साउदीमा चार नेपालीलाई कोरोना सङ्क्रमण, तीन निको भए

Advertisement

काठमाडौँ । कोभिड–१९ का कारण विभिन्न पेशा व्यवसायको सिलसिलामा मुलुकबाहिर रहेका नेपाली पनि प्रभावित भएका छन् । हालसम्म विभिन्न मुलुकमा आठ नेपालीको कोरोना भाइरसका कारण ज्यान गइसकेको छ । अमेरिकामा पाँच, बेलायतमा दुई र संयुक्त अरब इमिरेट्स (युएई)मा एक नेपालीको ज्यान गइसकेको छ । १०० भन्दा बढी नेपाली विभिन्न मुलुकमा कोरोनाको सङ्क्रमणमा परेका छन् ।

नेपालीको प्रमुख श्रम गन्तव्य मुलुक साउदी अरेबियामा हालसम्म चार नेपालीमा कोरोनाको सङ्क्रमण पुष्टि भइसकेको छ । सङ्क्रमण भएकामध्ये तीनजना निको भई काममा फर्किएका रियादस्थित नेपाली दूतावासले जनाएको छ । अन्य एकको भने स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।

निको भएर काममा फर्किएका नेपालीसँग नियमित सम्पर्कमा रहिरहेको दूतावासले जनाएको छ । दूतावासका अनुसार उनीहरुबाहेक थप नेपालीमा कोरोना सङ्क्रमण भएको जानकारी प्राप्त भएको छैन । साउदी अधिकारीहरुले जारी गरेको तथ्याङ्कअनुसार साउदी अधिराज्यमा कोरोना भाइरसबाट सङ्क्रमितको सङ्ख्या दुई हजार ९३२ पुगेको दूतावासले जानकारी दिएको छ । साउदीले कोरोनाको सङ्क्रमण फैलन नदिन मुलुकभर कफ्र्यू लगाएको छ ।

दूतावासले विदेशी नागरिकसँग काम गर्दा, हिँड्डुल, उठबस वा बजार गर्दा पूर्ण सावधानीका साथ गर्न तथा एकअर्काबीच दूरी कायम गर्न त्यहाँ रहेका सम्पूर्ण नेपाली नागरिकमा आह्वान गरेको छ । साउदीमा दुई लाखभन्दा बढी नेपाली कार्यरत रहेको बताइन्छ । रासस

Advertisement

Advertisement

Advertisement