चीनबाट अत्यावश्यक सामग्री शनिबारदेखि आउने, लिन नेवानिको जहाज जाने

Advertisement

काठमाडौँ । कोरोना भाइरस (कोभिड–१९) रोकथाम, परीक्षण र उपचारमा अत्यावश्यक स्वास्थ्य उपकरण तथा औषधि शनिबारदेखि चीनबाट ल्याइने भएको छ । सरकारको पहलमा शनिबार नेपाल वायुसेवा निगमको जहाज चीनको गोन्जाओ जाने र सामग्री आइतबार बिहानसम्म नेपाल ल्याइपुर्याउने स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले बताए ।

त्यसपछि व्यापारीहरू आफैंले र सरकारी पहलमा थप सामग्री ढुवानी गर्दै जाने सम्बद्ध अधिकारीहरूले बताएका छन् । एक निजी कम्पनीले आउँदो बुधबार आफ्नै पहलमा व्यापारिक प्रयोजनका लागि स्वास्थ्य सामग्री ल्याउने भएको छ ।

नेपाली व्यापारीले किनेर राखेका स्वास्थ्य उपकरण लिन नेपाली विमान शनिबार गोन्जाओ जान लागेको स्वास्थ्यमन्त्री ढकालले बताए । ‘नेपाली व्यापारीहरूले गोन्जाओमा स्वास्थ्य उपकरण भेला पारेका छन्, नेपाल एयरलाइन्सको जहाज गएर ती समान ल्याउँछ,’ उनले भने, ‘नेपाल आइसकेपछि व्यापारीबाट ती सामान हामी किन्छौं ।’ गोन्जाओ कुन विमान पठाउने भन्ने टुंगो शुक्रबार बिहानसम्म लाग्ने संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जनाएको छ ।

आइतबार ल्याइपुर्याइने सामग्रीमा कोरोना संक्रमण फैलन नदिने औषधि, एन–९५ मास्क, व्यक्तिगत सुरक्षा सामग्री (पीपीई), प्रयोगशालामा सामग्री, थर्मल गन, आईसीयू शय्या, संक्रमण टेस्ट गर्ने किटलगायत छन् । सुरुमा चीनकै कार्गोले सामान ढुवानी गर्ने बताइए पनि पछि नेपाली जहाज नै जाने निधो भएको हो । ‘उताको कार्गो जहाज अन्तै जाने कुरा आयो, त्यसैले नेपालबाटै जहाज पठाउने कुरा भएको छ,’ मन्त्री ढकालले भने । ती सामग्री आइतबार बिहानै नेपाली सेनाको हेलिकप्टरमार्फत प्रदेश प्रदेशमा पठाइने उनले जनाए ।

कोभिड–२९ रोग संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिका संयोजक एवं रक्षामन्त्री ईश्वर पोखरेलले अत्यावश्यकीय स्वास्थ्य उपकरण शनिबारसम्ममा जसरी पनि ल्याउने बताएका थिए । सरकारले सुरुमा ‘जीटूजी’ बाट स्वास्थ्य उपकरण खरिद गर्ने योजना बनाएको थियो । त्यसका लागि चीन, भारतलगायत मुलुकमा प्रयास गरिए पनि सफल हुन सकेको छैन । अत्यावश्यकीय सामग्री तत्काल जरुरी पर्न थालेपछि गत मंगलबार बसेको उच्चस्तरीय समन्वय समितिको बैठकले त्यस्ता स्वास्थ्य सामग्री अन्तर्राष्ट्रिय बजारबाट खरिद गरी ल्याउन निजी क्षेत्रलाई आह्वान गरेको थियो । सामान ढुवानीका लागि सरकारले जहाज व्यवस्था गरिदिने निर्णय गरेको थियो ।

