कोरोना प्रभावित गरिव जनतालाई लक्षित गरी भारतले ल्यायो १७ खर्ब भारुको आकर्षक आर्थिक प्याकेज

Advertisement

नयाँदिल्ली । भारतले कोरोना भाइरसबाट प्रभावित गरिव जनतालाई लक्षित गरेर १७ खर्ब भारतीय रुपियाँको आर्थिक प्याकेज घोषणा गरेको छ । कोरोना नियन्त्रणका लागि तीन साता लामो लकडाउन घोषणा गरेको दोस्रो दिन भारत सरकारले यो आर्थिक प्याकेज घोषणा गरेको हो ।

भारतले गरिब, असंगठित क्षेत्रका मजदुर र साना तथा मझौला व्यवसायीहरुलाई राहत दिन भन्दै एक लाख ७० हजार करोड भारतीय रुपियाँ बराबरको आर्थिक प्याकेज ल्याएको हो । यस प्याकेजमा विपन्न वर्ग र किसानलाई नगद सहयोगदेखि कोरोना नियन्त्रणमा खटिने जनशक्तिको लागि आर्थिक सुविधा र बीमासम्मका कुराहरु रहेका छन् ।

भारतीय वित्त मन्त्री निर्मला सितारमणले पत्रकार सम्मेलन गरी यो आर्थिक प्याकेज प्रस्तुत गरेकी हुन् । ‘प्रधानमन्त्री गरिब कल्याण योजना’ शीर्षक दिइएको यस प्याकेजअन्तर्गत हाल मासिक पाँच किलोदरले खाद्य अनुदान पाइरहेका ८० करोड गरिब परिवारले आगामी तीन महिनासम्म प्रत्येक महिना थप पाँच किलो चामल तथा पिठो र एक किलो दाल पाउने छन् ।

त्यस्तै आठ करोड ६९ लाख गरिब किसानहरुलाई मासिक दुई हजार रुपियाँका दरले नगद अनुदानको घोषणा गरिएको छ भने गरिबीको रेखामुनि रहेका ६० वर्षमाथिका ज्येष्ठ नागरिक, विधवा र फरक क्षमता भएका व्यक्तिले तीन महिनाका लागि थप एक हजार पाउनेछन् ।

भारतले उज्याला योजनाअन्तर्गत सित्तैमा खाना पकाउने ग्यास पाइरहेका आठ करोड ३० लाख परिवारलाई आगामी तीन महिलासम्म सित्तैमा ग्यास सिलिण्डर दिने, साठी वर्षमाथिका ज्येष्ठ नागरिक एवं विधवा र फरक क्षमता भएका व्यक्तिलाई आगामी तीन महिनासम्म मासिक हजार रुपियाँका दरले भत्ता दिने, जनधन खाताधारी २० करोड महिलाहरुलाई घरखर्च चलाउन आगामी तीन महिनामा पाँच सयका दरले रकम दिने, ६३ लाख महिला स्वंयसेवक समूहरुले २० लाखसम्म बिनाधितो ऋण पाउने छन् ।

त्यसबाहेक संगठित क्षेत्रका ८० लाख कर्मचारी र चार लाख रोजगारदाता दुईले १२।१२ प्रतिशतले योगदान गर्दै आएको सञ्चय कोषको रकम तीन महिनासम्म सरकारले तिरिदिने, फिर्ता गर्नु नपर्ने गरी सञ्चयकोषमा सञ्चित रकममध्ये ७५ प्रतिशतसम्म रकम वा तीन महिनाको तलबमध्ये जुन कम हुन्छ त्यो पेश्की लिन पाउने व्यवस्था गर्नुका साथै कोरोना नियन्त्रणमा आफ्नो ज्यान नै जोखिमा राखेर खटिएका स्वास्थ्यकर्मी, चिकित्सक, स्वयंसेविका, नर्सलगायतका लागि स्वास्थ्य बीमाको व्यवस्था गरेको छ । उनीहरुको पाँच लाख रुपियाँको स्वास्थ्य बीमा गरिने जनाइएको छ ।

Advertisement

Advertisement

Advertisement