अमेरिकी तेलको मूल्य पहिलो पटक ऋणात्मक, बिक्रेताले सित्तै तेल दिएर उल्टै पैसा दिन थाले

,   ९ बैशाख २०७७, मंगलवार, १०:०२ am   
usa_oil_price

काठमाडौं । कोरोना (कोभिड १९) महामारीका कारण अमेरिकी तेलको मूल्य इतिहास मै पहिलो पटक ऋणात्मक बन्न पुगेको छ । तेलको मूल्य गिरावट हुँदै शुन्य रुपियाँ भन्दा पनि कम भएको छ ।

तेल नबिकेपछि तेल बिक्रेताहरुले खरिदकर्ताहरुलाई निशुल्क तेल दिनुको साथै उनीहरुलाई उल्टो पैसा पनि दिईरहेका छन् । कोरोना महामारीको केन्द्र बन्दै आएको अमेरिकामा लागू गरिएको लकडाउन हटाउन जनता सडकमा उत्रिरहेका छन् । राज्य सरकारहरु लकडाउनको पक्षमा रहे पनि राष्ट्रपति डोनाल्ड ट्रम्प भने लकडाउनले अमेरिकी अर्थतन्त्र झन खराब हुने र कोरोनाका कारणभन्दा बढिको ज्यान जाने बताउँदै आएका छन् ।

लकडाउनका कारण सर्वसाधारणहरू घरभित्रै बस्न बाध्य भएपछि तेलको माग निकै कम भएको छ । माग घटेपछि तेल कम्पनीहरूले बढी भएको तेल भण्डारण गर्नका लागि ट्याङ्कर भाडामा लिन थालेका छन् भने उपभोक्तालाई सित्तिमै तेल दिन थालेका छन् । तेल राख्नु भन्दा सित्तैमा दिएर पैसा पनि दिँदा कम्पनीहरुलाई सस्तो हुन गएको छ ।

aecc

अमेरिकी तेलको मानक वेस्ट टेक्सस इन्टरमीडिएटको प्रतिब्यारेल मूल्य माइनस ३७.६३ अमेरिकी डलरमा झरेको छ । ब्रेन्ट क्रुड भनिने अन्तर्राष्ट्रिय मापदण्डको तेलको मूल्यमा पनि गिरावट आएको छ । उक्त तेल ८.९ प्रतिशतले तल झर्दै प्रतिब्यारेल २६ अमेरिकी डलर पुगेको छ ।