लकडाउनमा पनि जारी छ, भौतिक पूर्वाधार आयोजनाका काम

Advertisement

काठमाडौँ । सरकारले कोरोना कहर रोक्न देशव्यापी लकडाउन गरेको छ । कोरोनाको सक्रमण फैलन नदिने त्योभन्दा अर्को उत्तम विकल्प नै छैन । देशव्यापी लकडाउन भएपनि ठूला विकास निर्माण तथा पूर्वाधारको काम भने अगाडि बढीरहेको छ । विशेष गरी राष्ट्रिय गौरवका आयोजनाहरु धमाधम अगाडि बढीरहेका छन् ।

कोरानाले असर नपारेको भए चालु आर्थिक वर्षभित्रै सम्पन्न गर्न सकिने अवस्थामा रहेका आयोजनालाई प्रमुख प्राथमिकताका साथ अगाडि बढाइएको छ । माथिल्लो तामाकोशी, मेलम्ची खानेपानी आयोजना, गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, पोखरा क्षेत्रीय विमानस्थललगायत आयोजनाका काम लडकाउनको समयमा समेत निर्वाध अगाडि बढीरहेको छ ।

सरकारले विकास निर्माणका कामलाई नरोक्ने र लकडाउनमा समेत अगाडि बढाउने गरी सहजीकरण गरिदिएपछि ती आयोजनाको काम भइरहेका हुन् । आयोजनाको काम अगाडि बढेपनि केही आयोजना भने निर्माण सामग्रीको अभाव देखिएको छ । विषम अवस्थामा समेत महत्वपूर्ण आयोजनाको काम र अवस्थाका बारेमा सम्बन्धित मन्त्रालयका मन्त्री तथा आयोजना प्रमुखले चासोका साथ स्थलगत अवलोकनसमेत गरिरहेका छन् । त्यसले समस्यामा परेका आयोजनाका कर्मचारी तथा मजदुरलाई समेत राहत महसुस भएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनले लकडाउनको समयमा समेत जलविद्युत् तथा सिँचाइका आयोजनाको अवस्थाका बारेमा नियमित जानकारी लिने र समस्या समाधानका लागि पहल गरिरहेका छन् । सोही कारण माथिल्लो तामाकोशीको काम अगाडि बढीरहेको छ । कूल ४५६ मेगावाट क्षमताको सो आयोजनाको हाल सबैभन्दा जटिल मानिएको ठाडो सुरुङमा पाइप जडान गर्ने कार्य भइरहेको छ ।

आयोजनाका प्रवक्ता डा गणेश न्यौपानेका अनुसार लकडाउनका समयमा समेत झण्डै ६५० मजदुर आयोजनास्थलमा कार्यरत छन । उनीहरुलाई व्यक्तिगतरूपमा सुरक्षाको राम्रो प्रबन्ध गरिएको छ । उनका अनुसार आयोजनाको सबैभन्दा जटिल मानिएको दुई ठाडो सुरुङको कामसमेत गतिमा अगाडि बढिरहेको छ । कूल ६८३ मिटर लामो दुई ठाडो सुरुङमध्ये अब बाँकी १७५ मिटरमात्रै बाँकी छ ।

कूल ३७३ मिटर लामो तल्लो ठाडो सुरुङमध्ये ३०८ मिटर खण्डमा पाइप जडान कार्य भइसकेको छ । अब मात्रै ६५ मिटर बाँकी छ । सो काम अष्ट्रियन निर्माण व्यवसायी एन्ड्रिज हाइड्रोले काम गरिरहेको छ । यस्तै कार्यकुशलता देखाउन नसकेको भारतीय निर्माण व्यवसायी टेक्सम्याकोले पनि लकडाउनको समयमा आफूलाई अब्बल सावित गर्ने प्रयास गरिरहेको छ । प्राप्त विवरणअनुसार कूल ३१० मिटर लामो माथिल्लो ठाडो सुरुङमध्ये कूल २०० मिटरमा पाइप जडान भइसकेको छ । अब सो सुरुङमा मात्रै ११० मिटर पाइप जडान गर्न बाँकी छ । पाइप जडानको काम प्रभावकारीरूपमा अगाडि बढेको र एउटा पाइप जडानका लागि पाँच कार्य दिन लाग्ने गरी व्यवस्थापन मिलाइएको छ । त्यसले पनि अब कामले झनै तीव्रता पाउने देखिएको छ । सो आयोजनामा निर्माण सामग्रीको भने अभाव देखिने अवस्था आएको छ ।

