गभर्नर पाएपछि खोटाङ जिल्लावासी खुशी, इमानदारिताका साथ काम गर्न सुझाव

Advertisement

खोटाङ । नेपाल सरकारले नेपाल राष्ट्र बैङ्कको गभर्नरमा जिल्लावासी महाप्रसाद अधिकारीलाई नियुक्त गरेपछि सामाजिक सञ्जालमार्फत बधाई तथा शुभकामनाको लहर चलेको छ । खोटाङको खोटेहाङ गाउँपालिका–८ सिम्पानीस्थित बर्रे स्थायी घर भएका अधिकारीलाई मन्त्रिपरिषदको सोमबारको बैठकले केन्द्रीय बैङ्कको गभर्नरमा नियुक्त गरेपछि उहाँका आफन्त तथा जिल्लावासी खुशी भएका हुन् ।

सरकारबाट गभर्नरमा नियुक्त हुनुभएपछि खोटाङबाट निर्वाचित प्रतिनिधिसभा सदस्य विशाल भट्टराई र खोटाङवासीले अधिकारीलाई बधाई तथा शुभकामना दिइरहेका छन् । भट्टराईले अधिकारी असाधारण व्यवसायिक क्षमता भएका, इमान्दारिता र निष्ठाका पर्याय तथा अनुभवका खानी भएको जनाउँदै खोटाङको साधारण परिवार र परिवेशमा जन्मेर आफ्नै मेहनत र परिश्रमले महत्वपूर्ण जिम्मेवारीमा पुगेर कुशलता प्रदर्शन गर्ने अपेक्षा व्यक्त गरे ।

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य भट्टराईले इमानदारिताका साथ काम गर्न अधिकारीलाई सुझाव दिए । अधिकारीलाई पाँच वर्षे डेपुटी गभर्नर पदबाट बाहिरिएपछि सरकारले लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत नियुक्त गरेको थियो । खोटाङको दक्षिणी क्षेत्रमा जन्मिएका अधिकारीले भारतबाट चाटर्ड एकाउन्टेन्स अध्ययन पूरा गरेका छन् ।

सन् १९९४ मा राष्ट्र बैङ्कका उपनिर्देशक भएका र डेपुटी गभर्नरबाट अवकाश लिएका अधिकारीको कार्यकाल पाँच वर्षको रहनेछ । नवनियुक्त गभर्नर अधिकारीले खोटाङको सिम्पानी माविबाट विसं. २०३८ सालमा एसएलसी उत्तिर्ण गरेका थिए ।

Advertisement

Advertisement

Advertisement