जीवनरक्षक औषधिको अभावः स्वदेशमा उत्पादित कारखानामै, विदेशबाट आयात कठिनाई

Advertisement

काठमाडौं। विश्वव्यापीरुपमा फैलिएको कोरोना भाइरस ९कोभिड १९० को महामारीका कारण नेपाललगायत विभिन्न मुलुकले लकडाउन गर्दा जीवनरक्षक औषधिको ढुवानी ठप्प भएको छ। स्वदेशी उत्पादन फयाक्ट्रिमै रहेका कारण अभाव सिर्जना हुँदा विक्रेताले कालोबजारी शुरु गरेका छन्।

नेपालमा कुल मागको करिब ४५ प्रतिशत मात्र स्वदेशी उत्पादनले धान्दै आएको छ। बाँकी ५५ प्रतिशत भारत, बंगलादेश, पाकिस्तान, मलेशिया, जर्मनीलगायत मुलुकबाट आयात हुने गरेको छ। ती सबै मुलुकमा कोरोना भाइरसको संक्रमणका कारण लकडाउन गरिएको छ। नागरिकको स्वास्थ्यलाई पहिलो प्राथमिकता दिंदै जीवनरक्षक औषधिको पर्याप्त व्यवस्था गर्नुपर्नेमा अभाव सिर्जना भएको विरामीको गुनासो छ। क्यान्सर प्रभावित श्रमतीको केमोथेरापीद्वारा उपचार गराउँदै आएका ज्ञानेन्द्रविक्रम महतले औषधिको अभाव गम्भीर समस्या रहेको बताए। ‘हामी भारतमा उपचार गराई फर्केका हौं। अहिले नेपालमै थप उपचार भइरहेको छ’, महतले भने, ‘तर, औषधि पाउन नसकिर्एकाले समस्या खडा भएको छ।’

उनका अनुसार रमुसरम्याब ५०० एमजी र नानोपासिल २०० एमजीलगायत अन्य औषधि नेपालमा कतै पाइएको छैन। ‘जीवनरक्षक औषधि नपाउनु धेरै बिरामीको समस्या हो’, उनले भने, ‘सरकारले विमान चार्टर गरेर भए पनि भारतबाट आयात गर्ने व्यवस्था मिलाए धेरेको जीवन जोगिने थियो।’ नेपाल क्यान्सर हस्पिटल एन्ड रिसर्च सेन्टरका अध्यक्ष वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा. सुदीप श्रेष्ठले औषधिको आपुर्ति बन्द हुँदा क्यान्सरका विरामीलाई समस्या शुरु हुन थालेको बताए। जीवनरक्षक औषधिको तत्कालै आपुर्ति सहज हुनुपर्नेमा उनले जोड दिए।

‘केमोथेरापिद्वारा उपचाररत क्यान्सरका विरामीलाई कुनै एउटा औषधि अभाव भएमा पनि अप्ठेरो पर्छ। चार÷पाँचवटा औषधिको मात्रा मिलाएर सेवन गर्नुपर्ने हुन्छ’, उनले भने, ‘दैनिक औषधि किन्नुपर्नेलाई समस्या हुन थालेको छ। अस्पतालले जेनतेन व्यवस्था गर्दै आएको छ। अब त्यो पनि गाह्रो छ।’ चैत १८ देखि मुलुकभर लकडाउन घोषणापछि स्वदेशमा उत्पादित औषधि पनि बजारमा पुग्न सकेको छैन। अत्यावश्यक औषधि, औषधिको कच्चा पदार्थ र औषधिजन्य सामग्रीको असहजता भइरहेको औषधि व्यवसायीको भनाइ छ।

अन्नपूर्ण पोष्ट दैनिकबाट ।

Advertisement

Advertisement

Advertisement