आफ्नो गोदामको कुहिएको दाल किनेर राहत बाँडेको भन्दै मेयर पक्राउ

Advertisement

बारा । राहतका नाममा कुहिएको दाल बिक्री गरेको आरोपमा प्रहरीले कलैया उपमहानगरपालिकाका मेयर राजेश रायलाई पक्राउ गरेको छ । राहतमा बाँड्नका लागि वडाध्यक्षहरुलाई चार वर्ष पूरानो दाल बेचेको पाइएपछि उनलाई पक्राउ गरिएको हो ।

बाराका एसपी कृष्ण पंगेनीका अनुसार रायले राहतका लागि भन्दै कुहिएको दाल आफू निकटका केही वडाअध्यक्षहरुलाई बिक्री गरेको यसअघि पक्राउ परेका वडाध्यक्षहरुबाट खुल्न आएको हो । कुहिएको दाल बेचेको घटनामा संलग्न वडाध्यक्षहरुसहित आठ जना यसअघि नै पक्राउ परिसकेका छन् । पक्राउ पर्नेमा कलैया–१ का वडाध्यक्ष हरिओम साह, वडा नं. ७ का अध्यक्ष सर्फुल्लाह अन्सारी, कलैया–२० का वडासचिव खेदु मियाँ, कलैया–७ स्थित यादव आइस एन्ड कोल्डस्टोरका कर्मचारी कृष्णप्रसाद यादव र वीरगन्जस्थित धनलक्ष्मी दाल मिलका सञ्चालक तेजकरण जैन, कैलाली वडा नम्बर ११ का अध्‍यक्ष सर्वनारायण चौधरी, वडा नम्बर १३ का अध्‍यक्ष राजनप्रसाद कुर्मी र वडा नम्बर २६ का अध्‍यक्ष महेश साह छन् ।

काँग्रेसका पूर्वसाँसद राधेचन्द्र यादवको नाममा रहेको कैलाली ७ स्थित यादव आइस एन्ड कोल्ड स्टोर मेयर रायले सञ्चालन गर्दै आएका छन् । उनी यादवका छोरा हुन् । राहत वितरणमा गुणस्तरहित खाद्यवस्तु सोही स्टोरबाट खरिद गरिएको थाहा भएपछि प्रहरीले सिल गरिसकेको छ ।

Advertisement

Advertisement

Advertisement