भारतको सरकारी रेल सेवाद्वारा ‘मास्क’ र ‘सेनीटाइजर’ उत्पादन

Advertisement

नयाँ दिल्ली । भारतको रेल सेवा प्रदायक सरकारी निकायले ‘मास्क’ र ‘सेनीटाइजर’ उत्पादन गरेको छ । देशव्यापी लकडाउन लागु भएपछि रेल यातायात बन्द भएकाले रेल सेवाले ‘मास्क’ र ‘सेनीटाइजर’ उत्पादन गर्न थालेको हो ।

कोरोना भाइरसको सङ्क्रमण फैलिन थालेपछि भारतमा यही अप्रिल १४ सम्मका लागि २१ दिने लकडाउन लागु गरिएको छ । रेल सेवाले अहिलेसम्म झण्डै छ लाख ‘मास्क’ र ‘सेनीटाइजर’ झण्डै ४० हजार लिटर उत्पादन गरेको छ ।

रेल सेवाद्वारा जारी वक्तव्यमा कोरोना भाइरसको सङ्क्रमण थप फैलिन नदिनका लागि रोकथाम गर्न अत्यावश्यक पर्ने सामग्री उत्पादन गर्न लागिएको उल्लेख छ । भारतको स्वास्थ्य मन्त्रालयको प्रयासलाई सम्पूर्ण क्षमताले भ्याएसम्म सहयोग गर्नेगरी काम भइरहेको रेल सेवाले जनाएको छ ।

रेल सेवाका सवै अञ्चल कार्यालय, उत्पादन इकाई लगायतका कार्यालयमा सस्तो र गुणस्तरयुक्त ‘मास्क’ र ‘सेनीटाइजर’ उत्पादन भइरहेको वक्तव्यमा लेखिएको छ । रेल सेवाले यही अप्रिल ७ सम्ममा पाँच लाख ८२ हजार ३१७ मास्क र ४१ हजार ८८२ लिटर सेनीटाइजर उत्पादन गरेको बताइएको छ ।

रेल सेवाका सवै कर्मचारीहरुलाई यी सामग्रीहरु उत्पादनका लागि परिचालन गरिएको वक्तव्यमा जनाइएको छ । उनीहरुलाई कोरोना भाइरसको सङ्क्रमण हुन नदिनका लागि उच्च सतर्कता र सुरक्षा निर्देशनलाई पालना गर्न लगाइएकोे रेल सेवाले स्पष्ट पारेको छ । स्वास्थ्य सुरक्षा निर्देशिकामा सवै कर्मचारीले मास्क लगाउनु पर्ने, सेनीटाइजर वा सावुन पानीले हात सफा गर्ने, सामाजिक दुरी कायम गर्नु पर्नेलगायतका कुरा उल्लेख गरिएको छ । रासस/एएनआई

Advertisement

Advertisement

Advertisement