यस्तै चिलिमे जलविद्युत् कम्पनीको सहायक कम्पनीले निर्माण गरिरहेको रसुवागढी, साञ्जेनको कामसमेत लकडाउनमा समेत जारी छ । रसुवागढी कूल १११ मेगावाट क्षमताको आयोजना हो । साञ्जेनका दुई आयोजना समेत निर्माणमा छ । केही दिन काम रोकिएपनि पछिल्ला दिनमा काम भइरहेको छ । साञ्जेन जलविद्यूत् कम्पनीका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठका अनुसार लकडाउनमा समेत काम जारी छ । सुरक्षाका सम्पूर्ण उपाय अपनाएर काम भइरहेको छ ।

माथिल्लो साञ्जेन १४।८ मेगावाट क्षमताको हो भने साञ्जेन ४२।५ मेगावाट क्षमताको आयोजना हो । ती आयोजनाको भौतिक प्रगति ८० प्रतिशतको हाराहारीमा छ । लकडाउनमा समेत सरकारी स्वामित्वका कम्पनीदेखि निजी क्षेत्रका कम्पनीले समेत आयोजनाको कामलाई बढावा दिएका छन् । भारतीय लगानीको ९०० मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत् आयोजनाको काम समेत अगाडि बढेको छ ।

यस्तै सिन्धुपाल्चोकमा निर्माणाधिन मध्य भोटेकोशीको काम समेत अगाडि बढेको छ । सो आयोजना १०२ मेगावाट क्षमताको हो । आगामी वर्षा अगावै सो आयोजनाको बाँध निर्माण सक्ने लक्ष्यका साथ काम भइरहेको सम्बन्धित आयोजनाले जनाएको छ । वर्षा अगाडि बाँधको काम नसकिए समस्या पर्ने र बाँधसमेत बगाउने सम्भावना बढेका कारण काममा गति दिइएको छ । विकास आयोजनाको निर्माण नरोक्ने सरकारको निर्णयपछि स्थानीय प्रशासन तथा जनप्रतिनिधिसँग समन्वय गरेर काम सुचारु गरिएको सम्बन्धित आयोजनाले जनाएको छ । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगंगा हाइड्रोपावरले म्याग्दीमा निर्माण गरिरहेको कूल ४० मेगावाटको राहुघाटको काम समेत लकडाउनमा समेत जारी छ ।

स्थानीय रघुगंगा गाँउपालिकाले अनमुति दिएपछि प्राधिकरणको सो आयोजनाको काम अगाडि बढेको हो । जिल्ला प्रशासन कार्यालय म्याग्दीले आयोजनाका सवारी साधनलाई निर्माण सामग्री आयातका लागि साप उपलब्ध गराएको छ । आयोजनाका अनुसार हाल कूल ५०० मजदुर कार्यरत छन् । त्यस्तै कूल ४२ मेगावाटको मिस्त्रीखोलाको काम पनि जारी छ । त्यस्तै १४ मेगावाटको घारखोला, ३८ मेगावाटको नीलगिरी खोला, र ६२ मेगावाटको नीलगिरी–२ आयोजनाको काम भइरहेको छ ।

उता काठमाडौँ उपत्यकाका लागि लामो प्रतिक्षाको आयोजनाको रुपमा रहेको मेलम्ची खानेपानी आयोजनाको कामसमेत जारी छ । गति धिमा भएपनि काम जारी रहनु नै तत्कालका लागि खुसीको विषय बनेको छ । यस्तै भैरहवामा निर्माणाधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको काम पनि अगाडि बढीरहेको छ । भौतिक निर्माणको काम भइरहेको भएपनि विद्युतीय सामग्री कोरोनाका कारण चीनमै अड्किँदा जडानमा समस्या देखिएको छ । आयोजनाका प्रमुख प्रवेश अधिकारीका अनुसार भौतिक निर्माणको काम भइरहेको भएपनि विद्युतीय उपकरण तथा अन्य सामग्री नआउँदा अरु काम भने प्रभावित भएको छ ।

