसम्म भैरहवा भन्सार कार्यालयबाट ८५ मालवाहक ट्रक भारतबाट नेपाल भित्रिएको भैरहवा भन्सार कार्यालयले जनाएको छ ।

एलपी ग्यास बुलेट १५ , पेट्रोलियम पदार्थ बोकेका ट्रक चार, खाद्यान्न तथा कच्चा पदार्थ बोकेका ट्रक २१ र तरकारी, फलफूल बोकेका ट्रक ४५ वटा नेपाल आएको भैरहवा भन्सार कार्यालयका प्रमुख कमलकुमार भट्टराईले जानकारी दिए । लकडाउनभन्दा पहिला भने दैनिक चार सयदेखि ६ सय ट्रक भारतबाट नेपाल आउने गरेका थिए ।

लकडाउन भएपछि नेपाल आउन डराएका भारतीय चालकको सुरक्षा नेपाली पक्षले गर्ने प्रत्याभूत गरेपछि आजदेखि भारतीय ट्रक नेपाल आउन थालेका छन् । “भारतमा पनि लकडाउन भएपछि नियमित नेपाल आउने मालवाहक ट्रकहरु सबै नआए पनि खाद्यान्न, ग्यास र पेट्रोलियम पदार्थ बोकेका ट्रकहरु सहज रुपमा नेपाल ल्याउने प्रयास भएको छ”, भैरहवा भन्सार कार्यालयका प्रमुख भट्टराईले भने ।

नेपाल आएका भारतीय ट्रकलाई पनि भारतमा सहजरुपमा पठाउन दुई देशको सहमति भएको छ । सामान बोकेर बुधबार नेपाल आएका ११४ ट्रक खाली गरी भारततिर पठाइएको शसस्त्र प्रहरी बल राजस्व भंसार गुल्म भैरहवाका सशस्त्र प्रहरी नायब उपरीक्षक मानबहादुर शाहीले जानकारी दिए ।

कोरोना भाइरस सङ्क्रमण देखिए पनि मानिसहरु आवतजावतमा रोक लगाइएको नेपाल भारत सीमामा मालवाहक ट्रक भने सहजरुपमा आउन जान पाउने सहमति भएको छ ।

भारतबाट नेपालतर्फ आउने मालवाहक ट्रकहरुमा भने कोरोना सङ्क्रमण रोक्ने कुनै प्रकारको सुरक्षा नअपनाइएको स्थानीयवासीले बताएका छन् । न त स्प्रे गरिएको छ न त चालकहरुको उचितरुपमा स्वास्थ्यजाँच गरिएको छ भन्दै स्थानीयवासीले गुनासो गरेका छन् । भन्सार कार्यालयले भने चालकहरुको स्वास्थ्य जाँच गर्ने र गाडीको सफाइमा ध्यान दिने प्रतिबद्धता व्यक्त गरेको छ ।

Advertisement

Advertisement

Advertisement