सरकारले चैतको सामाजिक सुरक्षा कोषको सबै रकम आफैले तिरिदिने

Advertisement

काठमाडौं । सरकारले सामाजिक सुरक्षा कोषमा आवद्ध रोजगारदाता र योगदानकर्ताको चैत महिनाको रकम आफैले तिरिदिने प्रतिवद्धता जनाएको छ । कोरोना भाइरसको महामारी नियन्त्रणका क्रममा गरिएको लकडाउनबाट प्रभावित जनतालाई राहत दिने क्रमममा आइतबार मन्त्रिपरिषदले उक्त निर्णय गरेको हो ।

कोषमा रोजगारदाताले २० प्रतिशत र श्रमिक अर्थात योगदानकर्ताले ११ प्रतिशत योगदान गर्दै आएका छन् । सरकारले उद्योग प्रतिष्ठान र श्रमिक दुवैको रकम आफैले कोषमा जम्मा गरिदिन लागेको हो । यद्यपि कोषले धेरै क्षेत्रका उद्योग प्रतिष्ठानहरुले आवद्ध हुन आनाकानी गर्दै आएको अवस्था छ ।

लकडाउनका कारण रोजगारदाता र योगदानकर्ता दुवैको क्षति व्यहोर्नुपरेको भन्दै सरकारले उनीहरुको एक महिना बराबरको ३१ प्रतिशत रकम कोषमा जम्मा गरिदिन लागेको हो । कोषमा अहिले १२ हजार ३ सय १५ रोजगारदाता र एक लाख ५३ हजार २७० योगदानकर्ता आबद्ध छन् । उनीहरूबाट हालसम्म झण्डै ८७ करोड रुपियाँ रकम संकलन भइसकेको छ ।

सामाजिक सुरक्षा कोसमा ३६ हजार चार सय श्रमिकको योगदान आइरहेको र चैत महिनाको रकम ३० करोड हुने कोषका निर्देशक कपिल ज्ञवालीले जानकारी दिए ।

Advertisement

Advertisement

Advertisement