‘दुई महिनामा कोरोना नियन्त्रण नभए अमेरिकालाई चीनले उछिन्छ, नेपाललाई ठूलो असर पर्दैन’

,   २३ चैत्र २०७६, आईतवार, १०:३७ pm   
ramesh_poudel

विश्वव्यापी महाव्याधिका रुपमा फैलिएको कोरोना भाइरस(कोभिड १९)ले नेपालीहरुलाई पनि करिब २ हप्तादेखि घर भित्रै बन्दाबन्दीमा राखिदिएको छ । स्कुल, कलेज, कलकारखाना, यातायात, बजार सबै ठप्प छन् । सडकमा सुरक्षाकर्मी परिचालन गरेर बन्दाबन्दी अर्थात लकडाउनको पूर्ण कार्यान्वयनमा सरकार जुटिरहेको छ । स्वास्थ्यकर्मीहरु कोरानो रोकथाम तथा नियन्त्रणका लागि निरन्तर क्रियाशिल छन् । विश्वभर सन्त्रास फैलाईरहेको कोरोना प्रकोपले नेपाली जनजीवनलाई पनि ठप्प पारेपछि अर्थतन्त्रमा पनि त्यसले प्रभाव पार्ने नै भयो । यसै सन्दर्भमा कोभिड १९ ले विश्व व्यवस्थामा पार्न सक्ने प्रभाव र नेपाली अर्थतन्त्रको सम्भावित अवस्था तथा भावी योजनाबारे त्रिभुवन विश्वविद्यालय, अर्थशास्त्र केन्द्रिय विभागका सह प्राध्यापक डा. रमेश पौडेलसँग गरिएको कुराकानीको सार ।

कोरोनाको महाव्याधिसँगै सम्भावित विश्व व्यवस्थालाई कसरी हेरिरहनु भएको छ ?
यतिबेला विश्व कोरोना संक्रमणको महाव्याधीसँग जुधिरहेको छ । अमेरिका र युरोपियन देशहरु सबै भन्दा बढी संक्रमणको चपेटामा परेको देखिन्छ । ठिक यसैबेला कोरोना संक्रमणपछि विश्व व्यवस्था कसको नेतृत्वमा पुग्ला ? अमेरिका नै शक्तिशाली रहन्छ वा चीनले उछिन्छ भन्ने यावत प्रश्नहरु उब्जिएका छन् ।

विश्व शक्तिको केन्द्रमा अमेरिकाको नेतृत्व कायमै रहन्छ वा त्यो ताज खोसिन्छ ? त्यसका लागि यो महाव्याधी कुन हिसाबले पार लाग्छ भन्ने कुराले निर्धारण गर्छ । कोरोनाको संकट पाँच/सात महिना कायमै रह्यो भने अमेरिकाले विश्वको पहिलो शक्तिको ताज हरेक कोणबाट गुमाउने सम्भावना रहन्छ ।

त्यतिबेला अमेरिकालाई चीनले पहिलो आर्थिक शक्तिका रुपमा उछिन्नेछ । तर कोरोनाको संकट कति समय जान्छ भन्ने कुरा अहिले नै भन्न सकिन्न । अमेरिकाले अझै पनि धेरै जनसंख्या भएका शहरमा लक डाउन गरेको छैन् । त्यसले थप क्षति निम्त्याउन सक्ने देखिन्छ । यद्यपी २ महिना भित्र अमेरिकाले कोरोना संक्रमण नियन्त्रण गर्न सक्यो भने अमेरिकालाई चीनको अर्थतन्त्रले जित्न सक्दैन् ।

aecc

तर चीनले आफु विश्वको पहिलो अर्थतन्त्र बन्न सक्षम भएको सन्देश चाँही दिएको हो यतिबेला ?
यस अघि ठूला संकटहरुको केन्द्रमा चीन, जापान जस्ता एसियाली राष्ट्रहरुको भूमिका रहन्नथ्यो । तर यसपाली कोरोना भाइरसको पहिलो संक्रमण चीनमा फेला पर्यो । यसले चीन कोरोना भाइरसको भाइरसको ‘ओरिजिन’ जस्तो देखियो । तर चीनले ३ महिनामै प्रकोप नियन्त्रण गरेर आफ्नो क्षमता प्रस्तुत गरेको छ । यद्यपी उसले एक आर्थिक वर्षको २५ प्रतिशत समय कोरोनाको नाममा खर्चियो । चीनले चुस्त दुरुस्त प्रशासन, बिशेषज्ञतासहितको स्वास्थ्य सेवा, आधुनिक प्रविधि र अनुशासित नागरिकका बलमा कोरोनालाई फैलन दिएन र छोटो अवधीमै नियन्त्रण गर्न सफल भयो ।

त्यसको ठिक विपरिद युरोप र अमेरिकामा न सरकारहरले त्यस्तो चुस्तता प्रस्तुत गरे, न प्रविधिको उपयोग देखियो न त नागरिकमा अनुशासन नै । त्यसकारण यतिबेला युरोपियन र अमेरिकीहरु कोरोनाको प्रकोपबाट बढी प्रभावित भैरहेका छन् ।  कोरोना संक्रमणको महाव्याधि नियन्त्रणमा चीनले देखाएको तत्परताले नयाँ विश्व शक्ति बन्न सक्ने क्षमता विकास गरिसकेको लक्षण भने देखाएको छ ।

