राहतको नाममा गन्हाउने चामल दिएको भन्दै नगरपालिकाको गेटमा पोखियो राहत

Advertisement

परासी । राहतका नाममा गन्हाउनेको चामल दिएको भन्दै पश्चिम नवलपरासीको रामग्राम नगरपालिकाका राहत प्राप्तकर्ताहरुले नगरपालिकाको गेटमा ल्याएर चामल पोखेका छन् ।

कोरोना भाइरसको संक्रमण रोक्ने क्रममा सरकारले लागू गरेको लकडाउनबाट प्रभावित गरिब तथा विपन्नहरुलाई लक्षित गरी वितरण गरिएको चामल गुणस्तरहीन रहेको भन्दै राहत प्राप्तकर्ताहरुले नगरपालिका अगाडी ल्याएर शुक्रबार खाद्यान्न पोखेका हुन् ।

रामग्रामले आजैदेखि राहत बाँड्न थालेको हो । गरिव तथा विपन्नहरुको लागत संकलन गरी राहत बाँडिएको थियो । यसरी उपलब्ध गराइएको खाद्यान्नमध्ये चामल गन्हाएको भन्दै गरिब तथा विपन्नले आफूले पाएको खाद्यान्न नगरपालिकाको गेटमा पोखेका हुन् । उनीहरुले उपलब्ध गराइएको चामलको बोराको तौलसमेत कम रहेको बताएका छन् । राहत वितरण विवादमा परेपछि नगरपालिका कार्यालयले राहत वितरण रोक्ने निर्णय गरेको छ ।

नगरपालिकाले पाँच जनासम्मको परिवारलाई १० केजी चामल, एक केजी दाल, आधा लिटर तेल, आधा केजी सोयाविन र दुई वटा सावुन, तथा दुई जनासम्मको परिवारलाई पाँच केजी चामल र सोही अनुसारका अन्य खाद्य सामाग्री राहत वितरण सुरु गरेको थियो।

वडा नं. ११ का अध्यक्ष बमबहादुर थारुका अनुसार राहत प्याकेट आफूहरुले नभई नगरपालिकाले पठाएअनुसार वितरण गरिएको हो । नगरपालिकाले २५० क्‍वीन्टल चामल परासीस्थित राजेश राइस मिलबाट खरिद गरेको हो । नगरपालिकाले भने अब गुणस्तर जाँचेर मात्रै राहत वितरण गरिने भन्दै अहिले भएको वितरणबारे छानविन गर्न समिति बनाएको छ ।

Advertisement

Advertisement

Advertisement