यी हुन् कोरोना उपचारको समन्वय गर्ने उपत्यकाका छ हव अस्पताल

Advertisement

काठमाडौँ । सरकारले कोभिड–१९ को रोकथाम तथा उपचारका लागि उपत्यकाका छ वटा अस्पताललाई ‘हव अस्पताल’ को रुपमा तोकेको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा स्वास्थ्यमन्त्री भानुभक्त ढकालका स्वास्थ्य सल्लाहकार डा. खेम कार्कीले कोरोना भाइरसका सङ्क्रमितको उपचार व्यवस्था मिलाउनका उपत्यकामा रहेका ७८ वटा अस्पताललाई समन्वय गर्ने छ वटा अस्पताललाई ‘हव अस्पताल’ को रुपमा तोकेको जानकारी दिए । उपत्यकाबाहिर भने १९ वटा अस्पताललाई ‘हव अस्पताल’ तोकिएको छ ।

उनका अनुसार त्रिवि शिक्षण अस्तपाल, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान अस्तपाल, वीर अस्पताल, भक्तपुर अस्पताल, नेपाली सेनाको अस्पताल र सिभिल अस्पताल रहेका छन् । “हव अस्पतालले अन्य अस्पतालसँग समन्वय गरी काम गर्दछन् । ती सबै अस्पतालमा आवश्यक स्वास्थ्य उपकरण पठाएका छौँ”, उनले भने ।

सल्लाहकार डा कार्कीले टेकुसहित पाटन र बलुम्बुस्थित सशस्त्र प्रहरीको अस्पतालमा पनि कोभिड–१९ का सङ्क्रमित बिरामीको नमूना परीक्षणदेखि स्वास्थ्य उपचारको व्यवस्था मिलाइएको जानकारी दिए । “ती अस्पतालमा कोभिड–१९ को सङ्क्रमणदेखियो भने उपचारको पनि व्यवस्था मिलाइएको छ”, उनले भने । भारतमा लकडाउनको कारणले नेपालमा सर्ने क्रम घटेको उनको भनाइ रहेको थियो । सर्वसाधारणलाई भीडमा नगई एक मिटर टाढा ‘एल’ आकारमा बसेर कुरा गरौँ भने सर्नबाट बच्न सकिने उनको धारणा रहेको थियो ।

अहिलेसम्म १३ जना आइशोसेलन
मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले अहिले आइशोलेसनमा उपचार गराइरहेका बिरामीको अवस्था सामान्य रहेको जानकारी गराए । उनका अनुसार टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा चार जना, पाटन स्वास्थ्य अस्पतालमा ६ र कान्तिबाल अस्पतालमा तीन जना कोभिड–१९ को आशङ्कामा आइशोलेसनमा राखिएको छ । उनले अहिलेसम्म मन्त्रालयको कल सेन्टरमा ६ हजार २०० जनाले प्रश्न सोधेको जानकारी दिए । उनले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोभिड–१९ को नमूना परीक्षण शुक्रबारदेखि शुरु गरिएको जानकारी दिए । यसैगरी नेपालगञ्ज र पोखरामा पनि चाडै परीक्षण शुरु गर्ने बताए ।

मन्त्रालयका प्रवक्ता डा देवकोटाले चाडै नै विदेशबाट स्वास्थ्य उपकरण आउने भन्दै अहिलेलाई मौज्यात रहेको उपकरणले नै नमूना परीक्षण गर्न सकिने जानकारी दिए । उनले चिकित्सक तथा स्वास्थ्यकर्मीलाई विना स्वास्थ्य उपकरण बिरामीलाई जाँच गर्न नभनेको बताए । “कुनै पनि स्वास्थ्यकर्मीलाई विना स्वास्थ्य उपकरण हेर्न भनेका छैनौँ”, उनले भने, “अहिले देशभित्र नभएको अवस्था र उत्पादन पनि कम हुने भएकाले बाहिरबाट नआउन्जेलसम्म हामीसँग भएको मौज्दात रहेको सामग्रीबाट काम चलाइरहेका छौँ ।” उनका अनुसार आइतबार व्यक्तिगत सुरक्षा उपकरण (पिपिई)को समस्या समाधान हुनेछ ।

स्वास्थकर्मीलाई नै क्वारेन्टाइनमा
सरकारले यहि महामारी फैलिएको अवस्थामा कोभिड–१९ का सम्भावित सङ्क्रमण परीक्षण गर्ने चिकित्सक र स्वास्थ्यकर्मी घर नगई क्वारेन्टाइनमा बस्ने व्यवस्था मिलाएको छ । “महामारी आइहाल्यो भने हव अस्पतालाई सूचीकृत गरी बिरामी जाँच गर्ने चिकित्सक तथा नर्सलाई पनि क्वारेन्टाइनको व्यवस्था गरिएको छ”, सल्लाहकार डा कार्कीले भने, “अस्पतालको नजिक रहेको होटल वा अर्को सानो अस्पतालमा बिरामी जाच्ने स्वास्थ्यकर्मीलाई राखिने छ ।”

Advertisement

Advertisement

Advertisement