कोरोना संक्रमण बढ्दो क्रममा, भारतीय सीमा नाका र विदेशबाट आएकाहरू मुख्य चुनौति

काठमाडौं । नेपालमा पछिल्ला केही दिनयता कोरोना भाइरस (कोभिड–१९)को संक्रमण दर बढेको छ । मुख्यतः भारतीय सीमा नाका र विदेशबाट आएकाहरूका कारण जोखिम बढेको हो । कोरोना परीक्षणको दायरा बढाइए पनि ‘कन्ट्र्याक्ट ट्रेसिङ’ र ‘ट्र्याकिङ’ प्रभावकारी बन्न सकेको छैन । पछिल्ला तीन दिनको अवधिमा पाँच जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमण दर बढ्न सक्ने भन्दै सतर्क रहन चिकित्सकले सुझाएका छन् । ८१ दिनको अवधिमा १४ जनालाई कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । जसमध्ये ११ जना नेपाली नागरिक र तीन जना भारतीय मुलका नागरिक रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।संक्रमितमध्ये एक जना निको भएर फर्किसकेका छन् । संक्रमित भएकाहरू १३ जना सेती प्रादेशिक अस्पताल, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, धौलागिरी अस्पताल र नारायणी अस्पतालमा उपचाररत छन् । संक्रमित १९ वर्षदेखि ६५ वर्ष उमेर समूहका छन् । पछिल्लोपटक सोमबार थप दुई जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । कैलाली र रौतहटमा एक–एक जनामा कोरोना संक्रमण देखिएको हो ।३० चैतमा तीन भारतीय नागरिकमा कोरोना संक्रमण पुष्टि भएको थियो । गत १० माघमा पहिलोपटक चीनको वुहानबाट फर्किएका ३२ वर्षीय युवकलाई कोरोना संक्रमण पुष्टि भएको थियो । हाल उनी उपचारपछि निको भएर घर फर्किसकेका छन् । १७ माघमा पुनः परीक्षण गर्दा उनको रिपोर्ट नेगेटिभ आएको थियो ।राजधानी दैनिकबाट ।