धेरै नेपाली आफ्नो देश फर्किन खोज्दैछन्ः एनआरएनए, अप्रिलपछि निर्णय गछौंः ज्ञवाली

Advertisement

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)ले विदेशमा रहेका धेरै नेपालीको आफ्नो मुलुक फर्किन चाहेको र केहीको अवस्था कठिन बन्दै गएको भन्दै सरकारको ध्यानाकर्षण गराएको छ ।

संघका अध्यक्ष कुमार पन्तले परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई भेटी विदेशमा रहेका नेपालीहरुको अवस्थाबारे जानकारी गराएको हो । भेटमा कठिन अवस्थामा रहेका नेपालीहरुलाई उद्दार र राहत पुर्याउने विषयमा पनि छलफल भएको संघले जनाएको छ ।

विभिन्न मुलुकमा रहेका नेपालीका बारेमा आफूले पनि दूतावासलगायत विभिन्न माध्यमबाट जानकारी लिइरहेको र सरकार यस विषयमा संवेदनशील रहेको मन्त्री ज्ञवालीले बताएका थिए ।

उनले खाडीलगायत मध्यपूर्वका मुलुकमा रहेका नेपालीलाई कुनै सर्त नराखी समान व्यवहार गर्न आग्रह गरेको र त्यसमा सम्बन्धित मुलुकका सरकारले पूर्ण सहमति जनाएको उनको भनाई छ । ज्ञवालीले अहिलेको अप्रिल महिनाभरि जो जहाँ छन्, धैर्यतापूर्वक त्यहीँ रहन आग्रह गर्दै त्यसपछि परिस्थितिको जटिलता हेरी निर्णय गर्ने बताए ।

आफ्ना नागरिकलाई कुनै हालतमा अलपत्र हुन नदिने उनले बताए । ज्ञावाली र अध्यक्ष पन्तबीच तत्काललाई नेपाल सरकार, दूतावास र गैरआवासीय नेपाली संघले मिलेर विदेशमा रहेका नेपालीलाई सहायता पुर्याउने समझदारी भएको संघले जनाएको छ ।

धेरै मुलुकमा दूतावाससँग मिलेर आफूहरुले सहायता पुर्याउने काम गरिरहेको भन्दै संघले यसलाई थप प्रभावकारी बनाउँदै उद्दारका काम पनि समन्वयमा गर्न सरकार र संघ दुवै सहमत भएको जनाइएको छ ।

Advertisement

Advertisement

Advertisement