बीमा क्षेत्रमा कोरोनाको प्रभाव र अवसरः पोषकराज पौडेलको विचार

Advertisement

काठमाडौं । चीनको वुहानबाट शुरु भएको कोरोना भाइरस (कोेभिड १९) ले विश्वव्यापी महामारीको रुप लिएर मानव विकासको ईतिहासमा ठूलो असर पुर्याउने देखिन्छ । यस अवस्थामा यसले पुर्याउने क्षतीको अनुमान गर्न अझै केही समय पर्खनु पर्ने हुन्छ । कोरोना भाईरसको प्रभाव आजको अवस्थाको आंकलन गर्दा विश्व व्यापी रुपमा मुख्य गरि मानविय क्षती र आर्थिक क्षतीले बीमा क्षेत्रमा प्रभाव पर्ने देखिन्छ ।

मानविय क्षतिः कारोनाको कारणले भएको आजसम्मको मृत्युको संख्या हेर्दा विश्व भरिमा दैनिक मृत्यु हुने एक लाख ६० हजारको तुलनामा धेरै कम रहेता पनि यसको वृद्धीदर र प्रभाव हेर्दा महामारीको अवस्था देखिन्छ । अर्को तर्फ यसको मृत्युको उमेर समुह हेर्दा सबै जसो मुलुकमा बुढा बुढी र बिरामीहरु अधिक रहेकोले पनि देशहरुमा यसको प्रभाव जनसंख्याको उमेर समुहको वर्तमान अवस्था अनुसारले फरक फरक असर रहनेछ । यस विषयमा बीबीसीले हालै गरेको अध्ययनमा मानविय क्षतिमा मृत्यु, विमारी र गरिबीको अवस्थाको प्रभाव मुल्यांकन गरिएको छ । विश्वको उमेर समुह, लिंग समुह र पूर्व रोग भएको अवस्थाको अध्ययन अनुसार हालैको विश्व भरीको मृत्युको अवस्था यस प्रकार छ ।


आर्थिक वृद्धि दर उल्लेख्य रुपमा कम भई आर्थिक मन्दीमा समेत जान सक्ने, विश्वभर करिब २५ करोड मानिसहरुले रोजगारी गुमाउने, विश्वव्यापी प्रत्यक्ष वैदेशिक लागानी(एफडीआई)को लहरमा ४० प्रतिशतले कमी आउने बताइएको छ । विशेष गरि तिनवटा क्षेत्रमा बढी प्रभाव पर्ने विश्व बैंकको हालको आंकलन छ । जुन देशको अर्थ व्यवस्था कमोडिटी, पर्यटक र वैदेशिक सम्वन्धमा निर्भर छ । त्यसलाई बढी असर गर्ने विश्व बैंकको प्रक्षेपण छ । यसरी समग्र आर्थिक क्षतीले व्यक्तिको आम्दानीमा असर पर्ने हुँदा यसले व्यक्तिको आवश्यकताको प्राथमिकता तह हुने हुनाले बीमाको दाबीमा भन्दा बीमा व्यवसायमा बढी असर पुर्याउने देखिन्छ ।

नेपालमा प्रभाव
यो विश्वव्यापी महामारीको मानविय क्षतिको र आर्थिक क्षतिको आंकलन अहिलेको अवस्थामा कस्तो हुन्छ भन्न सकिने अवस्था छैन् । मानविय क्षतीको सम्वन्धमा नेपालको हालको लकडाउन, नेपालीहरुको भौतिक र जिवन यापनको वस्तु स्थिती, नियमति सूचना र क्रमिक तयारी, परिक्षण र औषधीको उपलव्धतामा क्रमिक सुलभता, अन्य देशको अनुभवबाट शिक्षा र विश्वव्यापी प्राथमिकताले यसको प्रभाव नेपालमा सामान्य प्रभाव पर्ने एक पक्षको अनुमान छ ।