कोरोना संक्रमण नियन्त्रणको चीनियाँ, अमेरिकी युरोपियन वा कोरियन, जापानी मोडल भन्न थालिएको छ, हामी कुन अवस्थामा छौं र के गर्नु पर्ला ?
हामीले सबै देशका राम्रा प्रयासहरुबाट पाठ सिक्नु पर्छ, तर अनुशरण गर्नु हुन्न । चीन, अमेरिका र युरोप र एसियाका अरु देशहरुमा देखिएको संक्रमणको क्रमलाई हेर्ने हो भने नेपालमा कोरोनाको प्रकोप फैलने सम्भावना छैन् ।

हामीले उताबाट पाठ सिकेर चाँडै रोकथामका उपाय अपनायौं । अहिलेसम्म जम्मा ९ वटा संक्रमण फेला परेका छन् । नेपालमा ५० औं संक्रमण आउँदा पनि खासै आत्तिने गरि समस्या हुन्न । हामी कहाँ संक्रमित पनि उपचार गराएर घर फर्किएका छन् । समाजमा पनि कोरोनाका कारण सखापै भईन्छ की क्या हो भन्ने त्रास हट्दै गएको छ । यो हाम्रा लागि सकारात्मक पक्ष हो । तर हौसिएर नाका खोल्ने गल्ति भने हामीले हुनुहुन्न ।

अब नयाँ संक्रमण भेटिने सम्भावना कम छ तर अहिले संक्रमण देखिएका व्यक्तिले आइसोलेशनमा नबस्ने काम गरे भने चाँही संक्रमण बढ्न सक्छ । त्यसमा सरकारले सचेतता पूर्वक काम गर्नुपर्छ ।

कोरोनाले नेपाली अर्थतन्त्रलाई कसरी असर गरिरहेको छ ?
अब लकडाउन केहि खुकुलो गर्दै आर्थिक गतिबिधी विस्तारमा ध्यान दिनुपर्छ । अन्तराष्ट्रिय हवाई उडान बन्द गरिरहने, सिमा नाका बन्द गरिरहने तर देशभित्र भने सुरक्षित ढंगले आर्थिक गतिबिधी सञ्चालन गर्ने वातावरण बनाउँदै जानुपर्छ ।

हामीले विश्व इतिहासका केहि घट्नाहरुबाट पाठ सिक्नुपर्छ । जस्तो की सन १९७१ को दशकमा विश्वले तेलको संकट झेल्यो । १९९९ सम्म एसिया क्षेत्रमा वित्तिय संकट निम्तियो, सन २००८ तिर अमेरिकाले वित्तिय संकटको सामना गर्यो । त्यसपछि पनि स्वाइन फ्लु, इबोला, सार्स जस्ता महामारीहरु देखा परिरहे । यी सबै घट्नाहरुमा कि त स्वास्थ्य संकट आईलागेको देखियो कि त वित्तिय संकट मात्रै आईलागेको देखिन्थ्यो । तर कोरोनाले स्वास्थ्य र वित्तिय संकट दुबै एकै पटक निम्त्याईदिएको छ । त्यसकार यो महासंकट हो, महाव्याधि हो ।

अब कुरा आउँछ, हाम्रो आफ्नो देश नेपालको, यस अघि नेपाल अन्तराष्ट्रिय जगतसँग जोडिएको थिएन त्यसकारण अर्थतन्त्रमा खासै ठुलो असर गरेको थिएन् । तर अहिले नेपाल अन्तराष्ट्रियकरण भैसकेको छ । कोरोनाले पर्यटन, होटल, पूर्वाधार, हवाई क्षेत्र, उद्योगमा प्रभाव पारिसकेको छ । अब कच्चा पदार्थको आयातमा कमी आउन सक्छ । देशलाई मुद्रास्फितिमा प्रेसर पर्छ । राजश्व घट्नेछ । रोजगारीका अवसरहरु गुम्दै जानेछन् । तर चुनौतीले अवसर पनि ल्याउँछ ।

चुनौतीले अवसर पनि ल्याउँछ भन्नु भयो, कोरोनाले ल्याउने अवसर चाँही के हो ?
२ महिना लकडाउन गर्नुपर्ने भयो भने सरकारले बिशेष योजना बनाउनुपर्छ । देशको अर्थतन्त्रमा ४० प्रतिशत भन्दा ठुलो हिस्सा अनौपचारिक क्षेत्रको छ । त्यसलाई व्यवहारिक अर्थतन्त्र पनि भनिन्छ । त्यसको फाइदा भनेको अन्तराष्ट्रिय जगतबाट ‘सप्लाई चेन’ आपूर्ति प्रणालीमा असर गर्दा पनि हामीलाई खासै असर गर्दैन् । स्थानीय उत्पादनले अर्थतन्त्र जोगाउन सघाउँछ । विकसित राष्ट्रहरुको जस्तो अर्थतन्त्र ध्वस्त हुन्न  ।

