'भारतमा कोरोना बढिरहेको छ, हाम्रो पनि लकडाउन छिट्टै अन्त्य हुँदैन'

Advertisement

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले लकडाउन तत्काल अन्त्य नहुने स्पष्ट पारेका छन् । सात प्रदेशका मुख्यमन्त्रीसँग कोरोना भाइरस रोकथाम र नियन्त्रणबारे भिडियो कन्फरेन्स गर्दै प्रधानमन्त्री ओलीले लकडाउन छिट्टै अन्त्य नहुने बताएका हुन् । प्रधानमन्त्री ओलीले भने, “भारतमा सङ्क्रमण फैलिने क्रम बढिरहेको देख्दादेख्दै यहाँ लकडाउन खुला गर्ने कुरा हुन सक्दैन । यसमा नरम बनेर लापरबाही नगर्न म आग्रह गर्दछु ।”

ओलीले नागरिकका आधारभूत आवश्यकता पुरा गर्न सबै प्रदेशहरुले थप तदारुकताका साथ काम गर्नुपर्ने जोड दिए । सिंहदरबारस्थित एक्सन रूमबाट प्रधानमन्त्री ओलीले छलफल सञ्चालन गर्दै यसबीचमा रोकथामका लागि भएका प्रयासहरू सकारात्मक नै रहेको र यसलाई अझ समन्वयात्मक ढङ्गले अघि बढ्न जरूरी रहेको बताए ।

प्रधानमन्त्री ओलीले लकडाउन छिट्टै अन्त्य नहुने, सीमामा अझ कडाइ हुने, भावुक कुरा गरेर लापरबाही स्वीकार्य नहुने र सङ्क्रमण फैलिनबाट सबै सचेत हुनु अनिवार्य रहेको स्पष्ट गरेका थिए । उनले सरकारभन्दा भिन्न कुनै संयन्त्र आवश्यक नरहेको स्पष्ट पार्दै सरकार स्वयंले अधिकारका साथ काम गरेको हुनाले १५ दिन घरमा बस्दै बीचबीचमा एकपटक निर्देशन दिएजस्तो गरी सरकारले काम गरोस् भन्ने जस्तो नगर्न आग्रह गरे। उनले स्वयंसेवकहरू स्वयंसेवी भावनाले कार्य गर्ने र त्यसवापत कुनै लाभ नखोज्ने हुनुपर्ने बताए।

Advertisement

Advertisement

Advertisement