अर्कोतर्फ हालसम्म वास्तविक कारण थाहा नहुनु, विकसित देशहरुमा समेत भयावह स्थिती हुनु, औषधी र भ्याक्सिनको अवस्था अनिश्चत हुनु, अधिक रुपमा सरुवा हुनु र यस्ता महामारीसंग लड्न सक्ने आर्थिक तथा भौतिक अवस्था कमजोर हुनु लगायतका धेरै अनिश्चितताले गर्दा यसको प्रभाव भयानक समेत हुन सक्ने आंकलन गरिएको अवस्था पनि छ । त्यसै गरि आर्थिक क्षतिको हिसावले विशेष गरि व्यवसायिक जस्तै पर्यटन तथा होटल उद्योग, निर्माण उद्योगहरु, मनोरंजन उद्योगहरु, पूँजी बजार, बैंकिङ, बीमा, हवाई सेवा, शैक्षिक क्षेत्र, कलकारखाना लगायतका धेरै जसो क्षेत्रमा तत्कालिन र मध्यकालिन आर्थिक प्रभाव परि सकेको अवस्था छ । समग्र देशको अवस्थामा अनुमानित जिडिपी(कुल गार्हस्थ उत्पादन) कम हुने आंकलन र विभिन्न क्षेत्रमा पर्ने दिर्घकालिन मुल्यांकन गर्न अझै केही समय पर्खनु पर्ने हुन्छ ।

बीमा क्षेत्रमा यसको प्रभावः
मानविय जिवन र आर्थिक कृयाकलापमा पर्ने प्रभावले प्रत्यक्ष र परोक्ष रुपमा बीमा क्षेत्रलाई असर गर्दछ । विभिन्न व्यावसायिक क्षेत्रमा जस्तै बीमा क्षेत्रमा पनि समग्र वित्तिय प्रभावको साथै जोखिम वहन गरेको दायित्वको समेत यस क्षेत्रमा असर पर्ने देखिन्छ । अन्य व्यवसायिक क्षेत्रमा आफनो व्यावसायीक जोखिम मात्र रहने हुन्छ । तर बीमा कम्पनीको हकमा व्यवसायिक जोखिम अरु उद्योग व्यावसाय सरह प्रभावमा रहन्छ भने बीमा जोखीमको अतिरिक्त दायित्वको भार रहन्छ, जसको यथोचित हस्तान्तरण र व्यवस्थापनको लागि पुनर्बीमा गरिएको हुन्छ । प्रत्यक्ष रुपमा यसले समग्र बीमाको विश्वव्यापी मान्यता र हालको अवस्थामा कस्तो प्रभाव पार्दछ भन्ने सन्दर्भमा कोरोना महामारीले पुर्याउने असरले समेत निर्धारण गर्ने हुन्छ ।

दाबी भुक्तानी प्रभावः
यस्तो अवस्थामा कम्पनीहरुले अनुमानीत भन्दा बढी दावी भुक्तानी गर्नु पर्ने हुँदा यस्तो समयमा ग्राहकलाई शिघ्र सेवा दिन थप व्यवस्थापकीय र संचालन तयारी उचित र सहज हुनु पर्दछ । विश्वव्यापी रुपमा सन २००३ को को सार्स महामारी पछी बीमा कम्पनीहरुले सचेत भएर व्यवसाय अवरुद्ध र भ्रमण बीमामा यस्ता महामारीहरु समावेश नगरेको पनि पाइन्छ । तर यस्तो इभेन्ट क्यान्सिलेशन इन्स्योरेन्सका कारणले यस वर्षको टोकियो ओलम्पीक २०२० को करिव २ बिलियन डलरको बीमा (जनरल) कम्पनीले व्योहोर्नु पर्ने देखिन्छ ।

