सेयर बजार बन्द हुँदा लगानीकर्ता खुश, भन्छनः चीन, युरोप, अमेरिका देखाएर हुन्छ ?

Advertisement

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)ले सेयर कारोबार ५ दिनका लागि बन्द गरेपछि लगानीकर्ता खुशी भएका छन् । नेपाल इन्भेष्टर्स फोरमका अध्यक्ष छोटेलाल रौनियारले सेयर बजार बन्द गर्ने नेप्सेको निर्णयको स्वागत गरे । ‘सेयर बजार बन्द गर्ने नेप्सेको निर्णयले सेयर बजारकै हित गरेको छ, लगानीकर्ता र ब्रोकरलाई कोरोनाको जोखिमबाट पनि जोगाएको छ’, रौनियारले भने ।

त्यस्तै, नेपाल सेयर लगानीकर्ता संघका उपाध्यक्ष तारा प्रसाद फुल्लेलले पनि बजार बन्द गर्ने निर्णयले सम्पूर्ण लगानीकर्ता खुसी भएको बताए । ‘बजार पूर्ण प्रविधि मैत्री र अटोमेशनमा नगएकाले लक डाउन समाप्त नहुँदासम्म सेयर कारोबार बन्द गर्नुपर्छ भन्ने हाम्रो माग थियो, नेप्सेले थप ५ कारोबार दिन बजार बन्द गरेकामा हामी खुशी छौं ।’, फुल्लेलले भने ।

उनले ब्रोकर कार्यालयमा पुगेर सेयर कारोबार गर्ने वातावरण नबन्दासम्म सेयर कारोबार खुल्ला गर्न नहुने धारणा पनि राखे । एक तिहाई भन्दा कम लगानीकर्ताले मात्रै अनलाइनमा कारोबार गरिरहेको र राफसाफका लागि ब्रोकर कार्यालय नै जानुपर्ने भएकाले लक डाउन अवधीभरी सेयर बजार बन्द गर्नुको विकल्प नभएको स्पष्ट पारे ।

इन्भेष्टर्स फोरमका अध्यक्ष रौनियारले युरोप, अमेरिका, चीन र भारतमा सेयर बन्द नगरिएकाले नेपालमा पनि बजार खोल्नुपर्ने तर्क गर्नु ठिक नभएको बताए । ‘धितोपत्र बोर्ड र नेप्से मिलेर बजार बन्द गर्ने निर्णय गरे जुन ठिक छ । सरकारले नै देश लक डाउन गरेकाले बजार खोल्नु ठिक थिएन् ।’, रौनियारले भने ।

उनले अरु देशमा सेयर बजार अटोमेशन रहेकाले उता बजार खुलेको तर नेपालमा अझै ब्रोकर कार्यालय धाउनुपर्ने अवस्था रहेको भन्दै बजार बन्द गर्ने निर्णयको बचाउ गरे । उनले सेयर बजारमा तत्कालै बैंक जोड्नुपर्ने र रियल टाइम सेटलमेन्ट गर्ने व्यवस्था तत्कालै गर्नुपर्नेमा पनि जोड दिए ।

Advertisement

Advertisement

Advertisement