‘लकडाउन’को मार परेको अर्थतन्त्रलाई पुनरूद्धार गर्न महासंघको राष्ट्र बैंकलाई विभिन्न सुझाव

Advertisement

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको टोलीले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई भेटी लकडाउनका कारण समस्यामा परेका उद्योग, व्यापार र व्यवसायलाई पुनरुद्दार गर्न विभिन्न सुझावहरु पेश गरेको छ ।

महासंघकी अध्यक्ष भवानी राणाको नेतृत्वमा गएको टोलीले कोरोना भाइरस (कोभिड–१९)को रोकथाम तथा नियन्त्रणका लागि मुलुक लकडाउनमा रहेका कारण उद्योग, व्यापार तथा व्यवसायमा पर्न गएको असर वारेमा ध्यानाकर्षण गराउँदै राष्ट्र बैंकबाट हुनुपर्ने सहयोगका विषयमा विभिन्न सुझावहरु दिएको छ ।

लकडाउन समाप्त भएपछि कम्पनी तथा फर्म खुले पनि नगद प्रवाहको व्यवस्थापन गर्न कम्पनी तथा फर्मलाई अत्यन्त चुनौतिपूर्ण हुने भएकोले बैक तथा वित्तीय संस्थाबाट विभिन्न शीर्षकमा कर्जा स्वीकृत गरी ऋण लिई पौष मसान्तसम्म नियमित कारोबार गरिरहेका बैंक तथा वित्तीय संस्थाका ग्राहक (कम्पनी तथा फर्म)लाई स्वीकृत सीमाभन्दा बढीमा १० प्रतिशतसम्म थप कर्जा दिन सक्ने व्यवस्था तत्कालै गरिनुपर्ने, ऋणीले उक्त थप कर्जा १२० दिनभित्र चुक्ता गर्ने व्यवस्था मिलाइनुपर्ने र यसरी थप कर्जाका कारण डेब्ट इक्वीटी रेसियोमा असन्तुलन भए पनि मान्य हुने व्यवस्था गरिनुपर्ने सुझाव दिएको छ ।

महासंघबाट पेश गरिएका सुझावहरूः

  1. पर्यटन, निर्यात, उत्पादन मुलक र कृषि क्षेत्रको लागि २०७६ चैत्र महिनादेखि कर्मचारी तथा कामदारको एक वर्षको तलब, ज्याला भुक्तानीको लागि कम्पनी तथा फर्म(प्रतिष्ठान)ले दुई प्रतिशत ब्याज दरमा ऋण प्राप्त गर्ने गरी पुर्नकर्जाको व्यवस्था गरिनुपर्ने । उक्त ऋण कम्पनी तथा फर्मले किस्ता बन्दिमा दुई वर्षभित्र तिर्ने व्यवस्था मिलाइनुपर्ने । अन्य सम्पूर्ण साना, मझौला र ठूला कम्पनी तथा फर्म (प्रतिष्ठान)हरुले २०७६ चैत्र महिनादेखि कर्मचारी तथा कामदारको छ महिनाको तलब, ज्याला भुक्तानीको लागि दुई प्रतिशत ब्याज दरमा ऋण प्राप्त गर्ने गरी पुर्नकर्जाको व्यवस्था गरिनु पर्ने । उक्त ऋण कम्पनी तथा फर्मले किस्ता बन्दिमा एक वर्षभित्र तिर्ने व्यवस्था मिलाइनु पर्ने ।

  2.  बैंकको ब्याज लागतलाई न्यूनिकरण गर्न पर्यटन, निर्यात, उत्पादन मुलक र कृषि क्षेत्रको कम्पनी तथा फर्म (प्रतिष्ठान)को एक वर्षको व्याज दुई प्रतिशत ब्याज दरमा हुनेगरी पुर्नकर्जाको व्यवस्था गरिनु पर्ने । उक्त ऋण कम्पनी तथा फर्मले किस्ता बन्दिमा दुई वर्ष भत्र तिर्ने व्यवस्था मिलाइनु पर्ने । साथै, अन्य सम्पूर्ण साना, मझौला र ठूला कम्पनी तथा फर्म (प्रतिष्ठान) को छ महिनाको व्याज दुई प्रतिशत ब्याज दरमा हुनेगरी पुर्नकर्जाको व्यवस्था गरिनु पर्ने । उक्त ऋण कम्पनी तथा फर्मले किस्ता बन्दिमा एक वर्ष भित्र तिर्ने व्यवस्था मिलाइनु पर्ने ।

  3.  मौद्रिक उपकरण लगायत अरू कुनै व्यवस्था गरी सबै प्रकारको कर्जाको ब्याजदर तीन प्रतिशत बिन्दुले घटइनु पर्ने ।

  4.  नेपाल राष्ट्र बैंकबाट २०७६ चैत्र १६ गते जारी भएको निर्देशन भए अनुसार ऋणीले २०७६ चैत्र मसान्त सम्म बुझाउनु गर्नुपर्ने मासिक/त्रैमासिक किस्ता भुक्तानी गरेमा ब्याजमा १० प्रतिशत छुट हुने व्यवस्था टर्म लोनमा मात्र लागु नगरी वर्किङ क्यापिटल लोन र टीआर लोन लगायतका सबै प्रकारका कर्जाहरूको व्याजमा १० प्रतिशत छुट दिइनुपर्ने ।

  5.  उद्योग प्रतिष्ठानको कार्य संचालन गर्न कम्पनी तथा फर्मलाई नगद मौज्दात आवश्यक पर्ने भएकोले हाललाई ऋणीको खाताबाट स्वतः मौज्दात रकम कट्टी नगर्ने व्यवस्था गरिनु पर्ने ।

  6.  हालको सीसीडी रेसियोलाई खुकुलो गर्नुपर्ने ।

  7.  बचत र ऋण बिचको ब्याजदर अन्तरलाई ०.५ प्रतिशत बिन्दुले घटाइनुपर्ने ।

  8.  कोभिड–१९ ले गर्दा विदेशीमा रोजगारीको अवसर घट्ने भएकोले स्वदेशमा नै रोजगारीको संख्या बढाउनु पर्ने सन्दर्भमा लेबर इन्सेन्टिभ, निर्यातमुलक रुग्ण उद्योगलाई सफ्ट लोन प्रदान गरी रुग्ण उद्योग संचालन गर्ने व्यवस्था गरिनु पर्ने ।

Advertisement

Advertisement

Advertisement