विश्वमा मुख्य दुइ क्षेत्र ट्रेड क्रेडिट इन्स्योरेन्स र वर्कर्स कम्पेन्सेसन(क्षतिपूर्ति) इन्स्योरेन्स बीमाको दाबी अधिक पर्ने अवस्था रहेता पनि यस्तो मात्रा भने कोरोनाको प्रभावमा निर्भर गर्दछ । ट्रेड क्रेडिट इन्स्योरेन्स अन्तरगत ११ बिलियन डलरको विश्व बजारमा बीमा साना तथा मझौला ग्राहक उद्योगहरुबाट उठ्नु पर्ने क्रेडिट रकम ति उद्योगहरुमाथी कोरोनाले पार्ने प्रभावमा निर्भर गर्ने अवस्था छ । यसै गरी वर्कर्स कम्पेन्शेसन इन्स्योरेन्स(कामदारको क्षतिपूर्ति बीमा) मा पनि वाहय कारणले हुने जागीर प्रभावित भए बापत दिइने क्षतिपुर्ती पनि उल्लेख्य हुने देखिन्छ । तर नेपालमा यी प्रोजेक्टहरु खासै प्रचलनमा पाइदैन । यसै गरी स्वास्थ बीमामा पनि विभिन्न देशमा फरक फरक अवस्था (सरकार आफैले व्यहोर्ने समेत) रहेकोले यसको वित्तिय प्रभाव पनि सो बमोजिम देश अनुसार बीमा कम्पनीमा पर्ने देखिन्छ ।

जीवन बीमा क्षेत्रमा पर्ने प्रभावकोे सन्दर्भमा कोरोना भाईरसको कारणले हुने बीमीतको मृत्युको संख्याले प्रत्यक्ष असर गर्दछ । यसरी बीमा कम्पनीहरुमा पर्ने प्रभावमा कम्पनीको बीमाको किसिम र सोको अनुपातमा पनि निर्भर गर्दछ । जीवन बीमा कम्पनीलाई साधारण(आवधिक र टर्म) जीवन बीमा प्रडक्टमा धेरै संख्यामा मुत्यु हुँदा आर्थिक भार वृद्धी हुन्छ भने पेन्सन प्रडक्टमा धेरै संख्यामा मुत्यु भएमा धेरै लामो समय पेन्सन दिन नपर्ने हुँदा आर्थिक भार कम हुन्छ । यसरी बीमा प्रोडक्टबाट बीमामा पर्ने जोखिमलाई सामान्यीकरण समेत गर्न मदत पुग्दछ ।

नेपालमा जीवन बीमातर्फ मुख्य रुपमा साधारण जीवन बीमा प्रडक्ट रहेकोले धेरै संख्यामा मुत्यु हुँदा आर्थिक भार वृद्धी हुन्छ । नेपालमा हाल प्रचलनमा रहेका सबै जसो जीवन बीमा कम्पनीका योजनाले कोरोनाको कारणले हुने मृत्युमा ग्राहकले दाबी भुक्तानी पाउने व्यवस्था रहेको देखिन्छ । नेपालमा रहेको बीमा योजना विकशित देशको तुलनामा म्यादी भन्दा सावधिक योजना धेरै भएकोले जीवन बीमा कम्पनीलाई ‘सम एट रिस्क’को हिसावले कम भार पर्ने अवस्था छ । साथै औषधी उपचार बीमाको सन्दर्भमा कोरोना भएमा उपचार सम्वन्धि खर्च नेपाल सरकारले व्यहोर्ने भनि घोषणा गरेको अवस्था छ ।

