मेगा बैंकले कोरोना रोकथाम कोषमा रु. एक करोड ३५ लाख सहयोग गर्ने

Advertisement

काठमाडौं । मेगा बैंकले कोरोना भाइरस रोकथामका लागि स्थापना गरिएको कोषमा एक करोड ३५ लाख रुपियाँ सहयोगको घोषणा गरेको छ ।

कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचारका लागि केन्द्रीय सरकारले स्थापना गरेको कोषमा एक करोड रुपियाँ र सातै वटै प्रदेशले स्थापना गरेको कोषमा ५–५ लाख गरी जम्मा एक करोड ३५ लाख रुपियाँ सहयोग गर्ने निर्णय मेगा बैंक सञ्चालक समितिले गरेको हो । सहयोग रकम केन्द्रीय र प्रदेश सरकारको कोषमा जम्मा गरिने मेगा बैंककी प्रमुख कार्यकारी (सीईओ) अधिकृत अनुपमा खुञ्जेलीले जानकारी दिइन् ।

सीईओ खुञ्जेलीका अनुसार संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत मेगा बैंकले गर्ने यो सहयोग रकमभित्र मेगा बैंकका १२ सय भन्दा बढी कर्मचारीका साथै सञ्चालक समितिका सदस्यहरुले पनि व्यक्तिगत योगदान गर्नेछन् । जसअन्तर्गत सहायक तहका कर्मचारीले २ दिनको तलब, अधिकृत तहका कर्मचारीले ३ दिनको तलब, प्रबन्धक तहका कर्मचारीले ४ दिनको तलब र उच्च व्यवस्थापन तहले ५ दिनको तलब बराबरको रकम करिब ३० लाख ८७ हजार रुपियाँ प्रदान गर्नेछन् ।

त्यसैगरी सञ्चालक समितिका प्रत्यक सदस्यले रु. २५ हजार सहयोग गर्दै एक लाख ७५ हजार रुपियाँ प्रदान गर्नेछन् । ‘कोरोना भाइरस संक्रमणको रोकथाम, त्यसको नियन्त्रणका साथै उपचारका लागि देशव्यापी रुपमा केन्द्रीय सरकार र प्रदेश सरकारले चालिरहेको अभियानमा ऐक्यबद्धतास्वरुप हामीले यो सहयोग गरेका हौं, यो खतरानाक भाइरसको उपचारबाट कोही पनि वञ्चित हुन नपरोस् भन्ने हाम्रो कामना छ’– खुञ्जेली भन्छिन् ।

Advertisement

Advertisement

Advertisement