लकडाउनको समयमा पनि पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थमा कूल ३५० कामदारले काम गरिरहेका छन् । सिमेन्टलगायत निर्माण सामग्री आयातमा भने समस्या देखिएको भएपनि सहजीकरण गरिएको आयोजनाले जनाएको छ । कूल ५८ प्रतिशत भौतिक निर्माण सकिएको आयोजनाको हाल प्रमुख संरचनाको काम भइरहेको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा समेत लकडाउनको समयमा भौतिक निर्माणको काम भइरहेको छ । सस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेशकुमार भट्टराईले सोमबार स्थलगत निरीक्षण गरी भइरहेको कामका बारेमा जानकारी दिएका थिए । विमानस्थलमा जहाज पार्किङका लागि थप संरचना निर्माण भइरहेको छ । सो काम सकिएपछि पार्किङ स्थलको अभावमा आकाशमा नै जहाज होल्ड गर्नुपर्ने अवस्थाको अन्त्य हुने छ । स्थलगत निरीक्षणका क्रममा मन्त्री भट्टराईले लकडाउनको समयमा समेत काम भइरहेकामा प्रसन्नता व्यक्त गरेका थिए ।

यस्तै सडकतर्फ पनि राजधानी काठमाडौँलगायत प्रमुख आयोजनाको काम भइरहेको छ । राजधानीका सडक चिल्ला मात्रै भएका छैनन्, सडकमा छेऊमा रोपिएका बिरुवा समेत फस्टाएका छन् । यसले विषम अवस्थामा पनि काम गर्न सकिन्छ भन्ने सन्देश दिएको छ । सरकारले विशेष व्यवस्था गरेर राष्ट्रिय गौरवका आयोजनालाई अगाडि बढाउने प्रबन्ध गरेका कारण ठूला आयोजनाले त्राण पाएका हुन् । आयोजना स्थलमा एक एम्बुलेन्स अनिवार्य रुपमा राख्नैपर्ने, निर्माण स्थलमा खटिएका कामदारलाई आइसोलेशनमा बसे जस्तै गरी स्थानीयवासीको सम्पर्क गर्न नदिने तथा व्यक्तिगत सुरक्षाको प्रबन्ध गर्नुपर्ने व्यवस्था गरिएको छ । आयोजना स्थलमा एक मेडिकल टिम अनिवार्यरुपमा राख्ने व्यवस्था गरिएको छ । कुनै स्वास्थ्य समस्या देखिने बित्तिकै उपचारको प्रबन्ध गर्न व्यवस्था गरिएको छ । कोभिड–१९ समन्वय समितिको बैठकले ठूला आयोजना तथा दैनिक उपभोग्य वस्तुको उत्पादन गर्ने उद्योग सञ्चालन गर्ने निर्णय यसअघि नै गरेको थियो ।

निर्माण सामग्री लिन जाने सवारी साधनलाई विशेष पास उपलब्ध गराइनेछ । त्यस्ता पास लिएका सवारी साधनले तोकिएको स्थानमा पुगेर निर्माण सामग्री ल्याउने र अन्य कुनै पनि नागरिकलाई चढाउने वा यात्रा गर्न नपाउने व्यवस्था गरिएको छ । निर्माण सामग्रीको आयातमा देखिएको समस्या समाधान गर्न निर्माण सामग्री लिन जानेले पास लिने र सामग्री लिएर फर्कने व्यवस्था गरिएको छ । निर्माण सामग्री लिन जाँदा मान्छे चढाएर लैजाने र आउँदा पनि मान्छे चढाउने जस्तो विकृति देखिएपछि सिमितलाई पास दिएर आयात गर्न दिने व्यवस्था गरिएका कारण पनि थप सहजता भएको हो ।

Advertisement

Advertisement

Advertisement