सार्क कोरोना कोषमा ३० लाख डलर दिन पाकिस्तान तयार

Advertisement

नयाँदिल्ली । पाकिस्तानले कोरोना महामारीविरुद्ध जुध्न घोषणा गरिएको एसियाली सहयोग संगठन (सार्क) कोभिड–१९ आपत्‌कालीन कोषमा तीस लाख डलर दिने घोषणा गरेको छ ।

गत १५ मार्चमा सार्क सदस्य राष्ट्रका प्रमुख र उच्च अधिकारीहरुबीच भएको भिडियो कन्फरेन्समा उक्त कोषको घोषणा गरिएको थियो। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कोषको प्रस्ताव गरेका थिए। भारतीय प्रधानमन्त्री मोदीले १३ मार्चमा कोरोनाविरुद्ध लड्न सार्क मुलुकहरुले एउटा बलियो साझा रणनीति बनाउनु पर्ने प्रस्ताव गर्दै सदस्य राष्ट्रहरु प्रमुखहरुबीच भिडियो कन्फरेन्सको आह्वान गरेका थिए।

मोदीले सोही भिडियो कन्फरेन्समा भारतका तर्फबाट कोषमा एक करोड अमेरिकी डलर दिने घोषणासमेत गरेका थिए। पछि उक्त कोषमा नेपाललगायतका अन्य सार्क मुलुकहरुले पनि सहयोगको घोषणा गरे। नेपालले भने दश लाख डलर दिने घोषणा गरेको छ। तर, पाकिस्तानले भने सुरुदेखि प्रस्तावप्रति समर्थन जनाए पनि सहयोग रुकम घोषणा गरेको थिएन। पाकिस्तानी विदेश मन्त्रालयले बिहीबार एक विज्ञप्ति जारी गर्दै कोषमा रकम दिने सम्बन्धमा सार्क सचिवालयलाई जानकारी गराइएको जनाएको छ। सार्क सचिवालय काठमाडौंमा छ।

कान्तिपुर दैनिकबाट ।

Advertisement

Advertisement

Advertisement