साथै साधारणतया नेपालमा जीवन बीमा गर्नेको उमेर करिब ६५ बर्ष भित्र रहेको हालको अवस्थामा, माथिल्लो वर्गको उमेर समुहमा बीमीतको संख्या थोरै रहेकोले हालको कोरोनाको मृत्युको उमेर समुह हेर्दा बीमा कम्पनीमा दावीको भार धेरै नपर्ने देखिन्छ । यसरी गरिने मृत्यु दावी भुक्तानी र सोको कम्पनीमा पर्ने आर्थिक भारको मुख्य असर पुनर्बीमा प्रबन्धमा पनि निर्भर गर्दछ । मृत्यु दाबी भुक्तानीमा पुनर्बीमा कम्पनीको हिस्सा जति बढी भयो त्यही हिसाबले आर्थिक भार कम पर्दछ, जुन कुरा कम्पनी अनुसार फरक फरक हुन सक्छ । यस महामारी(महामारी पुनर्बीमा सम्झौता–क्याटास्ट्रोफी रिईन्स्योरेन्स ट्रिटी) मा समावेश प्रायः नभएको अवस्थामा क्याट ट्रिटी अन्तरगत पुनर्बीमा कम्पनीको तर्फबाट दावीको सोधभर्ना भुक्तानी पाउने अवस्था हुदैन, जसले कम्पनीमा भार पर्दछ । नेपालका सबै बीमा कम्पनीहरुको पुनर्बीमाको यथोचित व्यवस्था रहेकोले कम्पनीको भार पुनर्बीमा कम्पनीले समेत व्यहोर्ने हुनाले दावी भुक्तानी सहज हुने देखिन्छ ।

२०७२ सालको भुकम्पमा पनि पुनर्बीमा कम्पनीको उल्लेख्य बीमा हिस्साको कारणले भुक्तानी सहज भएको थियो । नेपालमा पेन्सन प्रडक्ट खासै नभएको हुँदा अधिक मृत्युमा हुने प्रडक्ट मिक्स(संयुक्त प्रडक्ट) को लाभ नरहेको अवस्था छ । समयमा र सहज रुपमा गरिने दावी भुक्तानी ग्राहकको विश्वासमा खरो उत्रने उत्तम अवसर पनि रहेकोले कम्पनीको भावी व्यवसायमा समेत यसको प्रभाव रहन्छ ।

जीवन बीमा व्यवसायमा प्रभावः
महामारीको अवस्था रहेमा आर्थिक तथा व्यवसायिक क्षेत्रमा प्रभाव पर्ने र मानिसहरुले जागिर गुमाउनेछन् । आधारभुत आवश्यकताको व्यवस्था गर्न केन्द्रित हुने अवस्थामा आउने र नयाँ जीवन बीमाको व्यवसायमा प्रतिकुल असर पर्ने हुन सक्छ । साथै विद्यमानमा चालु रहेका बीमालेखहरुको नविकरणमा समेत असर पर्ने हुन जान्छ । यसै गरी आधारभुत आवश्यकताको लागि समर्पण गर्ने र बीमालेख धितोमा ऋण लिने ग्राहकको संख्या समेत वृद्धी हुन सक्छ । कोरोना भाईरसको प्रभाव मानव जीवनमा लामो समय रहने अवस्था आएमा र यसले हालको मृत्युदर तालीकाको आधारमा उल्लेख्य रुपमा फरक पारेमा हाल उपलव्ध भएका र नयाँ बीमा योजनाहरुको प्रिमियममा समेत सोही बमोजिम फरक परी बीमा व्यवसायमा यसको प्रभाव पर्नेछ ।

लगानी र व्याज आम्दानी प्रभावः आर्थिक क्षतिको हिसाबले विशेष गरि व्यवसायिक जस्तै पर्यटन तथा होटल उद्योग, पूँजीबजार, हवाई सेवा, कलकारखानाहरु, वैदेशिक रोजगारी लगायतका धेरै जसो क्षेत्रमा तत्कालिन र मध्यकालिन आर्थिक प्रभाव परि सकेको अवस्था छ । व्यवसायिक र आर्थिक अवस्थामा परेको प्रतिकुल प्रभावले बैंकिङ गतिविधि अनि ब्याजदरमा पर्न जाने असरले बीमा कम्पनीहरुको लगानीमा प्राप्त हुने  ब्याज आम्दानीलाई प्रत्यक्ष असर गर्दछ । बैंकको लगानी व्यक्तिगत र व्यवसायिक ऋणमा रहेकोले सोको प्रभावको अवस्थाले समेत बैंकको वित्तिय अवस्थामा असर गर्दछ ।

