लकडाउनमा जन्मिएको बैंकर बाबुकाजी थापाको ‘कैँची’

Advertisement

धेरै दिन देखि म एउटा कैंचीको खोजीमा थिएँ । मौका नपरेको हुँदा किन्न जान सकिरहेको थिइन । एक दुई पसलमा सोधेको पनि हुँ, भने जस्तो पाईएन । जाबो एउटा कैंचीको अभावमा करीब छ महिना देखि मैले सास्ती झेलिरहेको थिएं । हात मुखको जोहो गर्ने उपक्रममा कैंचीको आवश्यकता व्यस्तताले गर्दा ओझेलमा थियो । आखिर त्यसले चुलोको समस्या त उब्जाएको थिएन, चलेकै छ भन्ने लाग्थ्यो । जब जब म नुहाउन बाथरुम पस्थें वा दाह्री काट्न बस्थें, कैचीको अभावले मन अमिलो भएर आउँथ्यो । एक दिन वाचा गरें आज चाहिं नल्याई छाड्दिन । जागीरको सिलसिलामा म सुदूरपश्चिमको धनगढी पुगेको थिएँ । काठमाडाँैवासीले त यसलाई कालापानी सरह नै ठान्छन् । अरु हिसाबले होईन, दुरीको हिसाबले । काठमाडाँैबाट बेलुकी ३ बजे दिउँसो रात्री बस चढियो भने भोलिपल्ट बिहान ९ बजे आईपुगिन्छ धनगढी । म काठमाडौंको मान्छे, मलाई टाढा नै लाग्छ यहाँ आउन । उसरी त जहाज चढ्ने हो भने सवा घण्टाको बाटो हो । तर के गर्नु ? १५ दिनको तलब जान्छ एकतर्फी जहाज चढ्न । कार्यालयमा कर्मचारी सबै स्थानिय छन्, म बाहेक अफीस छुटेपछि सबै आ–आफ्नो घर तिर लागि हाल्छन् । मैले चाहिं आज पसल पसल चाहारेर भए पनि कैंची त किन्छु किन्छु भन्ने अठोट गरें ।

Advertisement

बैशाखको धुम थियो, मान्छेहरु घामबाट जोगिएर हिंडीरहेका थिए, प्रायःजसोले छाता ओढेका थिए । छत भएको रिक्सामा यताउता गर्ने मान्छे पनि प्रशस्तै थिए । घाम पनि कस्तो भने सूर्य नारायण टाउकै माथि छन कि जस्तो लाग्ने । सात सूर्य उदाए सरह, उग्र गर्मी । यस्तैमा म लखर् लखर् सडक पेटीपेटी फुलबाहुले सेतो सर्ट र निलो पाईन्टमा सजिएर कैंचीको खोजीमा सडकमा दायाँ बायाँका पसलमा आँखा गाडेर हिंडिरहेको थिएँ । यस्सो हेर्छु त सडकको पारिपट्टी ‘सम्झना श्रृंगार पसल’ लेखिएको ठूलो पसल रहेछ । सोचें महिलाको श्रृंगारको सामान बेच्ने ठाउँमा के पाईएला र कैंची ? तर फेरी गमें, कैंची पाउने पसल नै श्रृंगारको पसल न हो । जाँगर पनि लागेको थिएन बाटो काट्न किनकी धनगढीमा रिक्सा, गड्यौंला जस्तै गुडछन् बाटो भरी ।
