कोरोना उपचार कोषमा १२ करोड जम्मा, २० करोड जम्मा हुने क्रममा, कर्मचारीले पनि तलब दिने

,   १४ चैत्र २०७६, शुक्रबार, ०१:३५ pm   

काठमाडौँ । सरकारले स्थापना गरेको कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा उपचार कोषमा अहिलेसम्म रु ११ करोड ७६ लाख जम्मा भएको छ । सरकारले गत सोमबार कोरोना भाइरस (कोभिड–१९)को रोकथामका लागि कोषमा रकम जम्मा गर्न आह्वान गरेको थियो ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रवक्ता राजेन्द्रकुमार पौडेलले अहिलेसम्म रु ११ करोड ७६ लाख जम्मा भएको जानकारी दिए । उनका अनुसार कोषमा अझै रु २० करोड पनि आउने क्रममा रहेको छ ।

सरकारले कोषमा रकम जम्मा गर्ने भनेपछि सांसद, कर्मचारी, उद्योगीले योगदान गरिरहेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले दुई महिना, प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख अग्निप्रसाद सापकोटा र राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सेनाले एक महिनाको तलब बराबरको रकम उक्त कोषमा जम्मा गरिसेका छन् ।

aecc

यसैगरी राजपत्राङ्कित विशिष्ट र प्रथम श्रेणीका कर्मचारीले सात दिनको, राजपत्राङ्कित द्वितीय र तृतीय श्रेणीका कर्मचारीले पाँच दिनको र राजपत्र अनङ्कित र श्रेणीविहीन कर्मचारीले तीनको तलव वरावरको तलव कोषमा जम्मा गर्ने भएका छन् । गत आइतवार बसेको मन्त्रिपरिषद् बैठकले कोष स्थापना गर्ने निर्णय गरेको थियो ।

कोभिड–१९ को सङ्क्रमणलाई फैलन नदिन तथा रोकथाम एवं नियन्त्रणका लागि नेपाल सरकारले राष्ट्रिय वाणिज्य बैँक सिंहदरबार शाखाको खाता नम्बर १९६०००००११०१ मा कोष स्थापना गर्दै रकम जम्मा गर्न आग्रह गरेको छ ।