हाल प्रायः बीमा कम्पनीहरुको करिब ९०/९५ प्रतिशत लगानी बैकमा रहेकोले यसको प्रत्यक्ष प्रभाव पर्ने देखिन्छ । यसले बीमा कम्पनीको हालको लगानी प्राथमिकता र लगानी नितीमा समेत पुनरावोलोकन गर्न पर्ने हुन सक्छ । साथै बीमा व्यवसायमा हुन सक्ने असर र दाबी भुक्तानीमा हुन सक्ने वृद्धीले समेत लगानीकोे वृद्धी कमी हुन्छ र कम्पनीको लगानीको पोर्टफोलियो वृद्धीमा प्रभाव पर्दछ ।

तरलता र सोल्भेन्सीमा प्रभावः बीमा कम्पनीहरु विशेष गरि जीवन बीमा कम्पनीहरुले आफनो दिर्घकालीन दायित्वको भुक्तानी हुने योजना बमोजिम लगानी दिर्घकालीन क्षेत्रहरुमा गर्ने हुनाले तत्काल सृजाना हुन सक्ने दावी भुक्तानी सम्वन्धि दायित्वको लागि तरलता व्यवस्थापनको चुनौती र सोको प्रभाव समेत रहन्छ । यस अवस्थालाई विषेश अवस्थाको रुपमा मुल्यांकन गरि तरलताको व्यवस्था गर्नु पर्ने हुन्छ । यस अवस्थाको दावीको दायित्व र अन्य संचालन खर्च लगाएको जोखीमले सो व्यवस्थापनको लागि आवश्यक न्युनतम सोल्भेन्सि मार्जिन १५० प्रतिशतको व्यवस्थामा पार्ने प्रभाव समेतले कम्पनीको वित्तिय अवस्थामा असर गर्दछ ।

व्यवस्थापन र संचालन प्रभावः यस परिस्थितीमा ग्राहकलाई उचित समयमा सेवा (विशेष गरि दावी, समर्पण, बीमालेखमा) दिन आवश्यक संख्यामा मानव संसाधन, भौतिक पुर्वाधारको यथोचित व्यवस्था, उचित तरलताको व्यवस्था, पुनर्बीमकसँगको दावी भुक्तानीमा समन्वय सहितको व्यवस्थापकीय तयारी गर्नु पर्ने हुन्छ । यसको साथै कम्पनीको व्यवसायको अवस्था, नियमित र निश्चित खर्चको भारको प्रभाव मुल्यांकन गरि आवश्यक कदम चाल्नु पर्ने हुन्छ । साथै कम्पनीले अपरेसनल जोखिम, वित्तिय जोखिम, लगानी जोखिम, तरलता जोखिम, बिमा दायित्व जोखिम लगाएतका विभिन्न सम्भावित जोखिमको पनि यथोचित मुल्यांकन गरि उचित व्यवस्थानमा ध्यान दिनु जरुरी हुन्छ ।

२०७२ सालको विकासकारी भूकम्पको समयमा मृत्यु दावी भुक्तानी प्रकृयालाई सरलिकृत गरिएको अवस्थालाई विचार गरि यस सम्वन्धमा आवश्यक र समन्वयकारी सरल प्रक्रियाले ग्राहकहरुलाई सहज सेवा दिन मदत गर्दछ ।
ग्राहक सेवामा प्रभावः यस परिस्थितीको लकडाउनको अवस्थाले ‘वर्क फ्रम होम’को संस्कृतीको विकासमात्र होईन नयाँ व्यवहारिक आधार समेत तय गर्ने र हालको सोँच र व्यवस्थापन पद्धतिमा समेत विश्वव्यापी रुपमा आमुल परिवर्तन तर्फ अगाडी बढ्ने देखिन्छ । यसमा प्रविधीको व्यापक प्रयोग र आधुनिक एवं नविनतम श्रोत र साधनको अधिकतम उपयोग गरि ग्राहक सेवाको स्वरुपमा उल्लेख्य परिवर्तन हुने आधार देखिन्छ । विकसित देशमा अधिक मात्रामा प्रचलनमा रहेको टेली (टेलिफोनबाट दिइने सेवा) सर्भिस, डिजिटल सर्भिस जस्ता सेवाको विकास हुन्छ ।