फेरी उसमाथी बयलगाडा, साईकल, रिक्सा, बस, ट्रक, जीप, गाई÷भैंसी, मोटरसाईकल सबै एउटै बाटोमा दुई तर्फी चल्छन् । कतिखेर कुनले बजाईदिन्छ ठेगान हुंदैन । आ....१ भन्ने लागेको थियो । कैंची पनि नभई नहुने अनि पसलमा सोधपुछ गर्न अल्छी पनि मान्ने हो भने आज पनि किनिंदैन भन्ने ठानेर बाटो काटें र पुगें पसल भित्र । सरसर्ती आँखा लगाएँ पसलमा, महिलाको लागि घस्ने÷दल्ने देखि सबै खालका सामान रहेछन् । पुरुषका लागि आवश्यक पर्ने सामान पनि थिए जस्तै काँइयो देखि सेभिङ क्रिमसम्म । एक नजर पुरै पसलमा यस कारण पुगे कि कैची चाहिं राखेको छ कि छैन होला भनेर ।
सिसाको र्याकमा कुना तिर कैंचीहरुको खात थियो, म ढुक्क भएँ । अब भने मेरा आँखा पसले तिर गयो । एक राउण्ड शुरुकै झमेटमा पसले होइन पसल्नी छन् भन्ने त थाहा भैसकेको थियोे तर आफ्नो ध्यान साहुनी भन्दा पनि कैंची तिरै गएको हुँदा खासै ध्यान गएको थिएन । आँखा जुधे पसल्नीसँग । बहिनी कैंची छ ? “सर बस्नुस् न” । अगाडिको सानो टुल देखाएर मलाई गढेर हेरिन् साहुनीले । आफुलाई लाजले रातो भएँ कि जस्तो भान भयो, त्यसमाथि गर्मीको राप त छँदै थियो ।सर घामले तातिएर आउनु भएको रहेछ, चिसो पानी खानु हुन्थ्यो कि ? छ भने पाऊँ न त... भनें मैले । पसल २० बाई २० फिटको हुँदो हो, ठूलो । एउटा कुनामा बेडरुम साईजको फ्रिज राखेको रहेछ, त्यहाँबाट झिकेर एक बोतल पानी ल्याईन् पसल्नीले । पिउन खोजें असाध्यै चिसो रहेछ, सकिएन । त्यो उसले चाल पाई । एकछिन बाहिर राखेपछि तातो भईहाल्छ सर, केहिछिन् कुरेर खानुहोला भनि । मेरो अवस्था देखेर उसले घुम्ने पङ्खा लगाई दिई म तिर फोकस गरेर । पसलमा उ सिवाय कोही थिएन ।मलाई यति धेरै सेवा गरेको देख्दा मेरो मन त्यसै त्यसै प्रफुल्ल भएर आयो । बस्ने कुर्ची, चिसो पानी, पङ्खाको फोकस यो सबै भरे बिलमा जोडिने हो भनेर म चाहिं त्यति वास्ता गरिरहेको थिइनँ । उसले ठानेकी हुँदी हो, म कुनै अफिसको हाकिम साकिम नै हुँ, दुई चार हजारको माल त किनी हालुंला । तर म त थिएँ कैंचीको ग्राहक मात्र । करीब आधा लिटर पानी पिएँ हुँला, ज्यानमा सास आयो । पानी पिउँदा घाँटी ठाडो पारेको मौका पारेर चोर जस्ता मेरा नजरले पसल्नीलाई शिर देखी पाउ सम्म नियाले ।फररर हावामा उड्लान जस्ता केस्रा केस्रा छुट्टिएका हल्का बैजनी रंगको लामो कपाल, सेतो मलमलको कपडा जस्तो छाला, न ठूला न साना साह्रै तेजिला आँखा, कुनै मूर्तीकारले मेहनत पूर्वक बनाएर टपक्क टाँसे जस्तो नाक । आँखी भौं सर्लक्क तन्किएका, मिलेका ओठमा मेहनत गरेर लगाएको लिपिस्टीक, हल्का राता पुटुक्क परेका गाला, न लामो न गोलो अनुहार । एक झमेटमा मैले देखेको पसल्नीको अनुहारको चित्र यही थियो ।