कोरोना संक्रमणको शङ्कास्पद दुई नमूना काठमाडौँमा ल्याइयो, हेटौँडामा ४ जनामा ‘आरडिटी पोजेटिभ’

Advertisement

काठमाडौँ । भरतपुर कोभिड–१९ प्रयोगशालामा परीक्षणका क्रममा जिल्लाका दुई नमूना शङ्कास्पद देखिएपछि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौँ ल्याइएको छ । बिहीबार भरतपुर कोभिड–१९ परीक्षण प्रयोगशालामा गरिएको पिसीआर परीक्षणमा दुई जनाको नमूना शङ्कास्पद देखिएको भरतपुर अस्पतालले जनाएको छ ।

बुधबार र्यापिड डायग्नोष्टिक टेष्टका क्रममा एक महिलाको शङ्कास्पद नतिजा आएको थियो । उनी र उनका दुई छोरालाई सोही दिन भरतपुर अस्पतालको आइसोलेसनमा राखिएको थियो । उनीहरुमध्ये आमा र एउटा छोराको नमूना शङ्कास्पद आएको भरतपुर अस्पतालले जनाएको छ । उनीहरुलाई अहिले पनि भरतपुर अस्पतालको आइसोलेसनमा राखिएको छ । चैत ५ गते उनीहरु बेलायतबाट हङकङ हुँदै आएका हुन् । निजहरु राप्ती नगरपालिकाका बासिन्दा भएको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ ।

हेटौँडामा चार जनामा ‘आरडिटी पोजेटिभ’
यता, कोरोना भाइरसको सङ्क्रमण पत्ता लगाउन गरिएको द्रुत परीक्षण विधि र्यापिड डाइग्नोस्टिक टेस्ट (आरडिटी) परीक्षणमा हेटौँडामा चार जनामा कोरोना पोजेटिभ देखिएको छ । हेटौँडा उपमहानगरपालिका वडा नं ४ मा ४० जनामा गरिएको परीक्षणमा चार जनामा पोजेटिभ देखिएको हो ।

हेटौँडामा बिहीबारदेखि शुरु भएको यो विधिको परीक्षणका क्रममा उपमहानगरपालिकाका दुई वडामा ४९ जनाको रगतको नमूना परीक्षण गरिएको थियो । वडा नं ४ मा भने चार जनामा पोजेटिभ देखिएको परीक्षणमा संलग्न मेलानका केन्द्रीय सदस्य उत्सव चौलागाईंले जानकारी दिए ।

परीक्षणका क्रममा ५० वर्षीया एक भारतीय महिलासहित २४, ३२ र ६७ वर्षका तीन जना पुरुष छन् । पोजेटिभ पाइएका पुरुषमध्ये २४ वर्षीय युवा साउदी अरेबियाबाट आएका थिए भने अरु भारतबाट आएका थिए । रक्त नमूनाको परीक्षणमा कोरोना पोजेटिभ देखिएपछि उनीहरुको स्वाब सङ्कलन गरी प्रदेश सरकारद्वारा सञ्चालित प्रयोगशालामा पठाइएको जनाइएको छ ।

कोरोना पोजेटिभ भेटिएका चारै जनालाई हेटौँडा अस्पतालले सञ्चालन गरेको आइसोलेसन कक्षमा राखिएको उपमहानगरपालिकाले जानकारी दिएको छ । वाग्मती प्रदेश सरकारको सहयोगमा उपमहानगरपालिकाले विदेशबाट फर्किएकाको कोरोना परीक्षण शुरु गरेको हो ।

Advertisement

Advertisement

Advertisement