अत्यावश्यक वस्तु आपूर्तिका लागि भारत, चीन र तेस्रो मुलुकसँग व्यापार सहजीकरणका लागि पहल

Advertisement

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले भारत र तेस्रो मुलुकसँग पारवाहन सहजीकरणका लागि पहल गरेको छ । भारत, चीन र तेस्रो मुलुकसँग हुने व्यापारमा अत्यावश्यक खाद्यान्नलगायत औषधि र औषधिजन्य वस्तु सामग्रीको आपूर्ति कोरोना संक्रमणको त्रासले असहज बन्दै गएपछि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले परराष्ट्र मन्त्रालयलाई व्यापार सहजताका लागि पहल गर्न आग्रह गरेको हो ।

बुधबारदेखि बसेको सचिवस्तरीय बैठकले भारत र तेस्रो मुलुकबाट भारत पारवाहन हुँदै आउने वस्तुको पारवहन सुचारु राखी दैनिक उपभोग्य खाद्यान्न वस्तु, औषधि र औषधिजन्य सामग्रीको आपूर्ति व्यवस्थालाई सुचारु र सहज बनाउन आवश्यक सहयोगका लागि परराष्ट्र मन्त्रालयमार्फत भारत सरकारको सम्बन्धित निकायमा पत्राचार गरेको मन्त्रालयकी सहप्रवक्ता उर्मिला केसीले जानकारी गराइन् ।

सहप्रवक्ता केसीका अनुसार विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोना भाइरसले सिर्जना गरेको असहज परिस्थितिको सामना गर्न नेपाल सरकार र भारत सरकारले अवलम्बन गरेका पूर्वसतर्कता र सुरक्षाका उपायका कारण दैनिक उपभोग्य वस्तुहरू, औषधि, औषधिको कच्चा पदार्थ र औषधिजन्य सामग्रीको आपूर्तिमा केही असहजता देखिन थालेको छ,’ उद्योग मन्त्रालयले परराष्ट्रलाई पठाएको छ ।

कोरोना भाइरसको संक्रणबाट नागरिकलाई जोगाउँदै न्यूनतम मानवीय आवश्यकता पूरा गराउने कार्यमा पनि उत्तिकै प्राथमिकता दिनुपरेको अवस्थामा वैदेशिक व्यापार र आपूर्तिमा असहज परिस्थिति सिर्जना हुन सक्ने भन्दै आवश्यक पहल गर्न थालेको हो । ‘नेपालको करिब दुई तिहाइ व्यापार भारतसँग हुने गरेकामा वर्तमान परिस्थितिमा अत्यावश्यक वस्तुको आपूर्ति चक्रलाई नियमित बनाउन स्वभाविक रूपमा भारत र तेस्रो मुलुकबाट भारत पारवाहन हुँदै आउने वस्तुका पारवहन सुचारु हुन आवश्यक छ ।

यसको लागि भारत सरकारको विशेष सहयोग जरुरी देखिन्छ,’ उद्योग मन्त्रालयले पठाएको पत्रमा भनिएको छ, ‘यस्तो विशेष परिस्थितिमा मानव स्वास्थ्यमा कुनै सम्झौता नहुने गरी भारत र तेस्रो मुलुकबाट भारत पारवाहन हुँदै आउने वस्तुको पारवहन सुचारु राखी दैनिक उपभोग्य खाद्यान्न वस्तु, औषधि र औषधिजन्य सामग्रीको आपूर्ति व्यवस्थालाई सुचारु र सहज बनाउन आवश्यक सहयोगको लागि मन्त्रालयमार्फत भारत सरकारको सम्बन्धित निकायमा पत्राचार गरिदिन निर्णय गरेको सहप्रवक्ता केसीले जानकारी गराइन् ।

राजधानी दैनिकबाट ।

Advertisement

Advertisement

Advertisement