विद्युतीय कारोबार बढ्यो, लकडाउनको दोस्रो साता ३५ अर्ब ६० करोड फछ्र्यौट

Advertisement

काठमाडौँ । कोरोना भाइरसको सङ्क्रमणबाट जोगिन सरकारले लागू गरेको ‘लकडाउन’को समयमा विद्युतीय कारोबार गर्नेक्रम बढेर गएको पाइएको छ ।

नेपाल क्लियरिङ हाउस लिमिटेडका अनुसार लकडाउनको दोस्रो सातामा रु ३५ अर्ब ६० करोड बराबरको विद्युतीय कारोवारको फछ्र्यौट गरेको छ । जबकी पहिलो सातामा मात्रै रु १८ अर्ब ६० करोड बराबरको कारोवारको फछ्र्यौट गरेको थियो । पहिलो साताको तुलनामा झण्डै दोब्बरले विद्युतीय कारोवारको फछ्र्यौट गरिएको हो ।

लिमिटेडले हाल एनएचसिएल–इसिसी, एनसिएचएल–आइपिएस, कनेक्ट आइपिएस, कनेक्ट आरटिजीएस र एनपीआइ गरी पाँच वटा राष्ट्रिय भुक्तानी प्रणाली सञ्चालन गर्दै आएको छ । त्यसमा नेपाल राष्ट्र बैंकलगायत प्राय सबै बैंक वित्तीय संस्था आबद्ध छन् । सञ्चालनमा रहेका प्रणालीमध्ये इलेक्ट्रोनिक चेक क्लियरिङ (एनसिएचएल–इसिसी) र अन्तर बैंक भुक्तानी प्रणाली (एनसिएचएल–आइपिएस)मा आजदेखि लकडाउनपूर्वको अवस्थाबमोजिमको समयसम्म क्लियरिङ गर्ने व्यवस्था गरिएको छ ।

एनएचसिएल–इसिसीको नियमितरुपमा दिनको एक बजेर ३० मिनेटसम्म जम्मा गरिएका चेक र एनसिएचएल–आइपिएसमा दिनको १ः०० बजेसम्म प्राप्त भएका भुक्तानी आदेश सोही दिनमा फछ्र्यौट हुने व्यवस्था गरिएको छ । सो समयसीमापछि प्रणालीमा आएका कारोवार अर्को दिनमा फछ्र्यौट हुने व्यवस्था रहेको छ ।

एनसिएचएलको कनेक्ट आइपिएसबाट भने साविकबमोजिम चौबिसै घण्टा यसको मोबाइल एप्स, वेबसाइट अथवा बैंक वित्तीय संस्थाका मोबाइल र इन्टरनेट बैंकिङबाट कारोबार गर्न सकिने लिमिटेडले जनाएको छ ।

Advertisement

Advertisement

Advertisement