कालोबजारीको आरोपमा पक्राउ परेका सुलभ अग्रवालको मानार्थ अवैतनिक महावाणिज्यदूत पद खारेज

Advertisement

काठमाडौँ । सरकारले नेपालका लागि किर्गिज गणतन्त्रका मानार्थ अवैतनिक महावाणिज्यदूत सुलभ अग्रवालको पद खारेज गर्ने निर्णय गरेको छ । कूटनीतिक सुविधा र विशेषाधिकार प्रयोग गर्दै कालोबजारी गरेको आरोपमा ज्वरो नाप्ने थर्मल गनसहित उनलाई मङ्गलवार पक्राउ गरिएको थियो ।

त्यसपछि बुधवार साँझ एक विज्ञप्ति जारी गर्दै परराष्ट्र मन्त्रालयले नेपालमा रहेका सबै मानार्थ अवैतनिक वाणिज्यदूतहरूलाई उपलब्ध गराइएका केही विशेष सुविधा खोसिएको जनाएको थियो । खोसिएको सुविधामा मानार्थ अवैतनिक महावाणिज्यदूतहरूलाई दिइएको नीलो नम्बर प्लेट र सवारी साधनमा राष्ट्रिय झण्डा प्रयोग गर्न दिने विगतको निर्णय अर्को सूचना नभएसम्मका लागि स्थगित गरिएको परराष्ट्र मन्त्रालयले बताएको थियो ।

परराष्ट्र मन्त्रालयका चिफ अफ प्रोटोकल शाखाले अग्रवालको पद खारेज गरिएको जानकारी किर्गिस्तान सरकारलाई गरिएको जनाएको छ । चिफ अफ प्रोटोकल गेहेन्द्र राजभण्डारीले अग्रवालको पद खारेज गरिएको र यस बारेको जानकारी सम्बन्धित मुलुकलाई कूटनीतिक माध्यमबाट गराइएको जानकारी दिए ।

यसअघि आफ्नो पदीय हैसियत र विशेषाधिकारको दुरुपयोग गर्दै अग्रवाल गैरकानुनी गतिविधिमा संल्गन भएको परराष्ट्र मन्त्रालयले बताएको थियो । मङ्गलवार दिउँसो राजधानीको नक्सालस्थित बालमन्दिरबाट पक्राउ परेका ४५ वर्षका अग्रवाल हाल प्रहरी हिरासतमा छन् ।

कोभिड–१९ को विश्वव्यापी सङ्कटको अवस्थामा ज्वरो जाँच्न प्रयोग गरिने अन्दाजी ३५ सय रुपैयाँ पर्ने थर्मल गनको मूल्य बढाएर १५ हजार रुपैयाँ प्रतिगोटा बेचेको आरोपमा उनलाई प्रहरीले पक्राउ गरेको थियो । शङ्कर ग्रुपका सञ्चालक रहेका अग्रवाललाई उनले प्रयोग गर्ने २०९(एचसीसी नम्बरको कूटनीतिक नियोगको नम्बर प्लेट राखिएको पजेरो गाडी र त्यसको डिकीमा राखिएको ६७ थान थर्मल गनसहित पक्राउ गरिएको प्रहरीले बताएको थियो । (-बीबीसी नेपालीबाट)

Advertisement

Advertisement

Advertisement