औद्योगिक क्षेत्रमा लकडाउन खुकुलो, भित्रै क्वारेन्टाइन बनाएर उद्योग चलाउन पाइने

Advertisement

काठमाडौं । सरकारले औद्योगिक प्रतिष्ठानहरुका लागि लकडाउन खुकुलो बनाएको छ । बिहिबार बसेको कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरिय समन्वय समितिको बैठकले औद्योगीक क्षेत्रमा लकडाउनलाई खुकुलो पार्ने निर्णय गरेको हो ।

सरकारका प्रवक्ता तथा सञ्चार मन्त्री डा. युवराज खतिवडाले औद्योगीक प्रतिष्ठानहरुले उद्योग भित्रै क्वारेन्टाइन बनाएर स्वास्थ्यका मापदण्ड पुरा गरेमा उद्योग सञ्चालन गर्न दिने निर्णय गरिएको जानकारी दिए । त्यसका लागि उद्योगहरुले भित्रै क्वारेन्टाइन बनाउनुपर्ने, स्वास्थ्यका मापदण्ड पुरा गर्नुपर्ने तथा बाह्य आवागमनलाई पूर्णतः रोक्नुपर्नेछ ।

‘उद्योग भित्र कामदारलाई सुरक्षित राखेर, स्वास्थ्यका मापदण्ड पुरा गरेमा चलाउन दिने निर्णय भएको छ । त्यसका लागि बाहिरी आवागमन बन्द गर्नुपर्छ त्यसपछि स्थानीय प्रशासनले सञ्चालन हुन दिने व्यवस्था मिलाउँछ ।’, अर्थमन्त्री समेत रहेका सरकारका प्रवक्ता डा. खतिवडाले सञ्चारकर्मीहरुसँग भने ।

उनले खाद्यान्न तथा अत्यावश्यक वस्तु उत्पादन गर्ने उद्योगहरुलाई उच्च प्राथमिकतामा राखेर सुरक्षित ढंगले सञ्चालनको व्यवस्था गर्न खोजिएको पनि बताए । त्यस बाहेक अन्य सबै खाले उद्योगहरुले मापदण्ड पुरा गरेमा सञ्चालनको अनुमति पाउनेछन् ।

मन्त्री डा. खतिवडाले औषधी, खाद्य सामग्री र इन्धन लगायतका अत्यावश्यक सामग्रीहरुको आपूर्ति र आन्तरिक उत्पादनको अवस्था सरकारले लेखाजोखा गरेको र ढुवानीका लागि सहज वातावरण बनाईरहेको पनि बताए ।

Advertisement

Advertisement

Advertisement