विश्वभर २८ नेपालीको मृत्यु, करिब १२ सय जनामा कोरोना संक्रमण

Advertisement

लन्डन । विश्वभर फैलिएको कोरोना भाइरस महामारी (कोबिड–१९)बाट शनिवार साँझसम्म मृत्यु हुने गैरआवासीय नेपाली (एनआरएन)को संख्या २८ पुगेको छ ।

गैरआवासीय नेपाली संघले संकलन गरेको तथ्यांकअनुसार कोरोना भाइरसको संक्रमणबाट बेलायतमा १७, अमेरिका आठ, युएई दुई, आयरल्याण्ड एक जनाको ज्यान गएको हो ।

संघको स्वास्थ्य समितिका संयोजक सञ्जीव सापकोटाका अनुसार नेपालबाहेक विश्वभर एक हजार १६६ जना गैरआवासीय नेपालीहरु कोरोनाबाट संक्रमित भएका छन् ।

विश्वभर छरिएका गैरआवासीय नेपाली विज्ञ चिकित्सहरुको समूहले तयार पारेको सो तथ्यांक अनुसार २१ देशमा रहेका नेपालीहरु कोरोना भाइरस (कोभिड १९)बाट संक्रमित छन् ।

नेपालमा १९ हजार ५५४ जनामा परीक्षण गरिएकोमा ३१ जनामा कोरोना संक्रमण देखिएको छ भने दुई जना कोरोनामुक्त भएको समितिले जनाएको छ ।

संक्रमित हुनेमा देशमा अमेरिका सात सय, बेलायतमा दुई सय, स्पेन १०, युएई ७१, जर्मनी चार, पोर्तुगल २२, अष्ट्रेलिया ११, आयरल्यण्ड २२, साउदी अरब चार, कुवेत २१, फ्रान्स एक, जापान एक, मलेसिया तीन, म्यानरमार एक, बेल्जियम चार, क्यानाडा तीन, स्वीट्डरल्याण्ड पाँच, मल्टा दुई, हङकंङ एक र नेपाल ३१ जना कोरोना संक्रमित रहेको समितिले जनाएको छ ।

विदेशस्थित बिभिन्न अस्पतालमा कार्यरत नेपाली चिकित्सक, नेपाली कुटनीतिक नियोग, गैरआवासीय नेपाली संघका शाखाहरु तथा स्थानीय संघसंस्थाद्धारा प्राप्त सूचनालाई मुख्य आधारलाई मानेर सो तथ्यांक तयार पारिएको समितिले जनाएको छ ।

विदेशमा कोरोना भाइरसबाट मृत्यु भएकाहरुको परिवारको सहयोगार्थ गैरआवासीय नेपाली संघले आफ्ना शाखाहरुलाई परिचालन गरेको छ । गैरआवासीय नेपाली संघका अध्यक्ष कुमार पन्तका अनुसार विहीवार साँझसम्म दुई दर्जन भन्दा बढी देशमा १० हजारभन्दा बढी कोरोना पीडितको लागि संघले राहत वितरण गरेको छ ।

Advertisement

Advertisement

Advertisement