अर्काे कुरा भनेको कोरोनाले हामीलाई आत्मनिर्भर बन्न प्रेरित गर्छ । अब नागरिकहरुले करेसा, कौशी खेति आरम्भ गर्नेछन् । सकैसम्म आवश्यक थुप्र वस्तुहरु आफैं उत्पादन गरेर खानुपर्छ भन्न थाल्नेछन् । खेत, खलियान र करेसाबारीहरु उपयोग हुन थाल्नेछन् । शहरमै पनि घरका कौशीहरुमा तरकारी, फलफुलको खेति गर्ने क्रम बढ्नेछ ।

औद्योगीक रुपमा पनि आन्तरिक कामदार उपयोग गर्ने क्रम पनि अब बढ्छ । आन्तरिक अर्थतन्त्रलाई मजबुत बनाउँदै अनौपचारिक क्षेत्रलाई औपचारिक बनाउन यी सब घट्ना क्रमहरुले सघाउँनेछन् । औषधीजन्य र सरफाई र प्रविधिका क्षेत्रमा आफैं उत्पादन गर्न प्रेरित गर्नेछ । नेपालमै भएका कच्चा पदार्थ, कामदार र शिप प्रयोग गरेर अघि बढ्नुपर्ने मान्यता स्थापित हुँदै जानेछ । शिक्षाका क्षेत्रमा पनि दुर शिक्षा, डिजिटल शिक्षालाई ध्यान दिने क्रम बढ्नेछ, र हामीले बढाउनु पनि पर्छ । व्यवहारिक शिक्षाका लागि पनि अब केन्द्रित हुनुपर्छ । निर्वाहमूखी काममा लागेकाहरुलाई नेपाली शैलीको औचापरिक अर्थतन्त्रमा विकास गर्न सकिन्छ । पुँजीगत खर्चलाई यस्तै तालिमहरुमा लगाउनुपर्छ ।

तपाईको कुरा सुन्दा अब विश्व संरक्षणवाद तर्फ जाने जस्तो देखियो, त्यस्तो सम्भव होला ?
ग्लोबलाइजेशनले धनी देशलाई मात्रै फाइदा पुगेको थियो, तर अब स्थानीय उत्पादन प्राथमिकतामा राख्ने क्रम अब बढ्छ । ठ्याक्कै संरक्षणवाद भन्दा पनि आन्तरिक उत्पादनलाई कम्तिमा बढवा दिनुपर्छ भन्ने मान्यताले अब स्थान पाउनेछ । सरकारले चाहे पनि नचाहे पनि आयात निरुत्साहित गर्ने नीति नागरिकस्तरबाटै पनि उठ्न सक्छ ।

कोरोनापछि नेपालले के सिक्ने, तपाईहरु जस्ता विज्ञहरुले के सिक्ने अनि अर्थतन्त्रलाई कसरी माथी उठाउने ?
कोरोनाले सबै भन्दा धेरै प्रभाव पारेको भनेको पर्यटन क्षेत्र हो । तर अर्थतन्त्रमा पर्यटनको खासै ठुलो योगदान छैन् । अर्थतन्त्रमा ठुलो योगदान भएको कृषिमा कोरोनाले खासै क्षति गरेको छैन् ।

अब सरकारले कृषि क्षेत्रमा ध्यान दिनुपर्छ । उत्पादनको बजार सुनिश्चितता गर्ने कुरा यसैपाली भयो भने अर्थतन्त्रले चाँडै राहत पाउनेछ । मध्यपूर्व र खाडीका नागरिक फर्कनुपर्ने अवस्था आयो भने चाँही समस्या हुन सक्छ । त्यसका लागि रोजगारी र स्वरोजगारीका वैकल्पिक क्षेत्र खोज्न सरकारले अहिलेदेखि नै अध्ययन थाल्नुपर्छ ।
लकडाउनको अवस्थामा अर्थतन्त्र भन्दा पनि रोगको प्रकोप नियन्त्रणलाई ध्यान दिनुपर्छ । कोरोना संक्रमण २ महिना वा ४ महिना लम्बियो भने के गर्ने भन्ने योजना बनाउनुपर्नेछ ।

मानौं, यो समस्या समाधान भएन भने अर्थतन्त्रलाई कसरी अघि बढाउने भन्ने योजना आजकै दिनबाट अघि बढाउनुपर्ने अवस्था छ । अब सरकारले विज्ञहरुसँग छलफल गर्नुपर्नेछ । धेरैसँग सल्लाह गर्दा गल्तिहरु कम हुन्छन् । जसले सरकारलाई समय खेर नफाली प्रतिफल दिने गरि काम गर्न सघाउँछ । अब रोग संक्रमण नहुने गरि आवत जावतलाई अघि बढाउनुपर्ने अवस्था छ । मापदण्ड बनाएर उद्योग धन्दा खोल्नुपर्नेछ । कृषि प्रणालीलाई अलि बढी चलायनमान बनाउनुपर्नेछ ।