अनि बैनी तालीम सालिम लिएर खोलेको हो कि यसै यो पसल ? घरेलुबाट श्रृंगार सम्बन्धि तालीम लिएपछि खोलेको हुँ सर । किन र ? उसले प्रतिप्रश्न गरि । “हैन त्यसै” मैले भनें । यो प्रश्न यसै सोधिएको थिएन । उसले आफ्नो शरीरको व्यवस्थापन जुन ढंगले गरेकी थिई, मलाई लागेको थियो शायद कुनै व्युटिसियन तालीम प्राप्त महिलाको भन्दा कम थिएन । एक राउण्ड नजर यसै बिचमा लगाएँ फेरी । असाध्यै सुहाउने गुलाबी रंगको कुर्ता सलवार, बाहिर कतै बनाएर लगेर टाँसे जस्तो स्तनका बनोट, बान्की परेको पिठ्यूँ, करीब साढे पाँच फिटको उचाई, न मोटी न दुब्ली । म त मन्त्रमुग्ध भएँ । कतै खोट लगाउने ठाउँ छैन, कस्तो मिलेको रुप र बनावट होला ? बैनीको नाम चाहिं के हो नि ? हजुर “सम्झना” ! मैले ए.... भनें ।तर म भित्र के बितिरहेको छ मलाई याद भएन । कस्तो कस्तो उकुसमुकुस र अत्यास जस्तो भएर आयो । घर यहिं हो कि ? हैन सर, पहाड डोटी हो, यहाँ धनगढीमा घडेरी छ, घर बनाएको छैन । मलाई पहिलो दिन यहाँ भन्दा बढी कुरा गर्न मन लागेन, त्यो पनि कहिल्यै नदेखेको, नचिनेको महिला सँग । “अनि कैंची निकाल्नु न त” मैले भनें । तर ऊ त काउण्टरको सिसामाथि दुवै हात चिउँडोमा अड्याएर मलाई घुरेर हेर्न पो थाली । सोधी... सरको घर कहाँ हो, के गर्नुहुन्छ ? अघि देखि सर...... सर किन लगाई राख्नु भा छ तपाई ? मैले उल्टै प्रतिप्रश्न गरें ।हेर्दै अफिसको अफिसर जस्तो लाग्छ, सर नभनेर के भनुँ त ? म अवाक भएं । मेरो घर काठमाण्डौं हो, ६ महिना अघि सरुवा भएर यहाँ आएको, बैंकमा काम गर्छु । “ए” भनी उसले तर निक्कै नियालेर मलाई हेरेपछि कैंची निकालेर ल्याई । एउटा सानो कैंची देखाई । यो हैन, यो सानो भयो, अर्काे देखाउनु....मैले भनें । अर्काे ल्याई – त्यो पनि २० को १९ थियो पहिलेको भन्दा । यो पनि होइन क्या अलि ठूलो छैन ? म अलि झर्किए जस्तो भएँ । के गर्नलाई हो र सर कैंची ? जुँगा मिलाउन वा नाकमा उम्रेका रांै काट्न त होला नि हैन र ! भनी । मलाई अब रिस उठिसकेको थियो ।के था के के पो गर्नुपर्छ । कहाँ कहाँ काम लाग्छ , तल माथि जता पनि त काम आउला । हुन पनि मलाई अलि ठुलै कैंची चाहिएको थियोे । अब चाहिं कुरा बुझिछ क्यारे खोजे जस्तै कैंची देखाई । पैतालिस रुपैयाँ तिरेर म त्यहाँबाट हिडें । हिंड्ने बेलामा “ल त बैनी गएँ” भनें । उसले भनी “आउँदै गर्नुहोला है सर” । हुन्छ ..... हुन्छ भनेर पसलबाट निक्लंदा मलाई अन्मिएर अर्काको घर जान लागेकी छोरी लाई जस्तै गाह्रो भयो ।