स्वास्थ्य सामग्री ल्याउने विषयमा बुधबार साँझ व्यापारी र स्वास्थ्य सेवा विभागबीच छलफल भएको थियो । विभागका महानिर्देशक महेन्द्रप्रसाद श्रेष्ठका अनुसार बुधबारको छलफलमा ३० व्यापारी उपस्थित थिए । ‘उहाँहरूले समान ल्याउने चाहना देखाउनुभएको छ,’ उनले भने, ‘व्यापारीले हामी (सरकार) र उहाँहरू आफ्नै व्यापारका लागि पनि सामान ल्याउने प्रतिबद्धता जनाउनुभएको थियो ।’

व्यापारीहरूले चीनको गोन्जाओमा भेला पारिएका सामग्री सरकारले खरिदबिक्री गर्ने सम्झौतासमेत भइसकेको छ । ‘गोन्जाओमा उहाँ (व्यापारी)हरूले सामान जम्मा गर्नुभएकै छ, उहाँहरूले हामीलाई के–के दिने भन्नेबारे सम्झौता भएको छ,’ मन्त्री ढकालले भने, ‘त्यसका आधारमा उहाँहरूले सामान ल्याउनुहुन्छ, हामीले त्यो सामान किनिदिन्छौं र वितरण गर्छौं ।’

सम्झौतापछि बिहीबार निजी क्षेत्रका व्यापारीले सामान ल्याउन हवाईजहाजको व्यवस्था गरिदिन निगममा निवेदन दिएका थिए । निवेदनअनुसार पर्यटन मन्त्रालयले जहाजको व्यवस्था गरिरहेको छ । मन्त्री ढकालका अनुसार स्वास्थ्यकर्मीको सुरक्षाका लागि आवश्यक पर्ने सामग्री पहिलो प्राथमिकता हो । ‘त्यसबाहेक अरू सामान पनि अभाव पूर्ति गर्ने हिसाबले सरकारले किन्ने तयारी गरेको छ,’ उनले भने ।

सरकारले हवाई सेवा उपलब्ध गराउने निर्णय गरेसँगै अन्य व्यापारीले पनि त्यही जहाजमा आफ्ना सामग्री नेपाल ल्याइदिन सरकारसँग अनुरोध गरिरहेका छन् । नेपाली व्यापारीले चीनबाट सामान आयात गर्ने प्रमुख व्यापारिक केन्द्र गोन्जाओमा सामान किनेर राखेका छन् । ‘सम्भव भएसम्म सोही जहाजमा हाम्रो सामान ल्याउने तयारीमा छौं,’ एक व्यापारीले भने, ‘नभए अर्को जहाज चार्टर्ड गरिदिन सरकारलाई अनुरोध गरिरहेका छौं । हामी जति पनि सामान ल्याउन तयार छौं । ढुवानीमा सरकारले सहजीकरण गरिदिनुपर्यो ।’

गैरआवासीय संघ (एनआरएनए)ले पनि सोही जहाजमा सरकारलाई सहयोग गर्ने भनिएका सामान लोड गरिदिन अनुरोध गरिरहेको छ । एनआरएनएले सरकारलाई सुरुमा एक करोड रुपियाँ दिने घोषणा गरेको थियो । सरकारका उच्च अधिकारीहरूले रकमको सट्टा अत्यावश्यकीय स्वास्थ्य सामग्री ल्याइदिन भनेपछि त्यसको तयारीमा एनआरएनएका अधिकारी जुटेका थिए । ‘कोरिया र चीनमा सामान खरिद गरिसकेका छौं,’ एनआरएनए अध्यक्ष कुमार पन्तले भने, ‘चीनको सामान नेपालबाट जाने जहाजमार्फत नै ल्याउने चाहना सरकारसमक्ष राखिसकेका छौं ।’ जहाजबाट सम्भव नभए अब खुला गर्ने भनिएको चिनियाँ नाकाबाट आयात गर्ने विकल्प सोचिरहेको उनले बताए । ल्याउन लागिएका सामान पीपीई, मास्क र अन्य स्वास्थ्य उपकरणहरू नै रहेको उनले बताए ।

कान्तिपुर दैनिकबाट ।

Advertisement

Advertisement

Advertisement