विदेशमा समस्यामा परेकालाई तत्काल नेपाल ल्याउन सकिन्न, धैर्य गर्नुस्ः परराष्ट्रमन्त्री

Advertisement

लन्डन । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले विदेशमा रहेका नेपाली कोरोना भाइरसको महामारीका कारण समस्यामा परे पनि तत्काल नेपाल ल्याउन सक्ने अवस्था नरहेको स्पष्ट पारेका छन् ।

गैरआवासीय नेपाली संघका प्रतिनिधिहरुसँग सोमबार भिडियो कन्फरेन्स गर्ने क्रममा उनले ‘नेपालमा लकडाउनको अवस्था लम्बिदै गएका कारणले विदेशमा रहेका नेपाललाई तत्काल नेपाल फर्काउन नसकिएको जानकारी दिएका हुन् ।

संघले आइतबार बैठक बसेर समस्यामा परेका विदेशस्थित नेपालीहरुलाई नेपाल फर्काउन पहल गर्ने निर्णय गरेअनुसार आज मन्त्री ज्ञवालीसँग छलफल गरेका थिए । यसअघिको छलफलमा अप्रिलपछि उचित निर्णय गर्ने बताएका ज्ञवालीले आजको बैठकमा तत्काल उनीहरुलाई ल्याउन सक्ने अवस्था नरहेको बताएका हुन् ।

परराष्ट्र मन्त्रालयबाट विदेशस्थित ११ देशका गैरआवासीय नेपाली संंघका अध्यक्षसँग भिडियो कन्फ्रेन्स कल गरेर बिचल्लीमा परेका नेपालीको आवाजको सुनुवाइ गरेका उनले विदेशमा अलपत्र परेका नेपालीप्रति सरकार पूर्णरुप जानकार र सचेत रहेको भन्दै अवस्था अनुकूल हुने वित्तिकै नेपाल फर्किने प्रक्रिया सुरु गर्ने बताए ।

उनले भने, ‘सरकार वैदेशिक रोजगारीमा रहेका नेपाली मुख्यतयः खाडी क्षेत्रका श्रमिकका समस्यालाई तत्काल सम्वोधन गर्ने बिषयमा सकरात्मक छ ।’ सरकारका कूटनीतिक नियोग र गैरआवासीय नेपाली संघसँगको छलफलबाटै समस्याको समाधान निकालिने जानकारी दिदै ज्ञवालीले विदेशमा गैरआवासीय नेपालीलाई धैर्य गर्न आग्रह गरे ।

उनले अप्ठ्यारो अवस्थामा विदेशमा रहेका नेपालीले खेलेको भूमिकाको प्रशंसा पनि गरे । कोरोना भाइसरबिरुद्ध जनचेतना, पीडितका लागि राहत वितरणलगायतका काममा गैरआवासीय नेपाली संघका शाखाले खेलेको भूमिकाबाट आफू खुसी भएको भन्दै ज्ञवालीले कोरोनाबाट प्रभावित देशसँगसमेत सरकारले छलफल गरिरहेको र विदेशस्थित संघसंस्था र सरकारी नियोग नभएका देशमा गैरआवासीय नेपाली संघसँग मिलेर काम गर्न नेपाली दूतावासहरु सक्रिय पारिएको बताए ।

बैठकमा गैरआवासीय नेपाली संघका अध्यक्ष कुमार पन्तले कोरोना भाइरसको संक्रमणलाई रोक्न नेपाल सरकारले चालेका कदम प्रभावकारी रहेको बताए । उनले युरोप अमेरीकाका गैरआवासीय नेपालीभन्दा मध्यपूर्वका देशममा वैदेशिक रोजगारीमा रहेका नेपाली ठूलो समस्या रहेको बताए । पन्तले भने ‘सरकारसँग युरो अमेरिकाको धेरै अपेक्षा छैन तर श्रमिकका लागि सरकारले पहल कदमी चाल्नु पर्छ ।’

बैठकमा बेलायत, जर्मनी, अमेरिका, इटाली, स्पेन, जापान, युएई, फ्रान्स, दक्षिण कोरिया, साउदी अरब लगायतका देशका एनआरएनए अध्यक्षको सहभागिता थियो । बैठकमा परराष्ट्र सचिव शंखर बैरागी लगायत परराष्ट्रमन्त्रालयका अधिकारीहरु थिए ।

Advertisement

Advertisement

Advertisement