दक्षिण एसियाको आर्थिक वृद्धिदर ४० बर्षयताकै खराब हुँदैछः फेरिस हदाद

Advertisement

काठमाडौं । विश्व बैंकका नेपाल निर्देशक फेरिस हदादले दक्षिण एसियाको अर्थतन्त्र ४० बर्षयताकै खराब स्थितिमा पुग्ने आंकलन गरेका छन् । नेपाल आर्थिक पत्रकार समाजको कार्यक्रममा बुधबार बोल्दै उनले विश्व, दक्षिण एसिया र नेपालमा चालू र आउँदा केही वर्षसम्म कुल गार्हस्थ्य उत्पादन (जीडीपी)मा उल्लेख्य अनुपातले कमी आउने बताए ।

विश्वव्यापी अर्थतन्त्रमा आउँदा केही वर्षसम्म कोरोना भाइरस महामारीको प्रभाव दुर्भाग्यपूर्ण हुने भन्दै हदादले महामारीभन्दा पहिला दक्षिण एसियाको आर्थिक वृद्धिदर ६.३ प्रतिशत रहने अपेक्षा गरिएको, तर कोभिड–१९ का कारणले क्षेत्रको वृद्धिदर सन् २०२० मा १.८ देखि २.८ प्रतिशतको बीचमा रहने बताए ।

यो वृद्धिदर विगत ४० वर्षकै सर्वाधिक खराब वृद्धिदर भएको हदादको भनाई छ । उनले आर्थिक वर्ष २०२१ मा पनि दक्षिण एसियाको वृद्धिदर ३.७ देखि ४.२ प्रतिशतको मध्यमस्तरमा रहने अपेक्षा रहेको बताए । नेपाल दुई ठूला छिमेकीहरूको बीचमा अवस्थित भएको र ती छिमेकीहरूको समेत वृद्धिदरमा कमी आउने कारणले यहाँको वृद्धिदरमा समेत नकारात्मक प्रभाव पर्ने बताए ।

सामान्यतयाः मन्दीले लगानी र वस्तुको मागमा असर पार्ने तर अहिलेको मन्दीमा माग कम हुनुका सट्टा आपूर्ति कम भएको अवस्था छ भन्दै उनले यो मन्दीलाई अलग ढंगले बुझ्नाले अर्थतन्त्र र वृद्धिलाई फरक ढंगले पुर्नर्जीवित गर्नका लागि अर्थव्यवस्थामा नयाँ र विशिष्ट साधनहरू प्रयोग गर्न सहयोग पुग्ने बताए ।

हदादले यो संकटलाई अलग रूपमा बुझ्नाले देशहरूलाई आपूर्तिमा आएको कमीलाई रोकथाम गर्नका लागि आवश्यक प्रोत्साहन प्याकेज ल्याउन पनि मद्दत पुग्ने बताए । विप्रेषणमा हुने प्रहारले सीधै नेपालको विदेशी विनिमयमा प्रभाव पार्ने भन्दै उनले नेपालको रोजगारी तथा आप्रवासन, व्यापार तथा पर्यटन क्षेत्र प्रत्यक्ष प्रभावित हुने बताए ।

निर्देशक हदादले आपूर्ति प्रणालीमा परेको प्रभावका कारण नेपालको मुद्रास्फीतिदर ६ प्रतिशतभन्दा माथि रहने अनुमान गरिएको भन्दै वित्तीय घाटा र चालु घाटा दुवै विस्तारित हुने बताए । विश्व बैंक नेपालमा महामारीको सामना गर्न र अर्थव्यवस्थालाई पुनर्बहाली गर्नका लागि सरकारसँग मिलेर काम गरिरहको उनको भनाई छ ।

Advertisement

Advertisement

Advertisement