बाटोभरी र डेरा पुगेपछि पनि अनेक खालका तर्कना र सम्झनाले सताउन थाल्यो मलाई । जतिखेर पनि त्यो आईमाईको याद आउन थाल्यो । एक दिन अफीस छुटेर डेरा तिर जाँदै थिएँ श्रृंगार पसलमा आँखा परे । आएर बसिदिए हुन्थ्यो जस्तो याचनाले उसले पसलबाटै “नमस्ते सर” भनी । जानु कहिँ थिएन, कार्यालय समयपछि फुर्सदै फुर्सद थियो म सँग । पसें, भलाकुसारी भयो, सन्चो विसन्चो सोधियो, यस्तो लाग्थ्यो हामी वर्षौ देखि चिनजानका थियांै ।कुरा गर्दै जाँदा थाहा भयो उनका श्रीमान् नेपाल पुलिसका असई थिए, तराईकै कुनै जिल्लामा गाउँ लुट्न आएका डाँकाहरुसँगको भिडन्तमा २८ वर्षकै उमेरमा मारिए । २५ वर्षको खाउँ खाउँ लाऊँ लाऊँ भन्ने उमेरमा सिँउदोको सिन्दुर खोसियो सम्झनाको । श्रीमान् बित्दा छोरो पेटमा थियो, आज ५ वर्षको भैसकेको छ, नर्सरीमा पढ्छ । श्रीमान्को तर्फबाट केही पैसा आयो तर घरमा मिलेर बस्न नसकेपछि उनी झरिन् डोटीबाट धनगढी । आफन्तका छेउछाउमा डेरा खोजीन्, तालीम लिईन र भएको पैसाले पसल खोलिन् ।कस्तो चल्दैछ त बैनी पसल ? ठीकै छ सर, दिनको हजार रुपैयाँ जति नाफा बस्छ । ए राम्रै रहेछ त मैले भनें । ठिकै छ हजुरहरु जस्ता शुभचिन्तकको आशीर्वाद त हो । बोलीमा त्यत्तिकै नरमपना छ, मिठास छ, माधुर्य छ, रुप रंग त्यस्तै छ । थुक्क विधाता ! मैले ईश्वरलाई धिक्कारें । श्रीमान् छैन, दुःख सुख साटने साथी छैन सम्झनासँग । मलाई चिमोटिरह्यो यो कुराले । सर घरबाट बनाएर ल्याएको खाजा छ खानु हुन्छ.... टक्रयाऊँ ? के भन्नु .... के नभन्नु भयो । खाजा खाईयो, नजीकको कोल्ड स्टोरबाट चिसो मगाई, त्यो पिएँ । आनन्द आयो, तर मन भित्र दुःख गरेर कमाएकी केटीको पैसा खर्च गराएँ भन्ने लागिरह्यो । हिंड्ने बेलामा ल त बैनी म गएँ भने । ऊ पसलबाट निक्लेर आई, मलाई पर सम्म गएको हेरिरही । यो कुराले मलाई हजार भोटको झट्का दियो ।आउने जाने क्रम बाक्लिन थाल्यो, यो माया भन्ने कुरा पनि अचम्मको रहेछ । नदेख्दा सम्म को हो, को हो चिनेपछि माया मोह । तपाईबाट म तिमीमा झरें, आँखा एक अर्कामा अडिएर बस्ने भए, नदेखेको दिन मोबाइलमा एसएमएस गरेर बित्न थाल्यो । हप्ताको एक दिन शनिबार उसको पसल बन्द, मेरो कार्यालय बन्द । सारा जीवन नै बन्द भए जस्तो लाग्न थाल्यो हरेक शनिबार । छोराछोरी, श्रीमती छन् काठमाडौंमा । कहिले घर आउला भनेर कुरी बसेका छन्, यता म श्रीमान् भैखाको मायामा कैंची परेको छ ।