लकडाउन अवधिमा रु. दुई अर्बको दूध नोक्सान, खपत ७० प्रतिशतले घट्यो

Advertisement

काठमाडौँ । कोरोना भाइरस संक्रमणलाई ध्यानमा राख्दै नेपाल सरकारले गरेको लकडाउन अवधिमा करीब रु दुई अर्ब दूध नोक्सान भएको छ ।

नेपाल डेरी एशोसिएशनले लकडाउनको २१ दिनका अवधिमा रु पाँच अर्बको सामान मौज्दात रहेको जनाएको छ । एशोसिएशनका महासचिव प्रल्हाद दाहालका अनुसार दूध र दुग्धजन्य वस्तुको खपत बढी हुने शहर बजार क्षेत्रमा बस्दै आएका अधिकांश नागरिक गाउँ फर्केकाले दूध र दुग्धजन्य पदार्थको खपत ७० प्रतिशतले घटेको छ ।

दूध र दुग्धजन्य पदार्थको खपत कम भएपछि सातै प्रदेशका अध्यक्षसँग भिडियो कन्फ्ररेन्स गरेर एशोसिएशनले विभिन्न निर्णयसमेत गरेको छ । सरकारले अन्य क्षेत्रका व्यवसायमा जस्तै शून्य ब्याजमा ऋण, भ्याट तथा कर छुट, किसानलाई तत्काल पशुलाई खुवाउने दानाको व्यवस्थापन र दूध खेर जाँदा त्यसको उचित व्यवस्थापन गर्न एशोसिएशनले माग गरेको छ ।

दूध बिक्री नहुँदा किसानलाई दिनुपर्ने भुक्तानी र कर्मचारीको तलबमा समस्या भएको बताउँदै दाहालले सरकारले घरभाडा छुटको घोषणा गरे तापनि कार्यान्वयन नभएको गुनासो गरे । एशोसिएशनले वाग्मती प्रदेश सरकारले राहत प्याकेजमा आधा किलोको दरमा घिउ समावेश गराउने निर्णय गरे जस्तै अन्य प्रदेशलाई समेत राहत प्याकेजमा समावेश गर्न आग्रह गरेको छ । दूधको खपत कम भएपछि दुग्ध उद्योगलाई सामान राख्न भण्डार क्षमतासमेत नभएको उहाँले बताउनुभयो । उहाँका अनुसार पर्याप्त मात्रामा दूध संकलन गर्ने काम भए तापनि बजारमा खपत कम हुँदा उद्योग नै बन्द गर्नुपर्ने अवस्था सिर्जना भएको छ ।

डेरी एशोसिएसनको तथ्यांकानुसार नेपालमा दैनिक ६२ लाख लिटर दूध उत्पादन हुने गरेकामा औपचारिक क्षेत्रमा १७ र अनौपचारिक क्षेत्रमा ३३ प्रतिशत खपत हुँदै आएको तथा कृषक स्वयंले ५० प्रतिशत उपभोग गर्ने गरेका छन् । रासस

Advertisement

Advertisement

Advertisement