चैत भरी बीमा शुल्क तिर्नु नपर्ने, ब्याज पनि छुट, इमेल गरे पोलिसी नविकरण हुने

,   १३ चैत्र २०७६, बिहीबार, ०६:३१ pm   

काठमाडौं । बीमाको प्रिमियम तिर्ने समय घर्किएर चिन्तित हुनुहुन्छ ? अब चिन्ता नमान्नुस् । बीमा समितिले चैत मसान्त अवधी बीमा शुल्क तिर्नु नपर्ने सुबिधा दिएको छ ।

समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले बिहिबार सर्कुलर जारी गर्दै जीवन बीमा सम्बन्धी बीमा शुल्क संकलन कार्य चैत मसान्तसम्म स्थगन गर्न निर्देशन दिएका हुन् । समितिले कोरोना भाइरसको त्रासका कारण उत्पन्न परिस्थिति सामान्य भएपछि बिना ब्याज बीमा शुल्क असुल्न पनि निर्देशन दिएको छ ।

त्यस्तै, निर्जीवन बीमा कम्पनीका हकमा पनि बीमालेखको म्याद सकिएर चिन्तामा परेकाहरुलाई पनि खुसीको खबर छ । समितिले बीमा अवधि समाप्त भएको बीमालेखको हकमा सम्बन्धित बीमितले लिखित अनुरोध(विद्युतीय माध्यमबाट प्राप्त) पठाएपछि स्वतः नविकरण हुने सुबिधा दिएको हो ।

aecc

निर्जीवन बीमकले तत्कालै उत्पन्न हुने दाबी भुक्तानीका लागि बिद्युतीय माध्यम मार्फत बीमितबाट यथेष्ट प्रमाण संकलन गर्ने र अवस्था सामान्य भएपछि तुरुन्त सर्भेयर खटाई क्षति एकिन गरी दाबी भुक्तानी गर्न बीमा समितिले निर्देशन पठाएको हो ।