दुई धार संगै छन् तर चलाउन पाएको छैन । उत्तिकै छ माया काठमाडौँको उत्तिकै छ, प्रिती धनगढीको । यसो गन्छु कतै कमी देख्दिन मायामा, श्रीमतीलाई सम्झन्छु विचरी मेरो बाटो हेरेर बसेकी छ, रत्तिभर डगमगाएको छैन माया । यता सम्झनाको कुरा अर्कै छ । मलाई नदेखेको दिन नसुनेको दिन उ मर्नु न बाँच्नुमा पुग्छु भन्छे । हजुरको परिवार उजाड पार्नु छैन मलाई, हजुरसँग पोइल जानु छैन मलाई । मलाई सिर्फ तपाईको मुस्कान र माया भए पुग्छ भन्छे धनगढीवाली । उमेरले ४० टेक्दैछ मेरो, ३० टेक्दैछे ऊ, के हुन खोजेको हो ? मलाई नै थाहा छैन, कहाँ पुगिन्छ ? जे त पर्ला यसै उसै चलिरहेको छ भन्ने लाग्न थाल्यो ।एक दिन फेरी छिरें पसलमा । हजुरलाई यो क्रिम, यो पाउडर, यो अत्तर, यो बडी स्प्रे, यो फेसियल स्क्रब, के....के..... हो के के को पोको थमाई उसले मलाई । यो के गरेको ? किन चाहियो मलाई यो सब ? जिन भएपनि चाहियो, राख्नु नि – उसले भनि । मलाई हजुर ह्याण्डसम भएको देख्ने रहर छ, उसले थपी । हाजीरीजवाफमा म पनि कम्तीको त छैन । “म यसै ह्याण्डसम छु नि । त्यो त हो तर पनि लगाई त हेर्नु – उसले छोडिन । जान्न पनि त पर्यो कसरी लाउने, कहाँ लाउने, कहिले लगाउने ? एउटा माकुरी जाल थापें मैले । ठिकै छ आउने शनिबार म हजुरलाई सिकाऊँला भनी । अब मलाई त्यो शनिबार कहिले आउला जस्तो लाग्न थाल्यो । तीन दिन पछिको शनिबार तीन महिना जस्तो भयो ।शुक्रबार मोबाइल गरी, खाजा खान पसलमा आउनु है भनेर । त्यति भएपछि मलाई के चाहियो र ? सेकुवा सेट मगाई उसले... धनगढीमा खसीको सेकुवा प्रख्यात खाजामा पर्दाे रहेछ । चिसो डिऊ सँग सेकुवाले पेटको भोक मारियो । पेटको भोक त मारियो यौनको भोक त बाँकी नै छ, त्यो कसले मेटाईदिन्छ ? वाहियात कुरा आयो मनमा । श्रीमती छे भनेर चित्त बुझाएको छु म, बैसठ्ठी दिन भयो घर नगएको । मेरो कर्मै खोटो भनेर चित्त बुझाएकी छ, सम्झना । मलाई किन यस्तो हुन्छ ? हजुर बिना बाँच्न सक्दिनं जस्तो लाग्छ, किन होला उसले बडो गम्भीर मुद्रामा भनि । तिमी नै भन् मैले त्यस्तो के गरेको छु र तिमीलाई । मैले त झन् तिम्रो व्यापारमा डिस्टर्व मात्र गरिरहेको छु, आउँछु, खान्छु, खर्च गराउंछु– मैले भनें । कृपया आइन्दा त्यस्तो कहिल्यै नसोच्नुहोला ।