सहकारी संस्थाहरुलाई यस्तो छ नेफ्स्कुनको १९ बुँदे मार्गदर्शन

Advertisement

काठमाडौँ । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी सङ्घ (नेफ्स्कुन)ले लकडाउनको समयमा सहकारी संस्थाका लागि सुशासन व्यवस्थापनका लागि १९ बुँदे मार्गदर्शन जारी गरेको छ । नेफ्स्कुनका अध्यक्ष परितोष पौड्यालका अनुसार बन्दाबन्दीको अवधिभर सङ्घसंस्थाको क्षमता, महामारीको चरण र अवधिको विश्लेषण गरी मौजुदा दरबन्दी कटौती नगर्न मार्गदर्शन जारी गरिएको छ ।

महामारीको अवधि बिदाको अवधि नभएको स्पष्ट पार्दै नेफ्स्कुनले संस्थागत निर्णयबमोजिम कार्यसम्पादन गर्नुपर्ने, महामारीको अवधिमा परिचालन गर्नुपर्ने जनशक्ति व्यवस्थापनका योजना बनाई तयार गरी नीतिगत रुपमा जोखिम व्यवस्थापन कार्यदलबाट निर्णय गराई स्थानीय प्रशासनसँगको समन्वयमा सङ्घ वा संस्थाको सेवालाई निरन्तरता दिन भनेको छ ।

बन्दाबन्दीको अवधिमा निश्चित जिम्मेवारीसहित कार्यसम्पादन गर्नु नपरेका कर्मचारीको हकमा बन्दाबन्दी अवधिमा बिदा सञ्चित नहुने व्यवस्था गर्ने, विषम अवस्थामा काम गर्ने जनशक्तिका लागि आवश्यक आधारभूत स्वास्थ्य सुरक्षा पीपीई, स्यानिटाइजर, मास्क, चश्मा, सुरक्षित कार्यस्थलको प्रबन्ध भएको हुनुपर्ने र वैकल्पिक विधिबाट सेवा दिँदा सुरक्षालाई पहिलो प्राथमकिता दिई व्यवस्था मिलाउन भनिएको छ ।

महामारीको समयमा खटिने कर्मचारीको थप बीमा, प्रोत्साहन भत्ता, यातायात साधन, आवागमन अनुमति, आवश्यक सञ्चार खर्च जस्ता न्यूनतम व्यवस्था संस्थागत रुपमा गर्नसमेत मार्गदर्शन गरिएको छ । यस्तै गर्भवती महिला, नियमित औषधि सेवन गरिरहेका जनशक्तिलाई महामारीको समयमा परिचालन नगर्न र नियमित काममा रहेका समयमा कर्मचारीमा स्वास्थ्य समस्या देखिएको त्यस्तो समस्या समाधान गर्दा भएको खर्च संस्थाले व्यहोर्नसमेत भनिएको छ ।

अवस्था सामान्य नहुँदासम्म नयाँ कर्मचारीको भर्ना तथा नियुक्ति नगर्ने, महामारीको समयमा संस्थाको दैनिक क्रियाकलाप नियमित रुपमा अभिलेख गर्ने र जिम्मेवार व्यक्ति उपस्थित हुन नसके जिम्मेवारी प्रत्यायोजन गर्नसमेत भनिएको अध्यक्ष पौड्यालले जानकारी दिए ।

Advertisement

Advertisement

Advertisement