काठमाडौं उपत्यकाबाट घर फर्कन दिने सरकारको निर्णय रद्द

Advertisement

काठमाडौँ । सरकारले भोली र पर्सि काठमाडौं उपत्यकाबाट घर फर्कन दिने आजै गरेको निर्णय रद्द गरेको छ । उप प्रधान तथा रक्षा मन्त्री इश्वर पोखरेल नेतृत्वको कोरोना रोकथाम तथा नियन्त्रण समन्वय समितिको बैठकले यस्तो निर्णय गरेको थियो ।

यो निर्णयको आलोचना शुरु भएपछि समितिका संयोजक पोखरेलले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै उक्त निर्णय रद्द भएको जनाएका हुन् ।

उक्त निर्णय भएको डेढ घण्टामै पोखरेलले यस्तो लेखेका छन्:

‘भोली र पर्सी (२८–२९ चैत्र , २०७६) काठमाण्डौं प्रवेश गर्न नपाइने तर काठमाण्डौंबाट बाहिर जान भने खुला गर्ने निर्णय गरिएको ‘ भन्ने समाचार सार्वजनिक संचार माध्यमहरू खासगरी सामाजिक संजालहरूमा आइरहेको सन्दर्भमा ‘ नोभल कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समिति ‘ को गंभीर ध्यानाकर्षण भएकोछ । यस किसिमको कुनै निर्णय नभएको , कोभिड–१९ को संक्रमणबाट राष्ट्रलाई बचाउनुपर्ने आवश्यकतालाई गंभीरताका साथ महसूस गरी ‘वन्दावन्दी’ (लक डाउन) लाई जारी राखिएको, सम्माननीय प्रधानमन्त्री ज्यूले देशवासीहरूका नाममा हालै गर्नुभएको संवोधनमा समेत यसको आवश्यकतालाई गंभीर रूपमा उठाइएको कुरा हामी सबैले सुनेका बुझेका छौं । यो कामलाई सरकारले मात्र नभएर आम नेपाली नागरिकहरूको पनि त्यत्तिकै महत्वका साथ लिनुपर्ने आवश्यकता छ । यस्तो गंभीर परिस्थितिमा त्यस किसिमको निर्णय कसरी हुनसक्छ !? जेसुकै कारणले भए पनि सार्वजनिक गरिएको उक्त समाचारमा सत्यता नभएको जानकारी गराउँदछु ।
–ईश्वर पोखरेल
संयोजक
‘कोभिड१९’ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समिति



सवारीसाधन चल्ने निर्णय भएको छैनः मन्त्री नेम्वाङ
यता, भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङले ‘लकडाउन’ का कारण अलपत्र परेका नागरिकलाई शुक्रबार र शनिबार काठमाडौँ उपत्यकाबाट बाहिर जान दिइने सम्बन्धमा कुनै निर्णय नभएको बताएका छन् ।

सो सम्बन्धमा निर्णय भएको भनी विभिन्न सञ्चारमाध्यममा समाचार प्रकाशित भएपछि मन्त्री नेम्वाङले यस विषयमा निर्णय नभएको प्रष्ट पारेका हुन् । ‘लकडाउन’ को समयमा जनताले दुःख पाइरहेकाले यस किसिमको सुझाव आउनु स्वभाविक भएको उनले बताए ।

आफूले पनि सञ्चारमाध्यमबाट सयौँ किलोमिटर हिँडेरै घर जान लागेको जानकारी पाइरहेको उनले बताए । उनले भने, “आगामी वैशाख ३ गतेसम्म लकडाउन भएकाले त्यसपछिको अवस्था हेरेर थप निर्णय हुनेछ ।”

Advertisement

Advertisement

Advertisement