निजामुद्दिन भेलामा सहभागी एक नेपालीमा कोरोना संक्रमण देखियो

Advertisement

नयाँदिल्ली । भारतको राजधानी नयाँदिल्लीको निजामुद्दिनमा हालै सम्पन्न मुस्लिम धार्मिक भेलामा सहभागी एक नेपालीमा कोरोना भाइरस (कोभिड–१९)को संक्रमण देखिएको छ । उक्त भेलामा सहभागी भएका पर्सा निवासी ६६ वर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको हो । उनी दुई साताअघि मात्र हरियाणाको अम्बाला पुगेका थिए ।

भेलाका अन्य दश जना सहभागीसहित उनी हरियाणाको अम्बालाको महेशनगरस्थित मस्जिदमा बस्दै आएका थिए । उनीहरु दुई साताअघि बंगेलवाली मस्जिदमा भएको तबलिगी समुदायको अन्तर्राष्ट्रिय भेलामा सहभागी थिए । अम्बाला पुगेका सबै नेपाली पर्सा जिल्ला रहेका छन् ।

दिल्ली, आन्ध्र प्रदेश, तमिलनाडु, तेलांगनामा विगत केही दिनयता पहिचान भएका कोरोना संक्रमित सबैजसो तबलिगी भेलाका सहभागी भएको खुले छि भारतको गृहमन्त्रालय र मातहतका निकायले उक्त भेलाका सबै सहभागीहरुको खोजीलाई तीव्रता दिएको थियो । त्यही क्रममा प्रहरीले महेशनगरको मस्जिदमा छापा मारेपछि त्यहाँ नेपाली आठ, श्रीलंकाका एक र बाँकी दुई जना भारतकै राजस्थान र आसामका नागरिक बस्दै आएको खुलेको थियो । त्यसपछि उनीहरु सबैलाई प्रहरीले नियन्त्रणमा लिएर क्वारेन्टाइनमा पठाएको थियो । कोरोनाको लक्षण देखिएका दुई जना नेपाली र एक श्रीलंकालीलाई भने आइसोलेसनमा राखिएको थियो । र, गत बुधबार उनीहरुको स्वाब संकलन गरेर परीक्षणका लागि पठाइएको थियो । परीक्षणको रिपोर्ट बिहीबार साँझ आएको हो । जसमा ६६ वर्षीय नेपाली पुरुषको कोभिड–१९ भाइरस देखिएको हो । कोरोना देखिएका उनलाई हाल अम्बाला केन्ट अस्पतालको आइसोलेसनमा राखिएको छ ।

कान्तिपुर दैनिकबाट ।

Advertisement

Advertisement

Advertisement