कम्पनीको नाफामा र नेटवर्थमा प्रभावः  बीमा कम्पनीको व्यवसाय, लगानीबाट हुने आम्दानीको अवस्था, दावी भुक्तानीको मात्र र व्यवस्थापन खर्चको कारणले कम्पनीको नाफा र नेटवर्थमा केही समय प्रभाव पर्न सक्ने देखिन्छ ।

कारोना पछीको अवसर:-
यो विश्वव्यापी महामारी नेपालको लागी महत्वपूर्ण अवसरको रुपमा आउने सम्भावना समेत देखिन्छ । यसको अवस्था र असर समग्र नेपालमा सामान्य रहने अनुमान अनुसार यसले बीमा क्षेत्रको वृद्धीमा निम्नानुसारको सम्भावनाहरु देखिन्छ ।

१) भुकम्पपछी सरकारको बीमा प्रतिको बुझाईमा केही परिवर्तन भई प्राथमिकता र आवश्यकताको महसुस यस महामारीबाट हुन सक्ने अवस्थाले सरकारलाई यसको थप आवश्यकता र भूमिकाको महत्व र प्रभाव पर्ने देखिन्छ । बीमा व्यवसायमा सरकारको प्राथमिकता पाउन सके यस क्षेत्रको समग्र विकासमा सहयोग पुग्ने देखिन्छ ।
२) यसै गरी भुकम्पपछी सर्वसाधारणमा जिउधन तथा सम्पत्तिको जोखिम व्यवस्थापनको बारेमा बुझ्न र बुझाउन सहज भएको र बीमा प्रति केही सकारात्मक अवस्था सृजना भएकोमा कोरोना महामारीले हुन सक्ने अवस्थाले विषेश गरि जीवन बीमा गर्ने ग्राहकहरुको चिन्ता र जोखिम व्यवस्थापनकोे लागी बीमा व्यवसायको वातावरण सकारात्मक हुनेछ । मानिसको जीवन र सम्पत्तिमा जोखिम कुनै पनि समयमा आउन सक्ने कुुराको प्रत्यक्ष अनुभूति मानिसहरूमा हुनु नै बीमा व्यवसायको लागि सकारात्मक पक्ष हो ।
३) विषम अवस्थामा गरिने बीमा दाबी वापतको भुक्तानीले ग्राहकहरुको दुःखको साथी हो भन्ने कुराको विश्वासमा थप भुमिका खेल्ने हुँदा बीमा व्यावसायको लागि सकारात्मक वातावरण निर्माण हुने देखिन्छ । यो परिस्थितीले सृजना गरेको अवसर पनि हो, जसमा बीमा कम्पनीहरुले आफ्नो उदेश्य र प्रतिवद्धता अनुसारको काम गरेर देश र ग्राहकको सेवा गरी यस विपत्तिमा साथ र सहयोग गर्नेछ ।
४) व्यापक रुपमा मेडिकल तथा हस्पिटल सेवाको विकाशसंगै मानिसहरुको जीवन र बीमा प्राप्ती प्रकृया सहज हुने हुँदा बीमाको बजार वृद्धीमा सहयोग पुग्ने देखिन्छ ।
५) विश्वव्यापी सोँचमा कम्पनीहरुले कार्यालय व्यवस्थापनको लागि नविनतम प्रयोग समेत विकास भई प्रविधीको माध्यमले बीमा व्यावसाय विकास र ग्राहक सेवा विस्तारको सहज र सुलभ हुनेछ । कम्पनीले जोखिम व्यवस्थापनको लागि अपनाएको साधनहरुको व्यवहारिक प्रयोग गरि सो सम्वन्धमा आवश्यक अद्यावधिक नितिगत सुधार गर्न समेत अवसर मिल्दछ ।
६) यस प्रकारको महामारीका लागि विश्व नै तयार नरहेको वर्तामान अवस्थाले भविश्यमा समग्र देश, मेडिकल लगाएतका प्रभावित क्षेत्रहरुले आफनो आधार र क्षमता वृद्धी गरी तयारी अवस्था रहँदा यसको समग्र लाभ बीमा क्षेत्रले जीवन बीमा तथा स्वास्थय उपचार बीमामा उल्लेख्य रुपमा हुनेछ ।
७) औषधोपचारका बारेमा वर्तमान अवस्था जस्तो परिस्थीतिको चिन्ताले बीमाको आवश्यकता र महत्व बढाएको छ । हस्पिटलको उपलब्धतासंगै अत्यधिक महंगो उपचार जस्ता हरेक व्यक्तिको आवश्यकता र चिन्तासँग जोडिएको विषयले स्वास्थ्य बीमा तथा घातक रोग उपचार बीमा जस्ता नयाँ योजनाप्रति ग्राहकको आकर्षण र चासो बढ्नेछ ।
८) जीवन बीमाको आधारभूत कुरा भनेको लगानीको लागि भन्दा जोखिमको लागि प्रथम प्राथमिकता रहनु पर्ने सिद्धान्तको बुझाई आम सर्वसाधारणमा क्रमशः छाप पर्ने र यसले बीमा क्षेत्रको विकासमा ‘गेम चेन्जर’को अवस्था सिर्जना गर्ने सम्भावना देखिन्छ ।
९) विश्व भरी भएको वातावरण सुधारले मानव जीवन स्वस्थ रही जोखीम न्युन हुनु अवसर हो । कारोनाको प्रभाव हेर्दा रोगी र बढी उमेर समुहमा यसको असर धेरै रहेको, समग्र विश्वको मेडिकल खर्चको करिव ६० प्रतिशत ६० वर्ष भन्दा माथीको उमेर समुहमा उपयोग भएको आजको वास्तविकतामा केही अर्थशास्त्रीहरुले यसलाई उत्पादन लगाएत (मानवताका वाहेक) समग्र हिसावले कोरोना पछिको विश्वमा धेरै अवसर र उत्पादकत्व वृद्धी हुने बताउँछन् ।
१०) अमेरिकमा भएको सन २००१ को ट्वीन टावर आक्रमणको घट्नापछिको वर्षमा बीमा व्यवसायमा उल्लेख्य रुपमा वृद्धी भएको थियो । यसरी विशेष घट्ना र जोखिमको परिस्थीती पश्चात जहिले पनि बीमा व्यवसाय फस्टाएको ईतिहास छ ।

