देउवाको सरकारलाई आग्रह- विदेशमा रहेका नेपालीलाई उद्दार गरेर ल्याउन सुरु गर

Advertisement

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भारतलगायतका विभिन्न देशमा अलपत्र रहेका नेपाली नागरिकको उद्धारमा जुट्न सरकारसँग आग्रह गरेका छन्।

सभापति देउवाले मंगलबार अपील जारी गर्दै नेपालमा रहेका आफ्ना नागरिक कैयौं देशले चार्टर विमानमा उद्दार गरेर स्वदेश लगिरहेको उल्लेख गर्दै नेपाल सरकारलाई पनि विदेशमा रहेका नेपालीको उद्धारमा जुट्न आग्रह गरेका हुन्।

‘विभिन्न देशबाट आफ्नो देश फर्कन चाहनेको हकमा तथा अध्ययन, श्रम र तीर्थ यात्रा क्रममा भारतको विभिन्न राज्यमा अड्किएका नेपालीको उद्दार गर्न सरकारले जरुरी कुटनीतिक पहल गर्न अत्यावश्यक छ,’ उनले भनेका छन्, ‘उद्दार पूर्वको अवस्थामा आवश्यक गासबासको व्यवस्थापनका लागि दूतावासमार्फत स्थानीय रूपमा पहल गर्नपनि सरकारलाई आग्रह गर्दछु।’

सभापति देउवाले दार्चुलाको महाकाली पारी नेपाल प्रवेश गर्न चाहने ठूलो संख्यामा रहेका नेपालीको व्यवस्थापन गर्न पनि सरकारको ध्यानाकर्षण गराएका छन्। ‘भारतको विभिन्न ठाउँमा रहेका नेपाली महाकाली पारी सयौंको संख्यामा आइपुगेर दार्चुला प्रवेश गर्न चाहदा उत्पन्न जटिलताको व्यवहारिक हल खोज्न म सरकारलाई अनुरोध गर्दछु,’ उनले भनेका छन्, ‘कडाइका साथ प्रवेश, परीक्षण र क्वारेन्टाइन सुनिश्चित गर्न या अन्य वैकल्पिक प्रक्रियाले तत्काल समस्या समाधान गर्न म ध्यानाकर्षण गराउँदछु।’

देउवाले लक डाउन लम्ब्याउनु पर्ने स्थितिले विभिन्न ठाउँमा फंस्न पुगेका नेपाली समस्यामा परेकाले उनीहरुलाई बैकल्पिक व्यवस्था गरेर समस्या समाधान गर्न पनि भनेका छन्।

कांग्रेस सभापति एवं पूर्वप्रधानमन्त्री देउवाले विश्वव्यापी फैलिएको कोरोना भाइरससँग जुध्न सरकारले निर्धारण गरेका रणनीतिलाई सबैले आत्मसाथ गर्न जरुरी रहेको बताए। एक पुरानो र अनुभवी दलको नाताले आजको चुनौती सामना गर्न सरकारलाई हरतरहले सघाउन कांग्रेस तत्पर रहेको र सघाइरहेको उल्लेख गरेका छन्। ‘यो हामी सबैको साझा संघर्ष हो, अतः सरकारमा संगै नरहेर पनि यस्तो अभियानमासंगै लड्न सकिन्छ भन्ने भावनामा हामी दृढ ढंगले प्रतिबद्ध छौं,’ देउवाले भनेका छन्।

अन्नपूर्ण पोष्ट दैनिकबाट ।

Advertisement

Advertisement

Advertisement