कोरोना उपचार सामग्री किन्न सेनालाई दिने निर्णयमा नेकपा नेताको कटाक्ष

Advertisement

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) का केन्द्रीय सदस्य तथा विदेश विभाग उपप्रमुख विष्णु रिजालले कोरोना भाइरसको उपचार सामग्री किन्न सेनालाई दिने सरकारको निर्णयप्रति आपत्ति जनाएका छन् ।

नेता रिजालले सामाजिक सञ्जल फेसबुकमा स्टाटस लेख्दै उपचार सामग्री किन्ने काम सेनाको होइन, यसबाट सेनामाथिको नागरिक नियन्त्रण कमजोर हुने उल्लेख गरेका छन् ।

‘हुरीबतास आयो, घर बनाउने जिम्मा सेनालाई । महामारी आयो, औषधी किन्ने जिम्मा सेनालाई । ठूलो बजेट भयो, बाटो बनाउने जिम्मा सेनालाई । यो सेनाको यो कामै होइन र यसबाट सेनामाथिको नागरिक नियन्त्रण कमजोर हुन्छ । सेनामा अख्तियारले हेर्न नपाउने भएकाले लिने/दिने दुबैलाई सहज लाग्ला तर यसबाट हाम्रो प्रणााली कमजोर हुन्छ । दीर्घकालीन रुपमा सोचौँ ।’ नेता रिजालले आज सामाजिक सञ्जालमा लेखेका छन् ।

उपप्रधानमन्त्री तथा रक्षामन्त्री इश्वर पोखरेल संयोजक रहेको उच्चस्तरीय समितिको हिजो बसेको बैठकले कोरोनाको उपचार सामग्री ‘जी टु जी’ मा किन्ने सरकारको तयारी रहेको अर्थमन्त्री तथा सरकारका प्रवक्ता डा. युवराज खतिवडाले जानकारी दिएका थिए । सो को जिम्मा नेपाली सेनालाई दिन सकिने पनि समितिका सदस्यहरुले संकेत गरेका थिए ।

Advertisement

Advertisement

Advertisement