लक डाउनमा ९० शाखाबाट कृषि विकास बैंकले दियो सेवा

,   १३ चैत्र २०७६, बिहीबार, ०५:२५ pm   

काठमाडौं । कृषि विकास बैंकले बिहिबार देशभरका ९० वटा शाखाबाट बैंकिङ सेवा प्रवाह गरेको छ । बैंकका प्रवक्ता हिमलाल पौडेलका अनुसार प्रत्येक जिल्लामा कम्तिमा एउटा शाखा खुल्ला गर्ने रणनीति अनुसार बिहिबार देशभरका ९० शाखाबाट सेवा प्रवाह गरिएको हो । बैंकले काठमाडौं उपत्यका भित्र लगनखेल, महाराजगञ्ज, कोटेश्वर र रामशााह पथको कर्पाेरेट कार्यालयबाट सेवा दिएको थियो ।

प्रवक्ता पौडेलका अनुसार बैंकले मध्यान्ह १ः३० बजेसम्म मुलतः निक्षेप राख्ने र झिक्ने सेवा दिएको हो । ‘हामीले मोबाइल बैंकिङ र एटिएम सेवा प्रयोग गर्न सेवाग्राहीलााई प्रेरित गरिरहेका छौं, शाखा नखुलेकै कारण पैसा झिक्न वा राख्न नपाउने अवस्था आउनु हुन्न भनेर ९० शाखाबाट सेवा दिएका हौं’, प्रवक्ता पौडेलले कर्पाेरेट नेपालसँग भने ।
विकास बैंकले जिल्ला प्रशासन कार्यालयसँग समन्वय गरेर आफ्ना शाखाहरु खोलेको थियो । बैंकले लक डाउन अवधीभर स्थानीय प्रशासनसँग समन्वय गरेर बैंकिङ सेवा प्रदान गर्ने नीति लिएको छ ।

आफ्ना ग्राहकलाई अत्यावश्यक सेवा प्राप्तीका लागि बैंकिङ सेवाले सहयोग गर्नुपर्छ भन्ने नीति अनुसार अधिकतम शाखा सञ्चालनको योजना बनाएको पनि प्रवक्ता पौडेलले जानकारी दिए । उनले मोबाइल बैंकिङ र एटिएम सेवाको प्रयोगलाई बढावा दिन पनि सेवाग्राहीलाई अनुरोध गरे ।

aecc

उनले आफ्ना कर्मचारी र सेवाग्राहीको स्वास्थ्यलाई समेत ध्यानमा राखेर बिशेष सतर्कतासहित सिमित बैंकिङ सेवा उपलब्ध गराउँदै जाने बताए । कृषि विकास बैंकले कोरोना भाइरससँग जुध्न सरकारले खडा गरेको कोरोना कोषमा एक करोड २५ लाख रुपैयाँ दिने निर्णय यसअघि नै गरिसकेको छ ।