कोरोना संक्रमित देखेपछि एम्बुलेन्स चालक भागे, तर स्वास्थ्य कार्यालय प्रमुखले अस्पताल पुर्याए

Advertisement

काठमाडौं । गत ४ चैतमा बेल्जियबाट आएकी बाग्लुङकी ६५ वर्षीया वृद्धामा कोरोना संक्रमण देखिएपछि बिहीबार बेलुका अस्पताल भर्ना गरिएको छ । कोरोनाको लक्षण नदेखिएको भन्दै उनी घरमै बस्दै आएकी थिइन् । संक्रमण भएको रिपोर्ट पोजेटिभ आएपछि उनलाई विहीबार राति धौलागिरी अञ्चल अस्पतालमा भर्ना गरिएको छ ।

तर, अस्पताल लैजान त्यति सहज भने भएन । उनलाई लिन नेपाल रेडक्रस सोसाइटी बागलुङका एम्बुलेन्स चालक जान नमानेपछि स्वास्थ्य कार्यालय बागलुङका प्रमुख सुरज गुरौले आफ्नै चालक रुद्र पराजुलीलाई लिएर विरामी लिन पुगेका थिए ।

मेयरदेखि सिडिओसमेत पन्छिएपछि स्वास्थ्य कार्यालयका प्रमुख गुरौ अग्रसर भए । पिपिई लगाएर उनले वृद्धालाई आफ्नै गाडीमा राखेर अस्पताल पुऱ्याएका हुन् ।

ती वृद्धा छोरी भेट्न बेल्जियम गएकी थिइन् । कतार एयरको क्युआर– ६५२ विमानबाट उनी ४ चैतमै फर्किएकी थिइन् । सोही दिन उनी यति एयरलाइन्समार्फत पोखरा गएकोमा त्यहाँबाट स्कार्पियोमा बाग्लुङ गएकी थिइन् । बाग्लुङकै अर्की कोरोना संक्रमित युवती र उनी सँगै फर्किएका थिए ।

बाग्लुङकी पहिलो संक्रमितको परिवारमा संक्रमण देखिएको छैन । बिहीबार संक्रमण पुष्टि भएकी वृद्धाको परिवारको पनि परीक्षण गर्न लागिएको छ ।

नयाँपत्रिका दैनिकबाट ।

Advertisement

Advertisement

Advertisement