काठमाडौं । रामेछापका कृष्ण खड्कालाई ‘परिवार कसरी पाल्ने ?’ भन्ने पिरलोले सताउन थालिसक्यो । काठमाडौं मैतिदेवी डेरामा परिवारसहित बस्दै आएका उनी २० वर्षदेखि दैनिक ज्यालादारी गर्दै आएका छन् । ‘तीन दिन भइसक्यो, कामै नपाएको,’ १० वर्षको हुदै मजदुरीमा लागेका कृष्ण बिहीबार निकै चिन्तित सुनिए, ‘बन्द भएको तीन दिन भइसक्यो, कतै पनि काम छैन, अब परिवार कसरी पाल्ने होला ?’
गत मंगलबारबाट सरकारले ‘लकडाउन’ गरेपछि कृष्ण ‘कसैले एक बोरा चामल घरमा पुर्याइदेऊ भन्छ’ कि भन्ने आशामा दिन बिताइरहेका छन् । ‘एक बोरा चामल पुर्याउन पाउँदा कम्तीमा सय रुपियाँ त आउँछ,’ भारी बोकेरै चार जनाको परिवार पाल्दै आएका कृष्ण भन्छन्, ‘छोराछोरी र हामी बूढाबूढी छौं, काम पाएको दिन राम्रोसँग खान पाउँछौं, नपाएको दिन भोकै बस्नुपर्छ ।’
ज्यालाकै काम पनि सधैं पाइँदैन । साताको दुई वा तीन दिन मात्र पाइने उनी सुनाउँछन् । ‘त्यो पनि कहिलेकाहीं पाइँदैन, काम पाएको दिन १५ सयसम्म कमाइ हुन्छ,’ कृष्ण भन्छन्, ‘हप्ता दिन गरेको कामले घर गुजारा गरेर खाने हो । तर, यस्तो बेला कहा“बाट काम पाउनु ?’ अब भने कृष्णलाई भित्रैबाट चिन्ता बढेको छ । आफूमात्र भए भोकै बस्न सक्ने उनी बताउँछन् । ‘तर, दुई साना बच्चा छन्, उनीहरूले भोक लाग्यो भनेको बेला के दिने ?’ आँखा भरिला पार्दै कृष्णले सुनाए, ‘अस्ति आइतबार एउटा काम गरेर १५ सय पाएको थिएँ, त्यसैबाट पाँच केजी चामल किनें, त्यो पनि सकियो । ऋण माग्दा कसैले दिँदैनन् । कोठा भाडा ७ हजार रुपियाँ तिर्नुपर्छ ।’
कृष्णजस्तै ज्याला मजदुरी गरेर परिवार पाल्दै आएका गोपाल कार्कीलाई पनि ‘परिवार पाल्ने चिन्ता’ले सताएको छ । सिन्धुलीका उनी घट्टेकुलो बस्दै आएका छन् । ‘८ वर्षको उमेरदेखि ज्यालादारी काम थालेको हुँ, दुई वर्षको हुँदै आमा बित्नुभयो, जेठो दाइले ८ वर्षको उमेरमा काठमाडौं ल्याएर ज्यालादारी काम गर्न सिकाउनुभयो,’ उनी भन्छन्, ‘दाई पनि घरमा इटाबालुवा बोक्ने काम गर्ने हुँदा मलाई पनि त्यही काम गर्न सिकाउनुभयो ।’ दाइसँगै इटाबालुवा वा अन्य सामान बोक्ने, घर रंगरोगनसमेत मजदुरी गरेको गोपाल बताउँछन् ।
दिनमा १५ सयसम्म कमाएको उनले सुनाए । ‘ज्यालादारी सधैंजस्तो हुँदैन, सातामा दुई वा तीन दिन र कहिलेकाहीं त त्यो पनि पाइँदैन,’ उनी भन्छन्, ‘सरकारले लकडाउन गरेको छ । साता दिनसम्म बाहिर नआउनु भनेको छ । यस्तो अवस्थामा कसरी परिवार पाल्ने ?’ ज्यालादारी गर्नेले मासिक तलब पाउँदैन । काम गरेको दिन पैसा हुन्छ, नत्र रित्तै सुत्नुपर्छ । दोलखा घर भई काठमाडौं बसेर ज्यालादारी काम गरेर परिवार पाल्दै आएका टेकराज बस्नेतको पनि कृष्ण र गोपालको जस्तै पीडा छ । काम नपाएपछि ‘परिवार कसरी पाल्ने ?’ भन्ने छ ।
उनीहरू पात्र मात्र हुन् । काठमाडौंमा ज्यालादारी काम गर्ने सबै ज्यामीको पीडा एउटै छ । कोरोना भाइरसबाट ‘कसरी बच्नेभन्दा पनि उनीहरूलाई परिवार कसरी पाल्ने ?’ भन्ने समस्या छ । दैनिक ज्याला मजदुरी गर्दै आएका ज्यामीदेखि सबै मजदुरको पीडा एउटै हो ।
विश्व व्यापी रूपमा फैलिइरहेको कोरोना भाइरस संक्रमण फैलन नदिन सरकारले मंगलबारदेखि एक साताका लागि लकडाउन गरेको हो । लक डाउनले देशभर ज्यालादारी काम गर्ने मजदुर परिवारलाई दैनिक गुजारा गर्न समस्या भएको छ । लकडाउन भएको तीन बितिसकेको छ । तर, सरकारले दैनिक ज्याला मजदुरी काम गरेर परिवार पाल्नेको हकमा भने केही पनि बोलेको देखिएको छैन ।
राजधानी दैनिकबाट ।