'रातो र धेरै माशु खाने पश्चिमा भन्दा आफ्नै उत्पादन र कन्दमुल खाने पूर्वीय बढि रोगप्रतिरोधी छन्'

Advertisement

काठमाडौं । विश्लेषक प्राडा युवराज संग्रौलाले अत्याधिक माशु खाने, घरमा खाना नखाने, गाईगोरु जस्ता जीवजन्तुको रातो माशु खानेमा रोग प्रतिरोधात्मक क्षमता कम हुने कुरा पछिल्लो समयमा विश्वव्यापी महामारी बनेको कोरोना संक्रमणको प्रवृतिले देखाएको बताएका छन् ।

सामाजिक सञ्जालमार्फत उनले आफैले उत्पादन गरेको खाद्यान्न, कन्दमुल खाने र सामाजिक जिम्मेवारीमा बस्ने नेपालसहित दक्षिण एसियाका मुलुकहरुमा कोरोना संक्रमण बढि देखिएको विश्लेषण गर्दै उपभोक्तावादी समाज विश्वलाई नै चुनौति बन्दै गएको तर्क अघि सारेका छन् ।

उनको विचारः
उपभोक्तावाद एउटा डरलाग्दो रोग हो। यो पुँजीवादको प्यारासाइटको रुपमा बाँचेको हुन्छ। यस्ले मानिसलाई म जे भन्छु, त्यही गर भन्छ र मानिसको बिनास भए कुनै सरोकार राख्दैन। बिश्वका अधिकांश सचारमाध्यमहरु उपभोक्ताबादी पुँजीपतीका अधिनमा छन र ती संचारगृह हरेक दिन झुठो सुचना नागरिकलाई दिन्छ्न । नागरिकसँग भएको प्रत्यक पैसा धनीका गोजीमा सार्नु उपभोक्तावादको मुख्य अभिस्ट हो । जब कोरोना भाइरसले आक्रमण गर्यो कतिपय महत्वपूर्ण प्रवृत्तिहरु बाहिर प्रकट भएका छ्न।

१. कहाँ यस्को सबैभन्दा बढी प्रभाव देखियो ? अझ पहिला कहाँ बिस्तारको गति कम देखियो ? भन्ने प्रश्नको उत्तरबाट तथ्यको खोजी गरौँ। नेपाल, भारत, बंगलादेश, पाकिस्तान जस्ता देशहरु, जहाँ मानिसहरु अत्यधिक श्रम गर्छन, बस्ने घर, पिउने पानी र खाने खाना आधुनिक मापदण्डमा अस्वथ मानिन्छ, त्यहाँ कोरोना भाइरसको बिस्तारको गति धेरै कम छ । अधिकांश संक्रमण आयातित छ । किन होला ? भलै गरिबी होला तर मानिसले खाने खाद्यान्न आफ्नै उत्पादन हो । त्यसमा खाद्यान्न हुनुपर्ने सबै तत्वहरु यथाबत छ्न् । त्यसैले होला गरिबमा रोगनिरोध क्षमता बढी देखिएको छ।

२. बिकसित देश, जहाँ म्याक्डोनाल्ड जस्ता कम्पनी र अक्सर मानिसहरु रेस्टुरेन्टमा खाने संस्कार बढी छ, त्यहाँ संक्रमणको गति असामान्य बढी देखिएको छ। घरमा खाना नखाने र अत्याधिक मासुका परिकार, त्यसमा पनि गार्इगोरुको मासु अत्याधिक खाने संस्कार भएका देशमा संक्रमणको गति तीब्र देखिएको छ । चीन, इरान, कोरिया, इटली, स्पेन, फ्रान्स, युके र अमेरिका जहाँ अत्याधिक बढी रातो मासु प्रयोग हुन्छ, त्यहाँ संक्रमण ज्यादा देखिएको छ।

३. गरिब देशहरुमा खाना पर्याप्त नभए पनि उनीहरुले खाने कुरामा विविधता छ। काँचो सागदेखि कन्दमुलसम्म खाँदा शरिरलार्इ चाहिने तत्वले काम गरेको देखियो । तर सीमित किसिमका अधिक खाना खाने मानिसमा संक्रमण ज्यादा देखियो।

४. कथित व्याक्तिवादी स्वतन्त्रताका कुरा गर्ने र ठूलठूला जमातमा सामाजिक अन्तरक्रिया गर्ने देशमा यो समस्या बढी देखियो। अनुसाशन कम्जोर भएका देशमा यो रोगले आतंक मचायो। अमेरिका र इरानलाई दृस्टान्त मान्न सकिन्छ। अमेरिका लकडाउन कार्यान्वयन गर्न असफल भइरहेको छ । तर चीनले सकुशल समस्या समाधान गर्यो । त्यसको कारण अनुसाशन हो। तर अमेरिका र युरोपलाई उनीहरुको उदारवाद समस्या भइरहेको छ ।

५. थोरै जनसंख्या धनी र रास्ट्र गरिब भएका देशहरुमा महामारीको सामना गर्न कठिन हुने रहेछ । धनीहरु समाजिक जिम्मेवारीमा कमजोर हुनेरहेछ्न । उनीहरुको स्वार्थ राज्यका लागि चुनौती हुँदोरहेछ। यो रोगले उपभोक्ताबादी समाजलाइ साच्चिकै चुनौती दिने रहेछ।

Advertisement

Advertisement

Advertisement