आफ्ना नागरिक नेपालबाट लाने क्रम तीब्र, विदेशमा रहेका नेपालीलाई ल्याउने कुरा भने अनिश्चित

,   २२ चैत्र २०७६, शनिबार, ०४:३८ pm   
QatarAirways_tia_flight

काठमाडौं । युरोपेली मुलुकसहित सिंगापुर र मलेसियाले नेपालमा रहेका नागरिकहरुलाई शनिबार जहाज चार्टर्ड गरेर आफ्ना नागरिक लगेका छन् । फ्रान्स र जर्मनीका छ सयभन्दा बढि नागरिकलाई कतार एयरवेजले लिएर गएको हो भने मालिन्दो एयरले मलेसिया र सिंगापुरका ६६ जनालाई लिएर क्वालालम्पुर गएको हो ।

चेक गणतन्त्रका नागरिक पनि घर फर्किने क्रममा रहेका छन् भने अन्य मुलुकका नागरिकलाई लिन सम्वन्धित देशका जहाजहरु आउने क्रम जारी रहेको छ । त्रिभुवन विमानस्थल कार्यालयका अनुसार काठमाडौं बाहिर रहेका विदेशीहरु काठमाडौं आउने क्रमसँगै सम्वन्धित मुलुकले जहाज चार्टर्ड गरी लैजाने योजना रहेको छ ।

विश्वव्यापी महामारीको रुप लिएको कोरोना भाइरस संक्रमणको वृद्धिसँगै नेपालमा पनि लकडाउन गरिएपछि यहाँ रहेका विदेशी नागरिकलाई सम्वन्धित देशले भकाभक लैजाने क्रम जारी छ । कोरोना फैलिएका मुलुकबाट नेपालीहरुलाई ल्याउन नेपालभित्र चर्को आवाज उठ्न थाले पनि सरकारले त्यसको कुनै तयारी भने गरेको छैन् ।

aecc

पढ्न, रोजगारी आदि सिलसिलामा ५० लाख नेपालीहरु विश्वका थुप्रै मुलुकमा पुगेका छन् । विशेषगरी कोरोनाको प्रभाव बढि देखिएका अमेरिका, इटाली, स्पेन जस्ता मुलुकबाट उनीहरुलाई स्वदेश फर्काउने क्रम सुरु गर्न राजनीति दल, बुद्धिजीवी, नागरिक समाजका अगुवाहरुले सरकारलाई आग्रह गरे पनि सरकारका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले अहिले नै विदेशमा रहेका नेपालीहरुलाई ल्याउने सोच सरकारको नरहेको स्पष्ट पारेका छन् । कोरोना भित्रिन नदिन सरकारले नेपाल भारत सीमामै सयौं नेपालीलाई रोकेर राखेको अवस्था छ ।