विद्युतका ग्राहस्थ उपभोक्तालाई एक महिनाको लागि महशुलमा २० प्रतिशत छुट

Advertisement

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले सरकारको निर्णयअनुसार एक महिनाका लागि १५० युनिट बिजुली उपयोग गर्ने ग्राहकलाई महशुलमा २० प्रतिशत छुट दिने निर्णय गरेको छ । कोरोना भाइरस रोकथाम उच्चस्तरीय समितिको निर्णयअनुसार साना ग्राहकहरुलाई अहिलेको विषम परिस्थितिमा सहुलियत प्रदान गर्ने निर्णय भएअनुसार प्राधिकरण सञ्चालक समितिको बैठक बसेर छुटको निर्णय गरिएको हो ।

उच्चस्तरीय समितिले इन्डक्शन चुल्हो प्रयोग गर्नेलाई छुट दिने निर्णग गरे पनि त्यस्ता ग्राहकको पहिचान गर्न सकिने संभावना नभएकाले प्राधिकरणका ग्राहस्थ सबै साना उपभोक्तालाई सिधै महशुलमा छुट दिन निर्णय गरिएको हो । ऊर्जामन्त्री बर्षमान पुनको अध्यक्षतामा बसेको बैठकले यस्तो छुटका लागि मन्त्रिपरिषदलाई सिफारिस गर्ने निर्णय गरेको हो ।

उच्चस्तरीय समितिले ग्यासको आयात र आपूर्तिमा समस्या बढ्दै जाने संकेत देखिएपछि विद्युत इन्डक्शन चुल्होको प्रवद्र्धनमार्फत विद्युतको खपत बढाउन र आयात कम गर्न यो निर्णय गरेको थियो । तर इन्डक्शनकै उपभोक्तालाई लक्षित गरी महशुलमा छुट दिन कठिन हुने भएपछि सबै ग्राहकलाई छुट दिन सिफारिस गर्न लागिएको प्राधिकरण स्रोतले जनाएको छ ।

कोरोना भाइरस नियन्त्रणका लागि सरकारले घोषणा गरेको लकडाउनका कारण खाना पकाउने ग्यासको अभाव देखिएकाले त्यसको विकल्पमा विद्युतीय खाना पकाउने उपकरणलाई प्रोत्साहन गर्न लागिएको हो ।

Advertisement

Advertisement

Advertisement