मोबाइल भ्यानमार्फत खाद्यान्न बिक्री गर्दै साल्ट ट्रेडिङ, उपभोक्तालाई सुबिधा

Advertisement

काठमाडौँ । कोरोना भाइरस संक्रमणलाई ध्यानमा राखी नेपाल सरकारले दुई साता लामो लकडाउन गर्दा उपभोक्तालाई समस्या भएकाले सरकारी स्वामित्वमा सञ्चालित साल्ट ट्रेडिङले खाद्यान्नको बिक्रीवितरण गरेको छ । कर्पोरेशनले बुधबार मोबाइल भ्यानमार्फत नुन, चिनी, मैदा, दाल तथा गेडागुडी बिक्री गरिएको जनाएको छ ।

उपभोक्ताको मागअनुसार भ्यान पठाएर खाद्यान्न बिक्री गरिँदैआएकामा आज काठमाडौँ, ललितपुर र भक्तपुरका विभिन्न वडामा गएर बिक्री गरिएको साल्ट ट्रेडिङका सूचना अधिकृत कुमारराज भण्डारीले जानकारी दिए । उनका अनुसार आजका लागि तीन स्थानमा विभिन्न मार्ग बनाएर खाद्यान्न बिक्री गरिएको थियो ।

सोअनुसार सामाखुसी, टोखा, ग्वङ्गबु, गौरीगाउँ र जाल्पाचोक क्षेत्रमा रु एक लाख पाँच हजारको खाद्यान्न बिक्री गरिएको छ । त्यस्तै बालाजु, नयाँबजार, खुसीबँु र चक्रपथ क्षेत्रमा रु ८६ हजार र कुपण्डोल, हनुमानस्थान, सानेपा, पाटनलगायत क्षेत्रमा रु ८० हजार बराबरको खाद्यान्न बिक्री गरिएको छ ।

त्यस्तै कालीमाटी काउण्टरबाट आज मात्र रु ९५ हजार ६ सयभन्दा बढी खाद्यान्न बिक्री गरिएको उहाँले जानकारी दिनुभयो । तीन मोबाइल भ्यान र कार्यालयबाट गरी आज मात्र रु तीन लाख ६६ हजार सात सयभन्दा बढीको कारोवार भएको छ ।

घुम्ती सेवाबाहेक साल्ट ट्रेडिङले कालीमाटी, सतुङ्गल र कोटेश्वर गरी तीन स्थानबाट आउटलेट राखी खाद्यान्न र ग्यासको बिक्री गर्दै आएको छ । हाल लकडाउनका समयमा हुने चर्को मूल्यवृद्धि र खाद्यान्नबाट उपभोक्तालाई केही राहत दिन मोबाइल भ्यानबाट घुम्ती सेवा दिइहेको सूचना अधिकृत भण्डारीले बताए ।

Advertisement

Advertisement

Advertisement