सत्तारुढ र प्रमुख प्रतिपक्षी दुबैको बैठक आज, नेकपाको सचिवालय, काँग्रेसको पदाधिकारी

Advertisement

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले सचिवालय बैठक बोलाएको छ । पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले मङ्गलबार अपराह्न ४ः०० बजे प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बोलाइएको जानकारी दिए । उनका अनुसार बैठकमा कोभिड–१९ र समसामयिक राजनीतिक परिस्थितिका बारेमा छलफल हुने छ । बन्दाबन्दी (लकडाउन) पछि पहिलोपटक नेकपाले बैठक बोलाएको हो ।

यता, प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको पदाधिकारीको बैठक आज बिहान १० बजे पार्टी सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बस्दैछ । कोरोना भाइरसको सङ्क्रमण रोकथाम तथा उपचारका लागि मुलुकभर लकडाउन लागू भएपछि काँग्रेस पदाधिकारी बैठक पहिलोपटक बस्न लागेको हो ।

बैठकमा कोरोना भाइरस सङ्क्रमणको रोकथाम तथा उपचारमा सरकारका तर्फबाट भएका काम–कारवाही र पार्टीका तर्फबाट गर्न सकिने योगदानलगायत समसामयिक विषयमा छलफल हुने प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।

काँग्रेसको पदाधिकारीमा सभापति देउवा, उपससभापतिद्वय विमलेन्द्र निधि र विजयकुमार गच्छदार, महामन्त्रीद्वय डा शशाङ्क कोइराला र पूर्णबहादुर खड्का, सहमहामन्त्री डा प्रकाशशरण महत र कोषाध्यक्ष सीतादेवी यादव छन् भने वरिष्ठ नेता रामचन्द्र पौडेल विशेष आमन्त्रितका रुपमा हुनेछन् ।

Advertisement

Advertisement

Advertisement