हजुरलाई भेटे देखि मैले नयाँ जीवन पाएको अनुभव भएको छ । नयाँ उमंग छ म मा, उत्साह छ, जाँगर बढेको छ । उडुँ उडँु लाग्छ मलाई । मलाई पनि माया गर्ने मान्छे रैछन्, मेरो सानो सानो व्यक्तिगत इच्छा, आकांक्षा, समस्या, दुःख र सुखमा यति धेरै चासो राखेर सुन्ने र प्रतिक्रिया दिने मान्छे जीवनमा मैले भेटेको छैन । उ धारावाहिक बोल्न थाली । “म तपाईलाई धेरै माया गर्छु, सिर्फ माया बुझ्नु भो ? । मलाई डर डर लाग्न थाल्यो, कतै कुनै फसादमा पो परिने हो कि ! मेरो मनोदशा बुझे झैं गरेर भन्न थाली – हजुरले चिन्ता गर्नुपर्दैन, म हजुरको जीवनमा कुनै अप्ठ्यारो पार्ने छैन । ठिकै छ, के नै बिगारेको छु र मैले भन्ने लाग्यो । भोलिपल्ट शनिबार उसकै डेरामा भेट्ने गरी बिदा भएं म ।सम्झनासंग हेलमेल भएकोे छ महिना भै सकेको थियो । रेस्टुरांमा खाजा खाने, पार्कमा बसेर गफ गर्ने अथवा उसकै पसलमा बसेर गफ गर्नु वाहेक ढोका थुनेर कोठामा कहिल्यै बसेका थिएनौं हामी । नौ बजे बिहानै पुगें म उसको डेरामा । एउटा किचन, एउटा बेड रुम, एट्याच बाथरुम सहितकोे सानो फ्ल्याट लिएकी रहिछ उसले । असाध्यै मन पर्यो मलाई । पाउडर दुधको मिठो चियाले स्वागत गरी मलाई । दायाँ बायाँ हेरे बच्चा देखिएन । खोई त बाबु ? मैले सोधें ।हिजै फुपु पर्ने कहाँ गएको छ, भोली आउँछ । मेरो रक्तचाप बढेर आए जस्तो भयो । खाना पकाउन सबै ठिक्क पारेकी रैछ । म अचम्ममा परें, मेरा लागि लगाउन भनेर नयाँ हाफ कट्टु किनेर ल्याएकि रहिछ, त्यो लगाउन दिई उसले । हामी दुवैजना मिलेर खाना पकाऊँ ल– उसले भनी । हजुर मसला पिन्नु, म तरकारी ओईरिन्छु । आहा ! मलाई पनि रोमान्चक बनायो वातावरणले । यस्तो लाग्थ्यो हामी श्रीमान् श्रीमती हौं, कुनै अप्ठ्यारो थिएन, संकोच थिएन । खाना पाक्यो, सुत्ने कोठामा गईयो ।आँखा जुधाउने खेल खेलौं भनी । ल त ल– म कस्सिएँ । उसले जिती, जित्नासाथ ग्वाम्लाङ्ग अँगालो हाली मलाई । म के गर्नु, के नगर्नु भएं । वर्षौदेखि भेट नभएको श्रीमान् भेट हुँदा जस्तै अङ्गअङ्गमा चुप्पा गरी उसले, मैले साथ दिएँ । भोली काठमाडौं जान्छु मैले भनें– उ झसङ्ग भई । किन ? सानो तालिम परेको छ । कहिले आउने ? १०—१२ दिन पछि । घर पुगेपछि मलाई फोन गर्ने कि नगर्ने ? गर्ने ...बाबा... गर्ने । त्यसो भए एउटा सम्झना दिएर जानु । के ? कति सम्झना दिनु अब ? यत्रो भेटघाट, यत्रो माया, यत्रो अँगालो, यति म्वाइँ यी सब के हुन त ? सम्झना नभएर यी के हुन् ? जाउं खाना खान.. मैले चेपारे कुरा गरें । आँखा तरेर हेरी उसले । तर पार् लागेन भनौं वातावरणले दिएन । उता भान्छामा खाना चिसो हुँदै गईरहेको थियो । यता बेडमा दुई शरीर एकाकार भएर ताता हुँदै थिए ।

(यस कथाका लेखक थापा कृषि विकास बैंक काठमाडौँका विभागीय प्रमुख हुन् ।)

Advertisement

Advertisement