भारतमा कोरोनाको जोखिम बढेपछि नेपालमा नाता जोड्दै पाउना लाग्नेको ताँती

Advertisement

विराटनगर । खुला सीमा नाकाको फाइदा उठाउँदै माइती–ससुराली आउनेको लर्को लाग्ने गरेपछि मोरङको दक्षिणवर्ती सीमा क्षेत्रका स्थानीयवासी पिरोलिएका छन् ।

भारतमा कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमणको सन्त्रास बढ्दै गएपछि नेपाललाई सुरक्षित मान्दै पाहुना लाग्न आउनेको सङ्ख्या बढेपछि सीमावर्ती क्षेत्रका नागरिक चिन्तामा परेका हुन् ।

नेपाल–भारतको मुख्य नाका रानी–जोगवनीमा ढाट लागेको छ तर रानीढाट एक किलोमिटर पूर्व मटेर्वा र इस्लामपुरादेखि सुनवर्षी नगरपालिका डायनियासम्म खुला सीमा नाका छ । खुला सीमा नाकाको ६३ किलोमिटर दूरी क्षेत्र दिनभर सुनसान हुने गरे पनि साँझ परेपछि माइती–ससुरालीका पाहुनाको ताँती लाग्ने गरेको छ ।

मोरङको दक्षिणवर्ती क्षेत्रमा बसोबास गर्ने मधेसी समुदायसँग सीमापार भारतीय क्षेत्रको संस्कृतिदेखि ज्वाइँ र बुहारीको नाता छ । वैध र अवैध दुवै खालको व्यापारदेखि नाता सम्बन्ध जोडिएका क्षेत्र भए पनि कोरोना सन्त्रासबाट जोगिन नेपाल आउनेबाट दक्षिणी क्षेत्रका बासिन्दा भने अहिले चिन्तामा छन् ।

नेपालतर्फ नेपाली सुरक्षा निकाय र भारततर्फ भारतीय सुरक्षा निकायको उपस्थिति रहनेगरेका कारण दिउँसो नाका सुनसान रहनेगरेको हो तर साँझ परेपछि दुवैतर्फ खुला हुन्छ । रातभर भने पूरै खुला हुने भएपछि सोही मौकामा नेपाल आउनेको लर्को लाग्ने गरेको सार्वजनिक माध्यमिक विद्यालय जहदाका शिक्षक अजय सिंहले बताए । जहदाको नोचा, डमुरिया र तारिगामा नाकाबाट दैनिक दुई सय ५० को हाराहारीमा नेपाल प्रवेश गर्ने गरेकोे शिक्षक एवं स्थानीयवासी सिंहको भनाइ छ ।

स्थानीयवासीले यसरी सीमा नाका हुँदै आउनेलाई रोक लगाउने प्रयाससमेत गरिसकेका छन् तर नेपालमा रहेका आफन्त भेटघाट गर्न आएको भनेपछि उनीहरूका आफन्तसँग सम्पर्क गर्दै एकिन गरेर छाड्नुपर्ने बाध्यता छ । साँझ परेसँगै लकडाउन खुकुलो गरिएपछि दुवैतर्फका नागरिकको आवत–जावतको बाटो खुल्नेगरेको छ । सीमापारी भारतीय बजारसम्म पुगेर आवश्यक पर्ने सामग्री ल्याउने काम अहिले पनि भइरहेको जहदाका अर्का स्थानीय कैलाश मण्डलले बताए ।

गोरखापत्र दैनिकबाट ।

Advertisement

Advertisement

Advertisement