अन्त्यमा, यस विपत्तीको अवस्थाले मानव जीवनका प्राथमिकता र जोखिम व्यवस्थापनको महत्वमा दुरगामी प्रभाव पार्ने क्षेत्रहरु पहिचान हुने र सरकारको सोही बमोजिमको कार्ययोजनाहरु तय हुने हुँदा बीमा क्षेत्रमा दिर्घकालीन रुपमा सकारात्मक प्रभाव पर्ने अवस्था देखिन्छ । हालसम्म विश्वका सवै देशलाई एकै पटक असर गर्ने गरि कुनै विपत्ति नभएकोले कोरोना महामारी पछीको मानिस (बजार र पूँजीको रुपमा)को व्यवहार र सोचमा विश्व भरी परिवर्तन आउने जानकारहरुको भनाई समेत रहेको छ । कम्पनीहरुले पनि सोही बमोजिम मानव जीवनका प्राथमिकता र नविनतम आवश्यकताहरु अनुसारको जोखिम व्यवस्थापनका उपायहरु सहितको सेवाको स्तरमा सुधार गर्न सके बीमाको भविष्य थप राम्रो हुनेछ ।(लेखक सिटिजन लाइफका प्रमुख कार्यकारी अधिकृत तथा जीवन बीमक संघका सचिव समेत हुन्)

Advertisement

Advertisement

Advertisement