पशुपतिनाथले मुलुकको रक्षा गरे अर्कै कुरा होला, नभए आर्यघाट धेरै टाढा छैनः उपाध्याय

Advertisement

नेपालका जनता मगन्ते हैनन् । तिनलाई पटके पैसा वितरणको खाँचो हैन, सशक्तिकरण र दीगो जिविकापार्जनको खाँचो हो । संकटमा दुईचार पैसा फालेर एकै छिनको कष्ट त हट्ला तर जीविकोपार्जनको पिर जीवनपर्यन्त रहिरहन्छ ।

सरकार क्षणिक राहतमा रूमल्लियो भने जनताको दिगो समस्यालाई कसले हेर्छ ? दानी दयालुहरूले दिने त सान्त्वना र सामान्य सहयोग मात्र हो । पैसाले जटिल समस्या समाधान गर्न सक्दैन, पद्दतिले हो जीवनको गंभीर समस्यालाई समाधान गर्ने । सरकार दीगो समाधानमा लाग्नुपर्छ । सबैले सरकारलाई त्यसमा सहयोग गर्नुपर्छ, सरकारले सहकार्य गर्नुपर्छ । सार्वजनिक समस्या ब्यवस्थित गर्ने कार्यमा सरकारको केन्द्रीय भूमिकाको विकल्प हुँदैन ।

मुलुक जति लथालिंग हुँदै गरे पनि, जति आलोचित हुँदै आए पनि मुलुक आजसम्म धानिएको टिकेको यहाँका कर्मचारीतन्त्र खासगरी दह्रो निजामति सेवाले नै हो । अहिले संघीयतामा त्यो दह्रो मेरूदण्ड दह्रो भाँचिन लागेको छ । कर्मचारीतन्त्र नै यथार्थमा सरकार वा स्थायी सरकार हुन्छ र अहिले त्यो अस्थायी सरकारमा परिणत हुने भीरमा बल्ड्यांगबाजी खाँदैछ । कर्मचारीतन्त्रको भिजन, दृष्टिकोण र रणनीति शून्यमा झरेको छ र यसका भिजनरी नेता र संरक्षक कोही दृष्टिगोचर छैनन् । करोनाले छताछुल्ल हुन पुगेको छ । भारत स्वतन्त्र भएपछि बल्लभभाई पटेल र नेहरू जस्ता कर्मचारीतन्त्रका भिजनरी नेताहरूले भारतीय कर्मचारीतन्त्रलाई फौलादी तन्त्र बनाएका थिए ।

नेपालको कर्मचारीतन्त्र स्थापनाका टंकप्रसाद आचार्य नै आजसम्मका अग्रणी भिजनरी नेता हुन् । उनकै पालामा निजामती ऐन, प्रशासन व्यवस्था ऐन, विकास समिति ऐन जस्ता प्रशासन एवम् विकासका आधारभूत कानुन जारी भई आजसम्म मुलुकले दह्रो कर्मचारीतन्त्र पाएको हो । बहुदल आएपनि यही कर्मचारीतन्त्र निरन्तर ध्वस्त हुदै संघीयतामा पुग्दा आर्यघाट पुग्न लागेको छर्लंग हुँदैछ । पशुपतिनाथले मुलुकको रक्षा गरे अर्कै कुरा होला, नभए सानो संकट आयो कि कर्मचारीतन्त्रका साथमा अब अरू सबै पनि आर्यघाट जाने दिन धेरै टाढा देखिन्न ।

संघीयतामा जसरी कर्मचारीका पचासौं वर्ष अनुभव संस्कृति पद्दति र स्थायित्व भएका संगठनहरू विघठित हुन पुगेका छन्, यसले सरकारहरू र जनताले सेवा दिन, लिन हम्मे पर्ने अवस्था टड्कारो देखिदैछ । हिजोसम्म पाईरहेको सेवाको स्तरमा पनि अहिले सेवा पाउन नसकेपछि दिक्दारीका कारण सबै नेता र जनताले कसैबाट पनि संरक्षण नपाएको मानसिक अवस्थामा पुगेका निरीह कर्मचारीहरूलाई दोष दिंदै हातपात र कालो मोसो दल्ने अवस्था आउनु अब सामान्य घटना हुनेछ । संकटमा नै शासन प्रशासनको परीक्षण हुन्छ।

वर्तमान सरकारले गरेका कतिपय राम्रा राम्रा कामहरूको जस चैं नपाउनु तर गर्दा चुकेका केही ससाना कामका लागि गोरूचुटाई खेदान खानुका मुख्य कारण केही मन्त्रीहरूको अलोकप्रिय थोपडा र बेला कुबेलाका कर्कस बोलीले नै हो । गरेको असल काममा सुनमा सुगन्ध थप्न जनप्रिय काम गर्नेहरूको बचन मीठो हँसिलो र सार्वजनिक मिडियामा प्रस्तुत हुँदा अनुहार पनि अलिअलि प्रिय हुनैपर्छ । नेता भनेको स्मार्ट अभिनेताको पनि नेता हुनुपर्दो रहेछ । (लेखक नेपाल सरकारका पूर्वसचिव हुन् ।)

Advertisement

Advertisement

Advertisement